एसईईका केन्द्राध्यक्ष निष्कासित

बारामा ५ जनालाई कारबाही, पर्सामा २ सय ९२ परीक्षार्थी अनुपस्थित, परीक्षा केन्द्रमा खटिएका प्रहरीको मृत्यु
मधेस ब्युरो

जनकपुर — शुक्रबारदेखि सुरु भएको एसईईको प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा बाराका एक परीक्षा केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र दुई निरीक्षकलाई निष्कासन गरिएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाहा माध्यमिक विद्यालय केन्द्रबाट कारबाही गरिएको हो ।

पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएलगत्तै बाहिरिएपछि केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र २ निरीक्षकसहित ५ जना कारबाहीमा परेका हुन् । साथै एक परीक्षार्थी निष्कासनमा परेका छन् ।

केन्द्राध्यक्ष दिनेश साहको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको भन्दै त्यसको अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारीसहित परीक्षा समन्वय समिति टोलीले कारबाही गरेको हो । समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार केन्द्राध्यक्ष साह, सहायक केन्द्राध्यक्षद्वय पदम चौधरी र विजय चौधरीलाई परीक्षा अवधिभरको जिम्मेवारीबाट हटाइएको छ ।

पर्सामा भने २ सय ९२ जना नियमित परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख फत्तबहादुर श्रेष्ठका अनुसार नियमिततर्फ ८ हजार ५ सय ९०, ग्रेड वृद्धितर्फ ३ सय ९० र प्राविधिक धारतर्फ १ सय ८५ परीक्षार्थी छन् । मधेश प्रदेशमा ७९ हजार ९४ जना परीक्षार्थीका लागि २ सय ७९ परीक्षा केन्द्र व्यवस्था गरिएको छ । त्यसका निम्ति ७ हजार ५ सय ७९ जना कर्मचारी खटाइएको छ ।

एसईईमा सप्तरीबाट ९ हजार ५ सय २७, सिरहाबाट १० हजार १ सय ५०, धनुषाबाट १२ हजार १ सय ४६ सहभागी छन् । यस्तै, महोत्तरीबाट ९ हजार ८४, सर्लाहीबाट १० हजार ९ सय १६, रौतहटबाट ८ हजार ९ सय ५७, बाराबाट ९ हजार १ सय ७९ र पर्साबाट ९ हजार १ सय ६५ जना परीक्षार्थी रहेको प्रदेशको शिक्षा मन्त्रालयले जनाएको छ ।

महोत्तरीको बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता मावि धमौरा परीक्षा केन्द्रमा खटिएका असई ललनकुमार राय पटेलको मृत्यु भएको छ । सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी दिलीप गिरीले जानकारी दिए । मृतक पटेल रौतहटको गौर–२ का बासिन्दा थिए ।

वीरगन्ज कारागारका १५ कैदीबन्दीले एसईई दिएका छन् । त्रिजुद्ध मावि केन्द्रको उपकेन्द्रका रूपमा कारागारमा परीक्षा सञ्चालन गरिएको छ । जेलर दिनेश सोनारले कैदीबन्दीलाई शान्त वातावरणमा अध्ययनको व्यवस्था रहेको र शान्त वातावरणमा परीक्षा सुरु भएको बताए ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

कारबाहीबाट जोगिन राजीनामा

कान्तिपुर संवाददाता

विराटनगर — साझेदार संस्थासँग करिब ६ लाख रुपैयाँ घूस मागेको पुष्टि भएपछि विराटनगर महानगरपालिको सामुदायिक महाशाखा प्रमुख राजेन्द्र प्रधानले कारबाहीबाट जोगिन पदबाट राजीनामा दिएर हिँडेका छन् ।

उनले साझेदार संस्थाले कार्यक्रम सञ्चालन गर्न राखेको धरौटी रकम फिर्ता माग्दा ६ लाख रुपैयाँ घुस मागेका थिए । यससम्बन्धी अडियो रेकर्डसहितको प्रमाण महानगर प्रमुख नागेश कोइरालासमक्ष पुगेपछि उनले कारबाहीबाट जोगिन हतारहतार राजीनामा दिएको महानगर स्रोतले बताएको छ ।

घूस काण्डको खुलासालगतै उनलाई महाशाखाको जिम्मेवारीबाट मुक्त गरेर प्रमुखको सचिवालयमा सरुवा गरिएको थियो । स्रोतका अनुसार त्यसपछि छानबिन र कारबाही हुने डरमा प्रधानले प्रशासन सेवातर्फको वित्त अधिकृतको आठौं तहको पदबाट जागिर छाडेका हुन् । उनी महानगरमा २५ वर्षदेखि कार्यरत थिए । प्रधानले पटकपटक फट्याइँ गरेको पाइएको स्रोतले जनाएको छ ।

घूस मागेको अडियो रेकर्ड फेला परेपछि प्रधानले स्वतः राजीनामा गरेको महानगर प्रमुख कोइरालाले कान्तिपुरलाई बताए । ‘राजीनामा नै दिएर गइसके,’ उनले भने,‘ अब उनका बारेमा के कुरा गर्नु ?’

वित्त अधिकृतसमेत रहेका प्रधान लामो समयदेखि महानगरको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी केही वर्षदेखि सामाजिक महाशाखाको जिम्मेवारीमा थिए । घूस प्रकरणबारे थप जानकारी लिन खोज्दा प्रधान सम्पर्कमा आएनन् ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×