विद्युत सवस्टेशनबाट चोरीको तारसहित भारतीय नागरिक पक्राउ

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बलरामा निर्माणाधीन विद्युत सवस्टेशनबाट चोरी भएको तामाको तारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आइतबार बिहान बलरा नगरपालिका–८ स्थित हुलाकी सडकमा पर्ने बलुवाभारमा लुकाइछिपाइ अवस्थामा राखिएको १६ बोरा तामाको तार बरामद गरी भारत मोतिहारी विष्णुपुर–११ का १९ वर्षीय साजनकुमार सोनीलाई पक्राउ गरेको हो ।

स्थानीयहरूका अनुसार बलरा–८ मै निर्माण भइरहेको विद्युत सवस्टेशनबाट शनिबार तार चोरी भएको थियो । तार चोरेको आरोपमा सोनीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रकाशित : चैत्र १२, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्

बन्चरेडाँडामा गिद्धले मान्छेलाई नै आक्रमण गर्ने अवस्था छ : सांसद सुवेदी

'बन्चरेडाँडाको फोहोरमा झिंगा, कुकुर, स्याल, गिद्धले आतंक मच्चाएका छन् । सरकारको ध्यान जाओस् ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडा आसपासका मानवबस्तीमा झिँगा, कुकुर, स्याल, गिद्धहरुले आतंक सिर्जना गरिरहेको भन्दै त्यसको नियन्त्रणका लागि सांसद विमला सुवेदीले संसद्‍मा आवाज उठाएकी छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै माओवादी केन्द्रकी सांसद सुवेदीले संघ सरकार, काठमाडौं महानगरपालिकाले सहमतिबमोजिम उचित तबरले फोहोर व्यवस्थापन नगर्दा बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका बासिन्दा भयावह अवस्थामा बाँच्नु परेको बताएकी हुन् ।

'हामी भर्खरै मात्र त्यहाँ गएका थियौं । अवस्था यति भयावह बनेको छ कि स्याल, गिद्ध, झिँगा, कुकुरहरुले मानवबस्तीमा आतंक सिर्जना गरिरहेका छन् । दिनदहाडै अव्यवस्थित रुपमा फालिएका सिनोहरु हजारौं गिद्ध र कागहरुले मानव बस्तीमा खसाल्ने गरेका छन् । कुकुर, स्यालहरुले दिनदहाडै पशुचौपाया मार्नेमात्रै होइन, गाईवस्तुका कल्चौडाहरु खाइरहेका छन्,' उनले भनिन्, 'गिद्धहरुले मान्छेहरुलाई नै आक्रमण गर्ने अवस्था देखिएको छ ।'

सांसद सुवेदीले बन्चरेडाँडावासीले जस्तो पीडा कसैले भोग्नु नपरेको उल्लेख गर्दै त्यसको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । 'फोहोर र मान्छे एकै ठाउँमा बस्नु परेको स्थिति, त्यहाँबाहेक नेपालका अन्य ठाउँ र विश्वमै छैन,' उनले भनिन्, 'त्यसैले राज्यको यथाशीघ्र ध्यानाकर्षण होस् र तत्काल समस्या समाधान होस् ।'

सेनेटरी ल्यान्डफिल अवधारणाअनुसार फोहोर फाल्ने सम्झौता भए पनि त्यसो नहुँदा दुर्गन्ध फैलिएको सांसद सुवेदीको भनाइ छ । फोहोरको विषयमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र सम्बन्धित नियकाहरुसँग ७२ चोटी सम्झौता भए पनि कार्यान्वयन नभएकोमा उनले गुनासो गरिन् ।

सांसद सुवेदी, नुवाकोट-१ बाट निर्वाचित सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले शुक्रबारमात्रै बन्चरेडाँडाको स्थलगत अनुमन र स्थानीयसँग जानकारी लिएको थियो ।

वर्षा सुरु हुनै लाग्दा नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेट ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दा चिन्तित देखिएका छन् । लिचेट भरिएर लेदोयुक्त पानी कोल्पुखोलामा मिसिनसक्ने भन्दै स्थानीयहरूले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गर्दै आएका छन् ।

बिसर्जन गर्नुअघि प्रयोगमा आउने वस्तु तथा कुहिने र नकुहिने फोहोर छुट्याउने तथा नकुहिने फोहोरमात्रै ल्यान्डफिल्डमा विसर्जन र बन्चरेडाँडालाई ५० वर्षसम्म फोहोर विसर्जनका लागि स्थायीरुपले टिकाउने भनिएकोमा जथाभावी किसिमले फोहोर झार्दा निर्माण भएका २ सेलमध्ये १ नम्बर सेल ८ महिनामै भर्न लागेको स्थानीय बताउँछन् ।

प्रकाशित : चैत्र १२, २०७९ १९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×