गरुडामा अनशन तोडियो, वृन्दावनमा जारी

कान्तिपुर संवाददाता

रौतहट — रौतहटको गरुडा नगरपालिकामा नगर प्रमुखविरुद्ध थालिएको अनसन तोडिएको छ । अर्को नगरपालिका वृन्दावनमा भने रिले अनसन जारी छ । पालिकाको विकास निर्माणलगायत गतिविधिबारे सूचना नदिएको भन्दै अनसन थालिएको थियो ।

गरुडामा स्थानीय दीपक यादवले अनियमितताको आरोप लगाई सूचनाको माग गर्दै अनसन बसेका थिए । उनलाई पालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले आइतबार अनशनस्थलमा कागजपत्र उपलब्ध गराएपछि अनशन तोडेका हुन् । नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको यादवको आरोप थियो ।

शिक्षा क्षेत्रमा भएको खर्च र उपलब्धि, विद्युत्, इन्टरनेटमा भएको खर्च र उपलब्धि, कर्मचारी नियुक्ती, हाजिर रजिस्टर, तलब पेस्की विवरण, पदपूर्ति समितिको छनोट र प्रक्रियालगायत विवरण माग गर्दै यादव चैत ४ देखि अनशन बसेका थिए । ‘सबै सूचना पाएपछि अनशन तोडेको छु,’ उनले भने, ‘नगरवासीका लागि मेरो अनशन थियो ।’ उनी गत स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदका उम्मेदवार थिए । यादवको समर्थनमा आएका युवाले शनिबार गौर–चन्द्रनिगाहपुर खण्ड अवरुद्ध गर्न खोज्दा झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो ।

यसअघि यादव समूहबाट नगर प्रमुख जैसवालको घरमा ढुंगामुढा र दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । नगर प्रमुख जैसवालले आफूले कुनै पनि अनियमितता नगरेको दाबी गरे । ‘मैले बेथिति हटाउने कामको सुरुवात गरेको हुँ । तर मलाई सहयोग गर्नुको साटो अपमान गर्ने काम भयो,’ उनले भने ।

वृन्दावनमा अनियमितता भएको भन्दै वडाध्यक्ष र दलका नेताले थालेको रिले–अनशन भने जारी छ । पालिका प्रमुख विनोद कुर्मीको गतिविधिबारे सूचना माग्दा नदिएको आरोप लगाउँदै वडा नम्बर २ का अध्यक्ष सिकिन्द्र राउत कुर्मी, ३ का अध्यक्ष हरिनारायण साह, ४ का अध्यक्ष श्यामनन्दन राय र ५ का अध्यक्ष फेकु दास रिले–अनशनमा छन् । उनीहरूसँगै नगरपालिकाका पूर्वनगर प्रमुख, एमाले, माओवादी, कांग्रेस, जसपा र आमजनता पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता पनि बुधबारदेखि अनशनमा छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्

पढाइ निःशुल्क, उत्तीर्ण हुँदा एक लाख

गाउँघरमै बसेर स्थानीय क्याम्पस पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्ने योजनामा विदेश पुगेका पैयुँवासीको हातेमालो
अगन्धर तिवारी

पर्वत — सामुदायिक क्याम्पसमा शुल्क चर्को लिएको भन्दै विरोधका खबर आइरहँदा पर्वतको एक क्याम्पसमा भने विद्यार्थीले निःशुल्क पढ्न पाउने मात्रै होइन, सित्तैमा पाठ्यपुस्तक र पोसाक पाउँछन् । त्यतिमात्रै नभएर नियमित उत्तीर्ण हुनेले एक लाख रुपैयाँ पुरस्कारसमेत पाउँछन् । पैयुँ गाउँपालिकाको हुवास बहुमुखी क्याम्पसले विद्यार्थी आकर्षित गर्न यस्तो रणनीति ल्याएको हो ।

