आईसीपीका कर्मचारी हडतालमा

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा कार्यरत नेपाल इन्टरमोडल यातायात विकास समितिका करारका कर्मचारी तथा सुरक्षागार्डले आइतबारदेखि हडताल थालेका छन् । रोजगारीको सुनिश्चितता तथा सेवासुविधाको माग गर्दै उनीहरूले काम ठप्प पारेका हुन् ।

समितिले चैत १८ देखि आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी कैलाश टर्मिनल्सलाई दिन लागेको छ । त्यसअघि नै आफ्नो रोजगारीको सुनिश्चितता हुनुपर्ने कर्मचारीले माग गरेका हुन् । समितिअन्तर्गत करारमा ३४ जना कर्मचारी तथा गोर्खाली योद्धा सेक्युरिटी कम्पनीमार्फत ४० सुरक्षागार्ड कार्यरत छन् । कर्मचारीले हडताल थालेपछि भन्सार नाका बन्द भएको छ । भारतबाट भित्रिने मालवाहक सवारीसाधन तथा भारततर्फ जाने नेपाली मालवाहक सवारीसाधन तथा खाली भारतीय मालवाहक सवारीसाधन ठूलो संख्यामा रोकिएका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले कर्मचारी हडतालले भन्सारको कामकाज प्रभावित भएको बताए । ‘यसले राजस्व असुलीमा समेत असर परेको छ,’ उनले भने ।

कर्मचारीले ३ सूत्रीय माग राखेका हुन् । पाँच वर्षदेखि कार्यरत कर्मचारीले प्रत्येक वर्षको १ महिनाको दरले ५ महिनाको प्रोत्साहन भत्ता पाउनुपर्ने, करारका कर्मचारीलाई अब एक वर्ष करार सम्झौता गरेर मात्र निजी कम्पनीलाई आईसीपी हस्तान्तरण गर्नुपर्ने र सरकारबाट लागू भई खाईपाई आएको सेवासुविधा तलबभत्ता कायम नै रहनुपर्ने उनीहरूको माग छ । इन्टरमोडल यातायात विकास समिति कार्यालयका प्रमुख कमल ज्ञवालीले आफूले समितिको केन्द्रीय कार्यालयमा कर्मचारीको मागबारे जानकारी गराइसकेको र वार्ताको चरणमा रहेको बताए ।

कैलाश टर्मिनल्स जेभीका अध्यक्ष माधवप्रसाद बरालले कम्पनीले कर्मचारी तथा सुरक्षागार्डलाई हटाउनेबारे केही पनि नबोलेकोमा उनीहरूले अनावश्यक रूपमा काम ठप्प पारेको बताए । ‘हामीले कर्मचारी हटाउने वा नयाँ राख्ने विषयमा केही बोलेकै छैनौं,’ उनले भने, ‘हामी आफैंलाई अनुभवी, मिहिनेती र इमानदार कर्मचारीको आवश्यकता छ, हालकै कर्मचारीलाई निरन्तरता दिने मनस्थितिमा छौं ।’ कैलाशले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको हो ।

प्रकाशित : चैत्र १३, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

गरुडामा अनशन तोडियो, वृन्दावनमा जारी

कान्तिपुर संवाददाता

रौतहट — रौतहटको गरुडा नगरपालिकामा नगर प्रमुखविरुद्ध थालिएको अनसन तोडिएको छ । अर्को नगरपालिका वृन्दावनमा भने रिले अनसन जारी छ । पालिकाको विकास निर्माणलगायत गतिविधिबारे सूचना नदिएको भन्दै अनसन थालिएको थियो ।

गरुडामा स्थानीय दीपक यादवले अनियमितताको आरोप लगाई सूचनाको माग गर्दै अनसन बसेका थिए । उनलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले आइतबार अनशनस्थलमा कागजपत्र उपलब्ध गराएपछि अनशन तोडेका हुन् । नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको यादवको आरोप थियो ।

शिक्षा क्षेत्रमा भएको खर्च र उपलब्धि, विद्युत्, इन्टरनेटमा भएको खर्च र उपलब्धि, कर्मचारी नियुक्ती, हाजिर रजिस्टर, तलब पेस्की विवरण, पदपूर्ति समितिको छनोट र प्रक्रियालगायत विवरण माग गर्दै यादव चैत ४ देखि अनशन बसेका थिए । ‘सबै सूचना पाएपछि अनशन तोडेको छु,’ उनले भने, ‘नगरवासीका लागि मेरो अनशन थियो ।’ उनी गत स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदका उम्मेदवार थिए । यादवको समर्थनमा आएका युवाले शनिबार गौर–चन्द्रनिगाहपुर खण्ड अवरुद्ध गर्न खोज्दा झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो ।

यसअघि यादव समूहबाट नगर प्रमुख जैसवालको घरमा ढुंगामुढा र दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । नगर प्रमुख जैसवालले आफूले कुनै पनि अनियमितता नगरेको दाबी गरे । ‘मैले बेथिति हटाउने कामको सुरुवात गरेको हुँ । तर मलाई सहयोग गर्नुको साटो अपमान गर्ने काम भयो,’ उनले भने ।

वृन्दावनमा अनियमितता भएको भन्दै वडाध्यक्ष र दलका नेताले थालेको रिले–अनशन भने जारी छ । पालिका प्रमुख विनोद कुर्मीको गतिविधिबारे सूचना माग्दा नदिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष सिकिन्द्र राउत कुर्मी, ३ का अध्यक्ष हरिनारायण साह, ४ का अध्यक्ष श्यामनन्दन राय र ५ का अध्यक्ष फेकु दास रिले–अनशनमा छन् । उनीहरूसँगै नगरपालिकाका पूर्वनगर प्रमुख, एमाले, माओवादी, कांग्रेस, जसपा र आमजनता पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता पनि बुधबारदेखि अनशनमा छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×