गाईपालनमा जमेका इन्जिनियर

शंकर आचार्य

पर्सा — सफ्टवेयर इन्जिनियर पढेका उनलाई जागिरमा राम्रै थियो । चाहेजति तलब र सुविधा पाइरहेकै थिए । तर, जागिरमा उनको मन अडेन । कृषि पेसामा केही गर्ने अठोटका साथ गाईपालन थाले । वीरगन्जका ३९ वर्षीय श्यामवदन यादव अहिले दूध उत्पादन र दुग्धजन्य पदार्थको कारोबारमा उदाहरणीय बनेका छन् । 


पर्सामा ठोरी–५ सुवर्णपुरमा कलश क्याटल फार्मिङ प्रालि स्थापना गरी गाईपालन थालेका यादवको फार्ममा अहिले होलिस्टेन जातका १ सय ५० वटा गाई छन्, जसबाट दैनिक १ हजार लिटर दूध उत्पादन हुन्छ । त्यही दूधका विभिन्न परिकार बनाएर उनले आफ्नै ‘डेरी हब’ बाट बिक्री गर्दै आएका छन् । डेरी हबका पनि ५ वटा आउलेटहरू छन्, वीरगन्जमा २, लालबन्दी, जनकपुर र बर्दिबासमा १/१ वटा ।

एक दशकदेखि गाईपालनमा सक्रिय भएका यादवले ३ वर्षयता भने इजरायली प्रविधि अपनाएका छन् । फार्ममा उनले दूध मात्र उत्पादन गरेका छैनन् । गोबरबाट बायोग्यास र जैविक मलसमेत उत्पादन गरिरहेका छन् । उनको उत्पादन आफ्नै कलश मिल्क इन्डस्ट्रिज नामको उद्योगमा खपत हुन्छ । त्यसैबाट आइसक्रिम, केक, दही, पनिर, बटर, घिउ, मिठाई, पेस्टी आदि उत्पादन गरी बिक्री गरिन्छ ।

आगामी दिनमा गाईको संख्या बढाएर १ हजार बनाउने र दैनिक २५ हजार लिटरसम्म दूध उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए । ‘यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘१ वर्षपछि गाईको लक्षित संख्या पनि थपेर फार्म पूर्ण क्षमतामा सञ्चालन गरिनेछ ।’ फार्मबाट निस्कने गोबरबाट उनले सीएनजी ग्यास र जैविक मलसमेत उत्पादन गरिरहेका छन् । हाल दैनिक १ टन सीएनजी ग्यास र १ टन जैविक मल उत्पादन भइरहेको यादव बताउँछन् । ग्यासबाट उनले फार्मलाई दैनिक ५ घण्टासम्म पुग्ने विद्युत् उत्पादन गरिरहेका छन् । पछि गाईको संख्या वृद्धिसँगै ग्यासको उत्पादनसमेत बढ्नेछ । त्यो ग्यास औद्योगिक क्षेत्रमा बिक्री गर्न सकिन्छ । फार्मबाट जैविक मलको बिक्रीसमेत गरिन्छ ।

फार्ममा हालसम्म ५० करोड रुपैयाँ लगानी भइसकेको यादव बताउँछन् । पूर्वाधार निर्माणमा ठूलो धनराशि खर्च भइसकेकाले अब थप ८ सय ५० गाई खरिदमा करिब २७ करोड रुपैयाँ लगानी गर्ने योजना उनको छ । हाल गाईलाई खुवाउने नियमित दानाबाहेक साइलेज (गुन्द्रुक) पनि फार्ममै उत्पादन गरिरहेको यादव बताउँछन् । यस्तो साइलेज खाने गाईले तुलनात्मक रूपमा बढी दूध दिने गरेका छन् ।

