इँटा उद्योगको पर्खाल भत्किँदा सिरहामा मजदुरको मृत्यु, दुई जना घाइते

सिरहा — इँटा उद्योगको पर्खाल भत्किँदा च्यापिएर सिरहामा शुक्रबार एक महिला मजदुरको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार सिरहाको गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको भट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा पर्खाल भत्किएर च्यापिँदा भारतको पूर्वी बंगालका मजदुर महिमा बीबीको शुक्रबार बिहान मृत्यु भएको हो ।
पर्खाल भत्किँदा च्यापिएर घाइते भएका बीबीको उपचारको लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइतेहरु ३५ वर्षीय बबी बीबी र ४० वर्षीय ममता बीबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत फागुन २७ गते गोलबजार नगरपालिका–५ स्थित माँ धमिनी इँटा उद्योगको पर्खाल भत्किँदा उद्योगमा कार्यरत ६ जना मजदुर घाइते भएका थिए ।
प्रकाशित : चैत्र १०, २०७९ १२:०२