दुई उपसचिव हाजिर नभई फिर्ता

बारा — बारामा एक उपमहानगर र तीन नगरपालिका लागि गत साता संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका चार जना उपसचिवमध्ये दुई जना हाजिर नै नभई फिर्ता भएका छन् । कोल्हवी र सिम्रौनगढ नगरपालिकामा सरुवा भई आएका उपसचिवद्वय (प्रमुख प्रशासकीय अधिकृत) हाजिर नै नभई फिर्ता भएका हुन् ।
दुवै पालिकाका प्रमुखहरुले उनीहरुलाई हाजिर नगराउने अडान लिएका थिए । फिर्ता हुनेमा सिम्रौनगढमा आएका विष्णुभक्त सिग्देल र कोल्हवीमा सरुवा भएका सञ्जय पोखरेल छन् । कोल्हवीमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद साबिर यी चैत २३ मा स्वैच्छिक अवकाश हुने भएकाले उनको सम्मानका लागि तत्काल हाजिर नभइदिन पोखरेललाई आग्रह गरिएको हो । ‘अवकाशपछि हाजिर गराउने सर्तमा सहमति भएपछि सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत पोखरेल फिर्ता हुनुभयो,’ नगरपालिकाका एक अधिकृतले भने, ‘जबर्जस्ती होइन, आग्रहमै फिर्ता हुनुभयो ।’
सिम्रौनगढमा भने सरुवा भई आएका सिग्देल हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपानेभन्दा कनिष्ठ भएकाले नगरप्रमुखले किशोरीप्रसाद कलवारले हाजिर नै नगराई फर्काइदिएका हुन् । सिग्देल प्रशासन तर्फका थिए । न्यौपाने भने शिक्षातर्फका उपसचिव हुन् । ‘सरुवा भई आएका सिग्देल त्यति अनुभवी हुनुहुन्थेन, त्यसैले फिर्ता गरियो,’ सिम्रौनगढ प्रमुख कलवारले भने, ‘हाल कार्यरत न्यौपानेभन्दा कनिष्ठ पनि हुनुहुन्थ्यो ।’ जीतपुरसिमरा उपमहानगर र निजगढ नगरपालिकामा भने सरुवा भई आएका उपसचिवद्वय हाजिर भएका छन् । जीतपुरसिमरामा चेतकुमार पोखरेललाई सरुवा गरी उनको ठाउँमा हरिलाल पुरीलाई मन्त्रालयले पठाएको छ । यसैगरी निजगढमा राजमणि निरौलालाई सरुवा गरी पठाइएको छ ।
प्रकाशित : चैत्र १०, २०७९ १९:४५