नेपालमा इजरायली प्रविधिको पूर्ण स्वचालित तथा कम्प्युटराइज मेसिनबाट गाईपालनदेखि दूध संकलनसम्मको प्रविधि अपनाएको यो पहिलो फार्म रहेको यादवको दाबी छ । ‘गाईपालनदेखि दूध दुहुने स्वचालित मेसिन, गोबर सोहोर्ने, दाना दिने, गोबरबाट बायोग्यास र जैविक मल उत्पादन गर्नेसम्मको सम्पूर्ण प्रविधि इजरायली नै अपनाएको छु,’ उनले भने, ‘त्यसै कारण पनि केवल १७ जनशक्तिले मात्र यो फार्म सञ्चालन गर्न सम्भव भइरहेको छ ।’ मेसिनबाट एउटा गाई दुहुन ५ मिनेट लाग्ने र एक पटकमा ४० वटा गाई मेसिनले दुहुन सक्ने उनले बताए ।

गोबर सोहोर्न पनि स्वचालित मेसिनकै प्रयोग गरिएको छ । गाईलाई गर्मी नहोस् भनी ठूलाठूला पंखा र पानीको फोहोरा (स्पि्रंकल) समेतको व्यवस्था गोठमै गरिएको छ । गाई र तिनका बाच्छाबाच्छीको स्याहार गर्न दैनिक २ चिकित्सकको टोली नै फार्ममा खटिएको छ । फार्ममा माउ गाई र बाच्छाबाच्छीलाई छुट्टाछुट्टै राखिएको छ । दूध दिने र नदिने गाईको गोठ पनि छुट्टाछुट्टै छ । सफासुग्घर गोठ भएकाले दुर्गन्ध नआउने र गाई पनि बिरामी कम पर्ने गरेका छन् । फार्ममै भविष्यमा दाना उद्योग सञ्चालन गर्ने योजना पनि रहेको यादवले जानकारी दिए ।

फार्म सञ्चालन गर्नुअघि उनले १ महिना इजरायल पुगेर तालिमसमेत लिएर आएका थिए । फार्ममा नबिल र ज्योति विकास बैंकले संयुक्त लगानी गरेको यादव बताउँछन् । ३ वर्षअघि फार्म सञ्चालनमा ल्याएलगत्तै २ वर्ष कोरोना महामारीका कारण असर परेको थियो । अहिले फार्मको कामले गति लिएको उनले बताए । १ वर्षभित्र पूर्ण क्षमतामा सञ्चालनमा आइसकेपछि थप २३ जना गरी ४० जनालाई फार्मले प्रत्यक्ष रोजगारी दिने यादव बताउँछन् ।

गाईलाई खुवाउने दानाका लागि ६/६ महिनामा ५/५ सय बिघाको मकै बाली आवश्यक पर्ने भएकाले फार्मले ठोरी गाउँपालिका र छिमेकका अन्य ३ स्थानीय तहका किसानलाई मकै खेती गर्न प्रोत्साहित गरिरहेको छ । ‘ठोरीकै किसानले यस वर्षदेखि मकै खेती सुरु गरिसकेका छन्,’ उनले भने, ‘नगदेबालीको रूपमा सुर्ती र अन्न बालीको रूपमा धान खेती गर्दै आएका यस भेगका किसानलाई मकै खेतीबाट ती बालीभन्दा तीन गुना बढी आम्दानी हुने र स्वास्थ्यमा रहेको जोखिम पनि घट्नेछ ।’

नेपालमा हाल दैनिक २२ देखि २५ लाख लिटर दूधको खपत रहेकोमा स्वदेशी उत्पादन दैनिक ५ देखि ६ लाख लिटर मात्र रहेको र बाँकी आयात नै गर्नुपरेको उनले बताए । त्यसैले नेपाललाई दूधमा आत्मनिर्भर बनाउन आधुनिक प्रविधिबाट गाई तथा भैंसी पालनको विकल्प नरहेको उनको भनाइ छ । ‘नेपालाई दूधमा आत्मनिर्भर बनाउन श्वेत क्रान्तिकै आवश्यकता छ,’ उनी भन्छन्, ‘हाम्रो जस्तै ठूलो क्षमताको फार्म देशका अन्य भागमा थप २४/२५ वटाको संख्यामा सञ्चालनमा आए देश दूधमा आत्मनिर्भर बनेन्छ ।’

