लागूऔषधसहित सर्लाहीमा शिक्षक पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक निजी विद्यालयमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ परेका हुन् ।

विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले निजको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको छ ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९/०८० मा अहिलेसम्म लागूऔषधको ८८ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको ९ महिनामा लागूऔषधका १ हजार २ सय ७४ बोतल, ४ हजार ६ सय ६८ थान ट्याब्लेट, २ हजार ८५ थान एम्पुल, लागूऔषको रुपमा प्रयोग हुने हेरोइन ३ हजार ४ सय ८० ग्राम र गाँजा ६ सय २८ किलो ५ सय ८० ग्रामसहित १ सय १३ जनालाई प्रहरी नियन्त्रणमा परेका हुन् । जिल्लामा लागूऔषधको सेवनकर्ता बढिरहेको पाइएको प्रहरी तथ्यांकले देखाएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्

चुरे संरक्षण अभियानका संयोजकले तोडे अनशन 

श्यामसुन्दर शशि

जनकपुर — चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनील यादवले शनिबार बिहान अनशन तोडेका छन् । उनी ६ बुँदे मागसहित शुक्रबारदेखि अनशन बसेका  थिए । 

मधेस प्रदेशका मुख्यमन्त्री रामसरोज यादव, उद्योग,पर्यटन तथा वन मन्त्री सुनिता यादव र धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसँगको वार्तापछि उनले अनशन तोडेका हुन् ।

आन्दोलनरत पक्ष र मधेश सरकारका तर्फबाट ५–५ जनाको वार्ता टोली गठन गर्ने र एक हप्तापछि दुवै पक्षबीच वार्ता हुने सहमतिसमेत भएको छ । ‘आफ्नो अधिकार क्षेत्रको माग प्रदेश सरकारले सम्बोधन गर्ने तथा बाँकी माग पूरा गराउन संघीय सरकारलाई लेखी पठाउने निर्णय भएको छ,’ संयोजक यादवले कान्तिपुरसँग भने ।

नेपालको संविधानको धारा ३७ अनुसार भूमिहीन तथा सुकुम्वासीको आवासको हक स्थापित गर्नु पर्ने, अभियानको वार्ताटोली र मधेश प्रदेश सरकारबीच यसअघि भएको सम्झौता कार्यान्वयन गर्नु पर्ने, अवैध क्रसर उद्योग बन्द गरी दिलीप महतोलाई पर्यावरणीय सहिद घोषणा गर्नुपर्ने, वैदेशिक रोजगारसम्बन्धी समस्या समाधान गर्नुपर्ने तथा स्थानीय तहको निर्वाचन गैरदलीय पद्धतिअनुसार गर्ने एवं दलितका लागि चक्रीय प्रणालीअनुसार आरक्षणको व्यवस्था लागू गर्नुपर्ने मागसहित अभियन्ताहरू फागुन ११ देखि जनकपुरको जनकचोकमा धर्ना बस्दै आएका थिए ।

धर्ना बसेको १ महिना ७ दिन बितिसक्दा पनि प्रदेश सरकारले वास्ता नगरेको भन्दै अभियानका संयोजक सुनील यादव शुक्रबार अपरान्हदेखि आमरण अनशनमा बसेका थिए । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको पहलमा मुख्यमन्त्रीसँग शनिबार वार्ता भएको थियो । मुख्यमन्त्री रामसरोज यादवले सम्झौता कार्यान्वयन हुने दाबी गरे ।

प्रकाशित : चैत्र १८, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×