उच्च शिक्षाका लागि सहर जाने प्रवृत्तिले गाउँघरमै बसेर पढ्ने विद्यार्थी घटेका छन् । गाउँमै पढ्नका लागि विद्यार्थी आकर्षित गर्न क्याम्पसले पोसाकदेखि पाठ्यपुस्तकसमेत निःशुल्क दिन थालेको हो । क्याम्पसको कार्यक्रमलाई सघाउन हाल अमेरिकामा व्यवसाय गर्दै आएका हुवासकै राजेन्द्र श्रेष्ठ र अञ्जना श्रेष्ठले नियमित पास हुने विद्यार्थीलाई जनही एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार घोषणा गरेका हुन् । आंशिक रूपमा पास हुने विद्यार्थीलाई जनही ४० हजारका दरले पुरस्कार घोषणा गरेका छन् । उनीहरूले घोषणा गरेको पुरस्कारबापतको पहिलो वर्षको प्रोत्साहन रकम क्याम्पसका दुई विद्यार्थीले प्राप्त गरिसकेका छन् । २ वर्षअघि गरेको घोषणाअनुसार आंशिक रूपमा पास हुने निर्मला भट्टराई र सरिता परियारले ४०/४० हजारका दरले पुरस्कार रकम प्राप्त गरिसकेको क्याम्पसले जनाएको छ । ‘राम्रो पढेर नियमित पास हुँदा आफ्नै लागि राम्रो हो,’ परियारले भनिन्, ‘हामीले पाएको प्रोत्साहन रकमले पढाइमा हौसला मात्रै मिलेको छैन, उच्च शिक्षा पढ्ने खर्चको जोहो पनि भएको छ । यसले हौसला मिलेको छ ।’ अर्की विद्यार्थी भट्टराईले पाएको प्रोत्साहन रकमले स्नातकोत्तर तह अध्ययनमा सहज भएको बताइन् ।

क्याम्पसले ल्याएको यस्तो योजनामा साथ दिन हाल अमेरिका, जापानलगायतका मुलुकमा रहेका पैयुँवासीले पनि सहयोग गर्दै आएका छन् । पैसा नभएर उच्चशिक्षा अध्ययनका लागि अन्योलमा परेका परिवारले क्याम्पसले ल्याएको योजना मन पराएका छन् । २ वर्षदेखि कार्यान्वयनमा ल्याएको योजनाले विद्यार्थीको भर्ना संख्या उत्साहप्रद रहेको क्याम्पस प्रमुख देवीप्रसाद काफ्लेले बताए । ‘पहिले ८/१० जनामात्रै भर्ना हुन्थे,’ उनले भने, ‘अहिले तेब्बर विद्यार्थी

छन् ।’ गतवर्ष २८ जना भर्ना भएकामा चालु वर्ष ३० जना विद्यार्थी भर्ना भएको उनले बताए । क्याम्पसमा व्यवस्थापन संकायको मात्रै पढाइ हुन्छ । क्याम्पसले विद्यार्थीलाई शैक्षिक कक्षाका अतिरिक्त दैनिक एक घण्टा निःशुल्क कम्प्युटर कक्षासमेत सञ्चालन गर्दै आएको छ ।

हुवासका गोपी भुसाल, हिमाल भट्टराई, सरोज श्रेष्ठ, अर्जुनकिशोर न्यौपानेलगायतले नियमित प्रोत्साहन रकमका लागि अक्षयकोष स्थापना गरेका छन् । क्याम्पस प्रमुख काफ्लेका अनुसार प्रोत्साहन स्वरूप हरेक वर्ष ३ लाख ६० हजारका दरले पुरस्कार दिने घोषणा गरेका छन् । क्याम्पसको योजनाअनुसार पहिलो वर्षको प्रोत्साहन रकम विद्यार्थीले पाइसकेका छन् । क्याम्पसको योजनामा पालिकाले समेत सहयोग गरेको छ । अभिभावकहरूले सहयोग गरेसँगै पैयुँ गाउँपालिकाले गतवर्षदेखि क्याम्पसको शैक्षिक विकासका लागि बर्सेनि ५ लाखका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको अध्यक्ष राज मल्ल ठकुरीले बताए ।

प्रकाशित : चैत्र १३, २०७९ १०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×