राजविराज नगरपालिकाको योजनामा अख्तियारको स्थलगत अनुसन्धान

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिकास्थित विभिन्न योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ । 

आयोगको इटहरीस्थित कार्यालयबाट आइतबार प्राविधिक सहितको ३ सदस्यीय टोलीले राजविराजका विभिन्न योजनाको स्थलगत अनुसन्धान सुरु गरेको हो ।

अख्तियारको टोलीले राजविराज नगरपालिका-१६ अन्तर्गत चालु आर्थिक वर्षमा सडक बोर्डको बजेटबाट भएका कार्यहरुको स्थलगत अनुसन्धान गरेको छ । सडक बोर्डको बजेटबाट यस वर्ष राजविराजमा निर्माण भएका सडकहरुमा अनियमितता भएको आरोप थियो ।

यसैगरी अख्तियारको टोलीले राजविराज नगरपालिका-२ स्थित निर्माण भएको कबर्ड हलको समेत आइतबार साँझ स्थलगत अनुसन्धान गरेको छ । टोलीले सोमबार पनि स्थलगत अनुसन्धानलाई निरन्तरता दिने जनाएको छ ।

अख्तियारको इटहरी कार्यालयका प्रवक्ता निरज देवले नियमित अनुगमनको क्रममा टोली सप्तरीको गएको बताए । राजविराज नगरपालिकाका प्रवक्ता वडाध्यक्ष जयनारायण मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार नगरपालिकाका विभिन्न योजनाको अनुगमन गरेको बताए ।

प्रकाशित : जेष्ठ ७, २०८० २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?