पर्सामा सट्टेबाजीको आरोपमा ४ पक्राउ 

शंकर आचार्य

पर्सा — पर्सा प्रहरीले क्रिकेटमा सट्टेबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । भारतमा जारी आईपीएल क्रिकेटमा सट्टेबाजीमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले १ भारतीय सहित ४ लाई वीरगन्जबाट पक्राउ गरेको हो ।

वीरगन्ज महानगरपालिका–१५ स्थित सञ्जय श्रीवास्तवको घरमा अनलाइनमार्फत मुम्बई इन्डियन्सको विरुद्ध लखनउ सुपरजायन्ट्स टिमको खेलमा सट्टेबाजी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा कलैया उमनपा–४ का ३१ वर्षीय सरोज साह, सर्लाही रामनगर गाउँपालिका–६ का ३५ वर्षीय सन्तोषकुमार यादव, वीरगन्ज महानगरपालिका–२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव र भारत उत्तर प्रदेश गोरखपुर देउरियाका ५२ वर्षीय मुन्ना भन्ने धर्मनाथप्रसाद जैसवाल छन् ।

घरको खानतलासी गर्दा सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरू, ल्यापटप तथा नेपाली नगद ३ लाख ९० हजार ५ सय रुपैयाँ तथा भारु १५ हजार ७ सय ५० रुपैयाँसमेत बरामद भएको छ । खेलको प्रत्यक्ष प्रसारण हेर्न प्रयोग भएको आईडीया कम्पनीको २० इन्चको एलइडी टीभीसमेत फेला परेको थियो । पक्राउ परेका चारै जनालाई सट्टेबाजीसम्बन्धी कसुरमा बुधबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । उनले लामो तथा सूक्ष्म अनुसन्धान पछि यो गिरोहसम्म पुग्न सफलता मिलेको बताए ।

वीरगन्जमा लामो समयदेखि सट्टेबाज समूहले आईपीएल क्रिकेटको क्रममा सट्टेबाजी गरिरहेको जनगुनासो रहँदै आएको थियो । विगतमा भारतको आईपीएल तथा विश्वकप क्रिकेटको समयमा युवाहरुको समूहले सट्टेबाजीमा ठूलो रकम लगानी गरिरहेको चर्चा चल्ने गरेको थियो । आईपीएल वर्षेनि हुने र यसको क्रेज यस भेगका क्रिकेटप्रेमीहरुमा अत्यधिक रहेकाले सट्टेबाज समूहलाई आफ्नो व्यापार चलाउन सहज हुँदै आएको छ ।

कुन टिमले खेल जित्छ भन्नेदेखि कुन खेलाडीले कति रन बनाउँछन् वा विकेट लिनेछन् तथा कतिसम्म रन बन्ने छ जस्ता कुराको पूर्व अनुमानको आधारमा सट्टेबाजी गर्ने गरिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

साताको सेयर समीक्षा : होटलमा उच्च वृद्धि, कुन उपसमूह कति बढे ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से गत साता बन्द हुँदा १८७७ अंकमा थियो । यो साता करिब ८२ अंक बढेर १९५९ अंकमा बन्द भएको छ । कारोबार भएका चारै दिन नेप्से परिसूचक हरियो रहृयो । पहिलो दिन आइतबार ५.८, सोमबार ८.१, मंगलबार ५१.३ र बुधबार १६.४ अंक बढ्यो । कारोबार रकम पनि यो साता बढ्यो ।

मंगलबार एकै दिन २ अर्ब २० करोड रुपैयाँसम्मको कारोबार भयो । शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, राष्ट्रिय बिमा कम्पनी यो साता कारोबारका आधारमा शीर्ष स्थानमा रहे । सेयर बजारको परिसूचक नेप्से साताभर ४.३६ प्रतिशत मात्रै बढ्दा धेरैजसो उपसमूह त्योभन्दा धेरै बढे ।

होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १२.७ प्रतिशत बढ्यो । यस उपसमूहमा पर्ने सबै कम्पनीको मूल्यमा उच्च वृद्धि हुँदा यो उपसमूह सातामा सर्वाधिक बढ्यो । होटलपछि धेरै बढ्ने उपसमूहमा उत्पादन तथा प्रशोधन रहृयो । यो उपसमूह १०.९८ प्रतिशत बढ्यो । बैंकिङ उपसमूहको वृद्धिदर भने सबैभन्दा सुस्त देखिएको छ । सो उपसमूह साताभर जम्मा १.९ प्रतिशत मात्रै बढ्यो । बजारको पुँजीकरण २८ खर्ब ५८ अर्बमा कायम भएको छ ।

जेठ १ गते (गत साताको सोमबार) नेप्से १८१८ अंकमा बन्द भएको थियो । त्यसयता कारोबार भएका सबै दिन बजार बढ्दै गएको छ । हाललाई १८१८ अंकमा टेवा पाएर बजार उक्लिएको छ । यसअघि पटक पटक यहीं आसपासमा टेवा पाउँदै आएको बजारको आगामी लय भने कसैले एकीन गर्न सक्दैन । तर सोमबार सार्वजनिक हुने बजेट भाषणले सेयर बजारका लागि लिने अनुकूल वा प्रतिकूल नीतिले आगामी साताको बजार धेरै हदसम्म प्रभावित हुन सक्नेछ ।

हाललाई ब्याजदर घट्न थालेको प्रभाव सेयर बजारमा देखिएको केहीको विश्लेषण छ । जेठ महिनामा मात्रै ०.२२ प्रतिशत विन्दुले औसत कर्जाको ब्याजदर घटेको नेपाल बैंकर्स संघको तथ्यांक छ । आगामी दिनमा पनि ब्याजदर घट्दै जाने देखिन्छ । हरेक महिना कर्जाको ब्याजदर पछिल्लो तीन महिनाको औसत आधार दरका आधारमा परिवर्तन गर्दै जानुपर्ने राष्ट्र बैंकको निर्देशनपछि असारमा पनि ब्याजदर केही घट्न जानेछ । ४.२ प्रतिशतबाट स्प्रेड दर असार मसान्तसम्म ४ प्रतिशतमुनि झार्नुपर्ने व्यवस्थाले साउनमा ब्याजदर झन् बढी घट्ने अनुमान गरिएको छ । यसले गर्दा बजारलाई केही हदसम्म सकारात्मक वातावरण बनेको छ ।

यो साता कुन उपसमूह कति बढे ?

उपसमूह

गत साताको अंक

यो साताको अंक

वृद्धिदर प्रतिशत

बैंकिङ

१२२२

१२४६

१.९६

विकास बैंक

३५०७

३५९३

२.४५

जलविद्युत्

२३६३

२४२८

२.७५

निर्जीवन बीमा

८७६२

९५५८

९.०८

जीवन बीमा

९४९१

१०१०२

६.४३

माइक्रोफाइनान्स

३३६१

३६१२

७.४६

व्यापार

२०८६

२२३०

६.९०

होटल, पर्यटन

३५५७

४००९

१२.७०

अन्य

१३४३

१४०१

४.३१

उत्पादन

४४३४

४९२१

१०.९८



प्रकाशित : जेष्ठ १२, २०८० १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×