करिब १० किलो चरेससहित एक जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले पर्साको कालिकामाई गाउँपालिकास्थित एक घरबाट ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गरेको छ । सोमबार बिहान प्रहरीले कालिकामाई गाउँपालिका–१ तिनडुबियाका ३८ वर्षीय बृजेशप्रसाद कुर्मीको घरबाट ९ किलो ८ सय ग्राम चरेस बरामद गरेको हो । 

कुर्मीले घरमा चरेस लुकाइराखेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमान्डमा खटिएको टोलीले खानतलाशीपछि उक्त चरेस बरामद गरेको हो ।

कुर्मीको घरकोठा खानतलासी गर्ने क्रममा घरको अगाडि बरन्डामा खाटमुनि पहेलो र कालो प्लास्टिकले बेरिएको ५ सय ग्रामको २० पोकामा गरी ९ किलो ८ सय ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए । कुर्मीलाई मंगलबार जिल्ला अदालतमा पेस गरी अदालतबाट ४ दिनको म्याद थप लिई अनुसन्धान भई रहेको गिरीले बताए ।


प्रकाशित : चैत्र १४, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्ने विधेयकबारे मंगलबार मन्त्रिपरिषद्ममा छलफलका लागि लैजाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।

मिटर ब्याजपीडितहरुले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले उनीहरूको समस्या समाधानका लागि पहल थालेको हो ।

प्रकाशित : चैत्र १४, २०७९ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×