प्रकाशित : चैत्र ८, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

अभियुक्तसँग नाम मिल्दा प्रहरीको सास्ती

अवधेशकुमार झा

राजविराज — सप्तरीमा नामथर र ठेगाना मिल्दा अर्को व्यक्तिले गरेको अभियोगमा एक जना बारम्बार पक्राउ परेका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका–५ का ५६ वर्षीय रामफल मुखियालाई अभियुक्तसँग नामथर मिलेकै कारण प्रहरीले दुई पटक पक्राउ गरेको हो ।

सोही स्थानका रामफल मुखिया नाम भएकै व्यक्तिलाई २०४२ कात्तिक १३ मा कैदीबन्दी भगाएको अभियोग छ । सप्तरी जिल्ला अदालतबाट जेल सजाय पाएका उनी हालसम्म फरार छन् । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानको क्रममा अर्का रामफललाई पक्राउ गरेको हो ।

पछिल्लो समय यही चैत ४ मा पनि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । पछि निर्दोष साबित भएपछि रिहा गरेको छ । गत शनिबार घरबाट कञ्चनपुर बजारतर्फ आउने क्रममा प्रहरीको टोलीले रामफललाई पक्राउ गरेको हो । ‘तपाईंमाथि पुरानो मुद्दा छ भन्दै प्रहरीले हत्कडी लगाएर प्रहरी कार्यालय पुर्‍याए,’ रामफलले भने, ‘मैले कुनै अपराध गरेको छैनभन्दा पनि पत्याएनन् ।’ अभियुक्त अर्कै रामफल रहेको भन्दै कञ्चनरूपका नगरप्रमुख ललनप्रसाद गुप्ता पनि प्रहरी कार्यालय पुगे । तर उनलाई पनि प्रहरीले पत्याएन ।

रामफललाई भोलिपल्ट जिल्ला अदालतमा पेस गरियो तर तीनपुस्ते विवरण नमिलेको भन्दै रिहा गरियो । अभियुक्त रामफलका बुबाको नाम कलमा मुखिया मलाह हो भने निर्दोष रामफलको बुबाको नाम फिरंगी मलाह । जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले मिसिलमा रहेको तीनपुस्ते विवरण अहिले पक्राउ गरिएका रामफलसँग नमिलेपछि उनलाई छोडिएको जानकारी दिए । रामफललाई २०७३ जेठ ४ मा पनि प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी ५ महिना २० दिन जेलमा परे । तत्कालीन पुनरावेदन अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेपछि उनी निर्दोष साबित भए । त्यही वर्षको कात्तिक २४ मा उनी रिहा भएका थिए । त्यसपछि ०७४ को स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएका थिए । ५ वर्ष उनी जनप्रतिनिधिको भूमिकामा काम गरेका उनलाई फेरि प्रहरीले पक्राउ गरेको हो । ‘प्रहरीले मलाई दुई पटक पक्राउ गरिसकेको छ,’ उनले भने, ‘मेरो के दोष छ र, यसरी पक्राउ गरेर बेइजत गरिन्छ ?’ अदालतको फैसला कार्यान्वयनको सूचीमा नाम रहेका कारण उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक रायले बताए । ‘फैसला कार्यान्वयन सूचीमा रामफल मुखिया नाम थियो, ठेगाना पनि मिल्यो । त्यो सूचीमा बुबाको नाम थिएन,’ डीएसपी रायले भने, ‘अदालतमा मिसिलमा उनी अर्कै मानिस भएको देखिएपछि रिहा गरियो ।’ कञ्चनरूपका नगरप्रमुख गुप्ताले निर्दोषलाई पटकपटक पक्राउ गर्नु उचित नभएको भन्दै प्रहरीले आगामी दिनमा ध्यान पुर्‍याउनुपर्ने बताए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×