मुसहर बस्तीमा उठीबासको दुःखान्त

चार पुस्तादेखि मुसहर समुदाय बस्दै आएको जग्गा निजी दाबीपछि संघर्ष, घरघडेरी छोड्नुपर्ने भएपछि अगुवाले गरे आत्महत्या
ओमप्रकाश ठाकुर

सर्लाही — पुस्तैनी बासस्थानका लागि संघर्ष गर्दै आएका सर्लाहीको कविलासी नगरपालिका–७ का उपेन्द्र धनुकारले आत्महत्या गरेका छन् । आइतबार आफ्नै घरमा पासो लगाएको अवस्थामा धनुकारको शव फेला परेको हो । चार पुस्तादेखि बसोबास गर्दै आएको घरघडेरी छोड्नुपर्ने भएपछि उनले आत्महत्याको बाटो रोजेको आफन्तको भनाइ छ ।

प्रहरीले उनको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाएको छ । आक्रोशित आफन्तले ‘भूमाफिया’ ले आत्महत्या गर्न विवश पारेको आरोप लगाउँदै नवलपुर मलंगवा सडक अन्तर्गत गैरचोकमा सडक अवरुद्घ पारेका थिए । उनीहरूले न्यायिक छानबिनको समेत माग गरेका छन् ।

कुल ८ कट्ठा ४ धुर रहेको यो बस्तीमा २४ घर मुसहर परिवार वर्षौंदेखि बसोबास गर्दै आएका छन् । चार पुस्ताअघि तत्कालीन जमिन्दार मदनकृष्ण प्रसाईंले मुसहरहरूलाई बसोबास गर्न जग्गा दिएको स्थानीयको भनाइ छ । यो जग्गा २०६७ सालमा अदालतबाट पर्ति भनेर लिलाम सकार भएको छ । अदालतको रेकर्डअनुसार सिर्सियाका रामकैलास रायसँग प्रसाईंका छोरा मुकुल प्रसाईंले ऋण लिएर तिर्न नसक्दा लिलाम गरिएको उल्लेख छ । आफ्नो नाममा जमिन आएपछि राय पटकपटक मुसहर बस्तीमा प्रहरीसहितको उपस्थितिमा डोजर लिएर पुग्ने गरेका थिए । तर त्यहाँका मुसहर समुदायसहित अन्य स्थानीयको अवरोधका कारण प्रहरी पछाडि हट्नुपरेको थियो ।

मुसहर समुदाय र रायबीचको विवाद समाधानका लागि पटक–पटक पहल भए पनि निष्कर्षमा पुग्न सकेको छैन । दुवै पक्ष आआफ्नो अडानमा छन् । शुक्रबार पनि कविलासी चौकीमा यसै विषयमा छलफल भएको थियो । छलफलमा ७० लाख रुपैयाँ लिएर जग्गा खाली गर्ने सहमति भएको थियो । त्यो सहमति मान्य नहुने जनाउँदै धनुकारले अदालतमा सकार भएको मूल्य आफूहरूले तिरेर आफ्नै नाममा हुनुपर्ने अथवा भोगचलन गर्दै आएको जग्गाको कम्तीमा आधा हुनुपर्ने अडान लिएका थिए ।

नागरिक अगुवा रजनीकान्त झाले धनुकारले पुस्तैनी घडेरीका लागि लड्दालड्दै फैसला सोचेअनुसार नआएपछि प्राण त्यागेको हुन सक्ने बताए । ‘मुसहर बस्तीका लागि उपेन्द्र नै अगुवा थिए, उनी बसोबास रहेको जग्गा छोड्ने पक्षमा थिएनन्,’ स्थानीय समेत रहेका झाले भने, ‘अदालतबाट निर्णय भइसकेको र सामाजिक रूपमा कमजोर रहेका धनुकार विवश भएर आत्महत्या गरेको हुनसक्छ ।’ मानवअधिकारको पक्षमा समेत वकालत गरिरहेका झाले यसको न्यायिक छानबिन हुनुपर्ने माग गरे ।

