६ वर्षदेखि मुआब्जा कुर्दै

सुक्खा बन्दरगाहका लागि अधिग्रहणमा परेको जग्गाको मुआब्जा वितरणमा ढिलाइ
शंकर आचार्य

पर्सा — भन्सारका लागि सरकारले ६ वर्षअघि जग्गा अधिग्रहणको घोषणा गरे पनि वीरगन्ज–२५ सिर्सियाका जग्गाधनीले मुआब्जा पाउन सकेका छैनन् । सरकारले क्रमिक रूपमा मुआब्जा वितरण गर्दै आए पनि पछिल्लो एक वर्षयता बाँडेको छैन । लामो समयदेखि मुआब्जा नपाउँदा र जग्गा उपयोग पनि गर्न नपाउँदा समस्यामा परेको स्थानीयको भनाइ छ ।

मुआब्जा माग्दै स्थानीयले वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा धर्ना दिएका थिए । जग्गाधनीमध्येकी एक बैजयन्ती मालाले जग्गा रोक्का हुँदा प्रयोग गर्न नपाएको बताइन् । बिहेवारी, बालबच्चाको शिक्षादीक्षा, औषधोपचार जस्ता कुनै पनि प्रयोजनका लागि जग्गा बिक्री गर्न नपाएको उनको भनाइ छ । ‘कि त रोक्का फुकुवा हुनुपर्‍यो, नत्र तत्कालै मुआब्जा दिनुपर्‍यो,’ उनले भनिन्, ‘यसरी कहिलेसम्म सरकारले अनिर्णयको बन्दी बनाएर राख्ने ?’ मुआब्जा पाए नयाँ घरघडेरीको व्यवस्था गर्न पाउने उनको भनाइ छ । सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारीले स्थानीयको समस्याबारे अर्थ मन्त्रालयमा जानकारी गराउने प्रतिबद्धता जनाएपछि धर्ना रोकिएको छ ।

गत आर्थिक वर्षको असारको अन्तिम साता केही जग्गाधनीलाई मुआब्जा वितरण गरिएको थियो । त्यसयता मुआब्जा वितरण ठप्प छ । अर्थ मन्त्रालयले रकम निकासा नगर्दा मुआब्जा दिन नसकिएको सुक्खा बन्दरगाह भन्सारका प्राविधिक अधिकृत केवल चौधरीले बताए । सरकारले बन्दरगाहका लागि ६२ बिघा (९ सय २० कित्ता) अधिग्रहण गर्न लागेको हो । हालसम्म ४२ बिघा १५ कट्ठा १६ धुर (६ सय ८३ कित्ता) कित्ता मात्र अधिग्रहण गरेको छ । त्यसबापत स्थानीयलाई करिब ४ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिएको छ ।

अब करिब १९ बिघा अधिग्रहण गर्न बाँकी छ, जसबापत २ अर्ब ८० करोड रुपैयाँ मुआब्जा वितरण गर्नुपर्ने चौधरीले बताए । यसबाहेक अधिग्रहणभित्र पर्ने घर, रूख, पोखरी, चापाकल आदिको पनि मुआब्जा दिनुपर्ने हुन्छ, जसको सर्भे हुन बाँकी छ । दुई दशकदेखि सञ्चालित बन्दरगाह र ४ वर्षदेखि सुरु भएको एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) जोड्न दुवै भन्सारको बीचमा पर्ने खल्वाटोला गाउँ र खेतलाई अधिग्रहण गर्न लागिएको हो । हालको क्षेत्रफल दुवै भन्सारलाई आगामी दिनमा थोरै हुन सक्ने भएकाले सरकारले अधिग्रहणको योजना बनाएको हो । दुवै भन्सारबाट हाल दैनिक करिब ३ हजार मालवाहक सवारीको आवागमन हुने गरेको छ । सरकारले ६ वर्षअघि २०७३ पुस १७ मा जग्गा अधिग्रहण प्रक्रिया थालेको थियो । सरकारी मापदण्डअनुसार यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार र सबैभन्दा कम प्रतिकट्ठा २४ लाख ६० हजार रुपैयाँ छ ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

प्रविधिले बालबालिका पढाइमा आकर्षित

लक्ष्मी साह

बारा — जिल्लाका कलैया र जितपुर सिमरा उपमहानगरपालिकाका १० विद्यालयमा ‘प्रविधिमैत्री’ पढाइ हुन थालेपछि विद्यालयमा बालाबालिका वृद्धि हुन थालेको छ । १० वर्षमुनिका कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षित गरी विद्यालय आसपासका दलित बस्तीमा ‘सहयात्रा’ परियोजना सञ्चालन भएपछि आकर्षण बढेको हो ।

