कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाढी पूर्व सूचना दिने प्रणाली रौतहटमा जडान

शिव पुरी

रौतहट — बर्खाको बेला बाढीबाट हुने मानवीय र धनजनको क्षति कम गर्न रौतहटको गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएको छ । सदरमुकाम गौरका स्थानियले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् ।

बाढी पूर्व सूचना दिने प्रणाली रौतहटमा जडान

बर्खाको बेला बर्सेनि डुबानबाट ठूलो क्षति ब्यहोर्दै आएको सदरमुकाम बासीको लागी यसपटक पूर्वचेतावनी प्रणाली (साइरन)ले फाइदा हुने देखिएको छ । माण्डवी संस्थाको पहलमा इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले मंगलबार जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा बाढी पूर्व सूचना प्रणाली (साइरन) जडान गरिदिएको हो ।

साइरन बजेको एक किलोमिटर सम्म सुन्न सकिन्छ । पानी जोखिम व्यवस्थापन, जलवायु र वातावरणीय जोखिम न्यूनीकरण गर्ने कार्यमा काम गर्दै आएको इसिमोडले बाराको लालबकैया नदीमा बाढी मापनयन्त्र र त्यहीँ रहेको सशस्त्र प्रहरीको क्याम्पमा पूर्व सूचना प्रणाली जडान गरेको माण्डवीकी अध्यक्ष अन्जु झाले बताइन् । अध्यक्ष झाका अनुसार बाराको निजगढ नगरपालीका–३ स्थित धन्सार खोलाका वर्षा मापन गर्न यन्त्र जडान गरेको छ ।

लालबकैयामा बाढी नाप्ने यन्त्र पनि जडान गरिएको छ । यसले चुरे क्षेत्रबाट बग्ने पानीको मात्रा रेकर्ड गर्छ । ‘वर्षाका बेला लालबकैया नदीमा आउने बाढी बारे स्थानीय जानकारी नै पाउँदैनन्,‘उनले भनिन्,‘कतिखेर बाढी सदरमुकाम गौरमा पसेर डुबान पार्छ थाहा हुँदैन । अब पूर्व सूचना प्रणाली(साइरन) बजेपछि मानिसहरु सचेत हुन्छन् । यसले मानवीय साथै भौतिक क्षति कम गराउनमा मद्दत पुग्छ ।’ लालबकैया नदीको बाढीले बारा र रौतहटस्थित नदी किनारमा बसोबास गर्ने समुदायलाई असर गर्दै आएको छ । समुदायमा आधारित बाढी पूर्व चेतावनी प्रणाली (साइरन)ले डुबान क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने अध्यक्ष झाले बताइन् । साइरन बजेपछि स्थानीय सचेत हुने र सरक्षित स्थानमा बस्न सक्ने हुँदा यसको प्रभावकारी धेरै हुने अनुमान गरिएको छ ।

झाले सदरमुकाम गौरमा कटहरिया, परोहा, गौर, मौलापुर, बौधीमाई, फतुवा विजयपुर लगायत लालबकैया नदीबाट प्रभावित ११ वटा नगरपालिकाका प्रमुखहरुलाई बोलाएर समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली (साइरन) बारे जानकारी गराएका थिए । माण्डवीले लालबकैया नदीको किनारमा बस्ने जोखिममा रहेका जनसंख्याको स्कोपिङ र जोखिम मूल्यांकन गरेको छ । लालबकैया बेसिनमा लगभग २ लाख ६२ हजार मानिसहरु बाढीको जोखिममा रहेको पहिचान गरिएको छ । अध्ययनले बाढी मोडलिङ, क्षेत्र सर्वेक्षण, समुदाय, सरकारी अधिकारीहरु र अन्य सरोकारवालासँग अन्तरक्रिया, नदी किनारमा बसोबास गर्ने समुदायको विशिष्ट जोखिम विश्लेषण गरेको छ ।

२०५० सालदेखि यस जिल्ला डुबानमा पार्दै आएको छ । लालबकैया र वाग्मतीमा बर्खाको बेला पानीको सतह बढेर ६.५० पुग्ने गरेको छ । यो भनेको खतराको संकेत हो । तराई, मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । त्यसमा पनि रौतहटमा वाग्मती र लालबकैयामा आउने बाढी बस्ती पसेपछि बर्सेनी डुबान झेल्दै आएको छ । विगत २८ वर्षदेखि जिल्लाबासीले यस्तै अवस्था भोग्नु परेको गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताए । सदरमुकाम गौरका साथै इशनाथको बन्जाराहा, बौधीमाई, लौकाहा, कहटहरिया क्षेत्र, र वाग्मतीको समनपुर, धरमपुर, गढीमाई नगरपालीका बाढीको जोखिम छ । २०७४ सालयता चार वर्षको अवधिमा बाढीमा परी जिल्लाका विभिन्न स्थानमा १७ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित : चैत्र १५, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?