कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रविधिले बालबालिका पढाइमा आकर्षित

लक्ष्मी साह

बारा — जिल्लाका कलैया र जितपुर सिमरा उपमहानगरपालिकाका १० विद्यालयमा ‘प्रविधिमैत्री’ पढाइ हुन थालेपछि विद्यालयमा बालाबालिका वृद्धि हुन थालेको छ । १० वर्षमुनिका कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षित गरी विद्यालय आसपासका दलित बस्तीमा ‘सहयात्रा’ परियोजना सञ्चालन भएपछि आकर्षण बढेको हो ।

प्रविधिले बालबालिका पढाइमा आकर्षित

यो परियोजना प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाहीमा सञ्चालनमा छ । मधेस प्रदेश सरकार, स्थानीय तह र स्थानीय सेवाप्रदायक संस्थाको सहकार्यमा डेढ वर्षयता कार्यक्रम सुचारु छ ।

सेवा प्रदायक संस्था जनजागरण युवा क्लब र सम्बन्धित विद्यालयलाई मनोरन्जनात्मक र खेलकुद सामग्री उपलब्ध गराएपछि बालबालिका विद्यालयमा टिक्न थालेका हुन् । परियोजना लागू भएपछि ३ कक्षामुनिमा बालबालिका संख्या डेढ सयबाट वृद्धि भएर ३ सयको हाराहारीमा पुगेको नेरामावि मनहर्वाका प्रअ हरिकिशोर कुँवरले बताए । ‘बालमैत्री सिकाई गराउन थालेपछि बालबालिका विद्यालयमा बस्न थालेका छन्,’ उनले भने, ‘उनीहरूलाई घर जस्तै वातावरणमा शिक्षा दिन थालिएको छ ।’ विद्यालयमा अभिभावकको लागि गुनासो पेटिकासमेत व्यवस्था गरिएको छ । विद्यालयमै खेल्ने, गाउने, नाच्ने वातावरणको विकास गरिएको उनले बताए । कार्टुन देखाउने एलइडी टीभी र प्रोजेक्टर, स्वास्थ्य जाँच, खाजापानी, पिङ, बालमैत्री डेक्सबेन्च, कक्षा कोठामा कार्पेट बिछ्याइएको छ । विभिन्न चित्र कोरिएको पोस्टर, वर्णमाला, पेन्टिङलगायतका सामान कक्षा सजाइएको छ । बालबालिकालाई पोसाक, झोला दिइएको छ । जुता र झोला राख्ने र्‍याक तथा पोसाक राख्ने ह्यांगर उपलब्ध गराइएको छ ।

बेलाबेलामा उनीहरूले बनाएका विभिन्न कार्टुन, पेन्टिङलगायतलाई समेटेर विद्यालयमा शैक्षिक मेला लगाउने गरिएको छ । प्रतियोगिता गराई पुरस्कृत गर्ने क्रियाकलापले उनीहरूमा उत्प्रेरणा बढेको प्रअ कुँवरले बताए । ‘विद्यालयमा बालबालिकाका लागि सबै सुविधा उपलब्ध भएपछि रमेका छन्,’ कलैया–२४ मनहर्वाकी अभिभावक अनिता चौधरीले भनिन्, ‘घरमा बस्नै रुचाउँदैनन् ।’

जितपुर सिमरा उपमहानगरको नेरामावि पथलैया, नेरामावि सिमरा, जनता मावि रजघटा, नेरामावि डुमरवाना र सरस्वती मावि इनर्वासिरा गरी ५ विद्यालयमा यो व्यवस्था छ । यसैगरी कलैया उपमहानगरको नेरामावि मटिअर्वा, नेरामावि बसतपुर, दर्गामावि बरेवा, अमरमावि दोहरी र नेरामावि मनहर्वामा परियोजना लागू छ । डेढ वर्षको अवधिमा १ हजार ६ सय बालबालिका वृद्धि भएको परियोजना संयोजक मनोजकुमार यादवले बताए । ‘विद्यालय आसपासका अति विपन्न र दलित बालबालिका तथा तिनका अभिभावकलाई विद्यालयमा पहुँच बढाउन १० वटै विद्यालयमा ‘सहयात्रा’ परियोजना लागू गरिएको छ,’ संयोजक यादवले भने, ‘विद्यालयमा सुविधा उपलब्ध गराइएपछि बालबालिका आकर्षित भएका हुन् ।’ परियोजनाअन्तर्गत ती विद्यालय आसपासका समुदायबाट कक्षा १ देखि ३ सम्मका सिकाइस्तर न्यून र आर्थिक विपन्न दलित समुदायका बालबालिकाको सिकाइ सुधार केन्द्रित गरिएको छ । ती बस्तीको घरघरमा ५ हजार बालबालिकालाई लक्षित सिकाइ केन्द्रसमेत सञ्चालन गरिएको छ ।

परियोजना संयोजक यादवका अनुसार विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षासमेत लागू गरिएको छ । पूर्वप्राथमिक तहमा नमुना कक्षाकोठाको व्यवस्थापन र स्थानीय पाठ्यक्रम लागू गरिएको छ । परियोजनाले बालबालिकाको शैक्षिक गुणस्तर सुधार ल्याउने आशा राखिएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?