चैते छठ मनाइँदै

श्यामसुन्दर शशि

जनकपुर — चैते छठको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको छ । मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरी चारदिने छठ महापर्व सम्पन्न हुनेछ ।

छठ मान्न जनकुपरको गंगासागर र अंगराजसरमा श्रद्धालु भेला भएका थिए । दुवै पोखरीको डिललाई सिँगारिएको छ । छठ मान्नेहरुको सख्यामा निरन्तर वृद्धि हुँदै गएकाले विगत केही वर्षदेखि अंगराजसरमा पनि चैते छठ मान्न थालिएको हो ।

कात्तिक र चैतमा गरी वर्षमा दुई पटक छठ र दशैं मान्ने धार्मिक मान्यता छ । कात्तिकमा मनाइने छठलाई शारदीय छठ तथा ननरात्रा भनिन्छ भन्ने चैतमा मान्नेलाई वासन्ती छठ र नवरात्रा भनिन्छ ।

पर्वको पहिलो दिन शनिबार व्रतालु पवित्र जलाशयमा स्नान गरी अरवा—अरवाईन अर्थात् चोखो खानेकुरा मात्र खाएका थिए । आइतबार दिनभरि उपवास बसी साॅझ गुलियो पुरी,खीरलगायतका प्रसाद ग्रहण गरेका थिए । यस उपक्रमलाई स्थानीय भाषामा षडना भनिन्छ । षडनापछि निराहार व्रत बसेका व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली नदीमा बेवारिसे शव भेटियो

कान्तिपुर संवाददाता

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका–४ स्थित सल्लीसल्लामा रहेको कर्णाली नदीमा एक जना पुरूषको बेवारिसे शव फेला परेको छ ।

आइतबार साँझ साढे ९ बजे चंखेली गाउँपालिका–४ को देशीखोला र कर्णाली नदीको बीच (दोभान) मा बेवारिसे शव फेला परेको प्रहरी चौकी मेल्छामले जनाएको हुम्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।

आइतबार साँझ चंखेली–४ का हर्के कुलाल र सुरज बिक माछा मार्न गएका बेला नदीको बीचमा शव देखेपछि उनीहरूले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी चौकी मेल्छामको टोली राति नै घटनास्थलमा पुगेको थियो । साथै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गीता प्रसाद चौधरी लगायतको टोली सोमबार बिहानै घटनास्थलमा पुगिसकेको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए ।

घटनास्थलमा पुगेर चंखेली गाउँपालिका–४ का वडाध्यक्ष पदम बहादुर शाहीको रोहबरमा प्रहरी र स्थानीयवासीले शव नदीबाट निकालेर छेउमा राखेका छन् । शव सडिसकेकाले कसको शव हो भनी पहिचान भएको छैन । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×