४० वर्षीय धनुकार आफ्नो समुदायको नेतृत्वकर्तासमेत थिए । उनकी पत्नी रेखा धनुकार पति वियोगमा छिन् । वडा सदस्यसमेत रहेकी रेखा पुस्तैनी घडेरीका कारण पछिल्लो समय श्रीमान् तनावमा रहने गरेको सुनाइन् । उनले घडेरी आफ्नो नाममा नआएपछि मृत्युको बाटो रोजेको बताइन् । ‘दस वर्षदेखि निकै तनाव भइरहेको थियो, अदालतलाई झुक्याएर आफ्नो नाममा घडेरी पास गराएका रायले कहिले डोजर लिएर घर तोड्न आइपुग्ने, त कहिले गाली बेइज्जती गर्ने गरेका थिए,’ उनले भनिन्, ‘अब त श्रीमान्को प्राण नै रहेन, कसरी बालबच्चालाई स्याहार गर्नु ?’ प्रसाईंको घरमा ज्यालामा काम गर्ने रायले उनैलाई ऋण दिएर जग्गा लिलाम सकार्नुले यसमा चलखेल भएको स्थानीयको भनाइ छ । वर्षौंदेखि अभाव र गरिबीसँग जुध्दै आएका मुसहर समुदायलाई घरबारविहीन बनाएर थप पीडा दिन खोजिएको उनीहरूको आरोप छ ।

प्रकाशित : चैत्र १३, २०७९ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्

आईसीपीका कर्मचारी हडतालमा

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) मा कार्यरत नेपाल इन्टरमोडल यातायात विकास समितिका करारका कर्मचारी तथा सुरक्षागार्डले आइतबारदेखि हडताल थालेका छन् । रोजगारीको सुनिश्चितता तथा सेवासुविधाको माग गर्दै उनीहरूले काम ठप्प पारेका हुन् ।

समितिले चैत १८ देखि आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी कैलाश टर्मिनल्सलाई दिन लागेको छ । त्यसअघि नै आफ्नो रोजगारीको सुनिश्चितता हुनुपर्ने कर्मचारीले माग गरेका हुन् । समितिअन्तर्गत करारमा ३४ जना कर्मचारी तथा गोर्खाली योद्धा सेक्युरिटी कम्पनीमार्फत ४० सुरक्षागार्ड कार्यरत छन् । कर्मचारीले हडताल थालेपछि भन्सार नाका बन्द भएको छ । भारतबाट भित्रिने मालवाहक सवारीसाधन तथा भारततर्फ जाने नेपाली मालवाहक सवारीसाधन तथा खाली भारतीय मालवाहक सवारीसाधन ठूलो संख्यामा रोकिएका छन् । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले कर्मचारी हडतालले भन्सारको कामकाज प्रभावित भएको बताए । ‘यसले राजस्व असुलीमा समेत असर परेको छ,’ उनले भने ।

कर्मचारीले ३ सूत्रीय माग राखेका हुन् । पाँच वर्षदेखि कार्यरत कर्मचारीले प्रत्येक वर्षको १ महिनाको दरले ५ महिनाको प्रोत्साहन भत्ता पाउनुपर्ने, करारका कर्मचारीलाई अब एक वर्ष करार सम्झौता गरेर मात्र निजी कम्पनीलाई आईसीपी हस्तान्तरण गर्नुपर्ने र सरकारबाट लागू भई खाईपाई आएको सेवासुविधा तलबभत्ता कायम नै रहनुपर्ने उनीहरूको माग छ । इन्टरमोडल यातायात विकास समिति कार्यालयका प्रमुख कमल ज्ञवालीले आफूले समितिको केन्द्रीय कार्यालयमा कर्मचारीको मागबारे जानकारी गराइसकेको र वार्ताको चरणमा रहेको बताए ।

कैलाश टर्मिनल्स जेभीका अध्यक्ष माधवप्रसाद बरालले कम्पनीले कर्मचारी तथा सुरक्षागार्डलाई हटाउनेबारे केही पनि नबोलेकोमा उनीहरूले अनावश्यक रूपमा काम ठप्प पारेको बताए । ‘हामीले कर्मचारी हटाउने वा नयाँ राख्ने विषयमा केही बोलेकै छैनौं,’ उनले भने, ‘हामी आफैंलाई अनुभवी, मिहिनेती र इमानदार कर्मचारीको आवश्यकता छ, हालकै कर्मचारीलाई निरन्तरता दिने मनस्थितिमा छौं ।’ कैलाशले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको हो ।

प्रकाशित : चैत्र १३, २०७९ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×