यो परियोजना प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाहीमा सञ्चालनमा छ । मधेस प्रदेश सरकार, स्थानीय तह र स्थानीय सेवाप्रदायक संस्थाको सहकार्यमा डेढ वर्षयता कार्यक्रम सुचारु छ ।

सेवा प्रदायक संस्था जनजागरण युवा क्लब र सम्बन्धित विद्यालयलाई मनोरन्जनात्मक र खेलकुद सामग्री उपलब्ध गराएपछि बालबालिका विद्यालयमा टिक्न थालेका हुन् । परियोजना लागू भएपछि ३ कक्षामुनिमा बालबालिका संख्या डेढ सयबाट वृद्धि भएर ३ सयको हाराहारीमा पुगेको नेरामावि मनहर्वाका प्रअ हरिकिशोर कुँवरले बताए । ‘बालमैत्री सिकाई गराउन थालेपछि बालबालिका विद्यालयमा बस्न थालेका छन्,’ उनले भने, ‘उनीहरूलाई घर जस्तै वातावरणमा शिक्षा दिन थालिएको छ ।’ विद्यालयमा अभिभावकको लागि गुनासो पेटिकासमेत व्यवस्था गरिएको छ । विद्यालयमै खेल्ने, गाउने, नाच्ने वातावरणको विकास गरिएको उनले बताए । कार्टुन देखाउने एलइडी टीभी र प्रोजेक्टर, स्वास्थ्य जाँच, खाजापानी, पिङ, बालमैत्री डेक्सबेन्च, कक्षा कोठामा कार्पेट बिछ्याइएको छ । विभिन्न चित्र कोरिएको पोस्टर, वर्णमाला, पेन्टिङलगायतका सामान कक्षा सजाइएको छ । बालबालिकालाई पोसाक, झोला दिइएको छ । जुता र झोला राख्ने र्‍याक तथा पोसाक राख्ने ह्यांगर उपलब्ध गराइएको छ ।

बेलाबेलामा उनीहरूले बनाएका विभिन्न कार्टुन, पेन्टिङलगायतलाई समेटेर विद्यालयमा शैक्षिक मेला लगाउने गरिएको छ । प्रतियोगिता गराई पुरस्कृत गर्ने क्रियाकलापले उनीहरूमा उत्प्रेरणा बढेको प्रअ कुँवरले बताए । ‘विद्यालयमा बालबालिकाका लागि सबै सुविधा उपलब्ध भएपछि रमेका छन्,’ कलैया–२४ मनहर्वाकी अभिभावक अनिता चौधरीले भनिन्, ‘घरमा बस्नै रुचाउँदैनन् ।’

जितपुर सिमरा उपमहानगरको नेरामावि पथलैया, नेरामावि सिमरा, जनता मावि रजघटा, नेरामावि डुमरवाना र सरस्वती मावि इनर्वासिरा गरी ५ विद्यालयमा यो व्यवस्था छ । यसैगरी कलैया उपमहानगरको नेरामावि मटिअर्वा, नेरामावि बसतपुर, दर्गामावि बरेवा, अमरमावि दोहरी र नेरामावि मनहर्वामा परियोजना लागू छ । डेढ वर्षको अवधिमा १ हजार ६ सय बालबालिका वृद्धि भएको परियोजना संयोजक मनोजकुमार यादवले बताए । ‘विद्यालय आसपासका अति विपन्न र दलित बालबालिका तथा तिनका अभिभावकलाई विद्यालयमा पहुँच बढाउन १० वटै विद्यालयमा ‘सहयात्रा’ परियोजना लागू गरिएको छ,’ संयोजक यादवले भने, ‘विद्यालयमा सुविधा उपलब्ध गराइएपछि बालबालिका आकर्षित भएका हुन् ।’ परियोजनाअन्तर्गत ती विद्यालय आसपासका समुदायबाट कक्षा १ देखि ३ सम्मका सिकाइस्तर न्यून र आर्थिक विपन्न दलित समुदायका बालबालिकाको सिकाइ सुधार केन्द्रित गरिएको छ । ती बस्तीको घरघरमा ५ हजार बालबालिकालाई लक्षित सिकाइ केन्द्रसमेत सञ्चालन गरिएको छ ।

परियोजना संयोजक यादवका अनुसार विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षासमेत लागू गरिएको छ । पूर्वप्राथमिक तहमा नमुना कक्षाकोठाको व्यवस्थापन र स्थानीय पाठ्यक्रम लागू गरिएको छ । परियोजनाले बालबालिकाको शैक्षिक गुणस्तर सुधार ल्याउने आशा राखिएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×