अभियुक्तसँग नाम मिल्दा प्रहरीको सास्ती

अवधेशकुमार झा

राजविराज — सप्तरीमा नामथर र ठेगाना मिल्दा अर्को व्यक्तिले गरेको अभियोगमा एक जना बारम्बार पक्राउ परेका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका–५ का ५६ वर्षीय रामफल मुखियालाई अभियुक्तसँग नामथर मिलेकै कारण प्रहरीले दुई पटक पक्राउ गरेको हो ।

सोही स्थानका रामफल मुखिया नाम भएकै व्यक्तिलाई २०४२ कात्तिक १३ मा कैदीबन्दी भगाएको अभियोग छ । सप्तरी जिल्ला अदालतबाट जेल सजाय पाएका उनी हालसम्म फरार छन् । प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानको क्रममा अर्का रामफललाई पक्राउ गरेको हो ।

पछिल्लो समय यही चैत ४ मा पनि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । पछि निर्दोष साबित भएपछि रिहा गरेको छ । गत शनिबार घरबाट कञ्चनपुर बजारतर्फ आउने क्रममा प्रहरीको टोलीले रामफललाई पक्राउ गरेको हो । ‘तपाईंमाथि पुरानो मुद्दा छ भन्दै प्रहरीले हत्कडी लगाएर प्रहरी कार्यालय पुर्‍याए,’ रामफलले भने, ‘मैले कुनै अपराध गरेको छैनभन्दा पनि पत्याएनन् ।’ अभियुक्त अर्कै रामफल रहेको भन्दै कञ्चनरूपका नगरप्रमुख ललनप्रसाद गुप्ता पनि प्रहरी कार्यालय पुगे । तर उनलाई पनि प्रहरीले पत्याएन ।

रामफललाई भोलिपल्ट जिल्ला अदालतमा पेस गरियो तर तीनपुस्ते विवरण नमिलेको भन्दै रिहा गरियो । अभियुक्त रामफलका बुबाको नाम कलमा मुखिया मलाह हो भने निर्दोष रामफलको बुबाको नाम फिरंगी मलाह । जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीले मिसिलमा रहेको तीनपुस्ते विवरण अहिले पक्राउ गरिएका रामफलसँग नमिलेपछि उनलाई छोडिएको जानकारी दिए । रामफललाई २०७३ जेठ ४ मा पनि प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी ५ महिना २० दिन जेलमा परे । तत्कालीन पुनरावेदन अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेपछि उनी निर्दोष साबित भए । त्यही वर्षको कात्तिक २४ मा उनी रिहा भएका थिए । त्यसपछि ०७४ को स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएका थिए । ५ वर्ष उनी जनप्रतिनिधिको भूमिकामा काम गरेका उनलाई फेरि प्रहरीले पक्राउ गरेको हो । ‘प्रहरीले मलाई दुई पटक पक्राउ गरिसकेको छ,’ उनले भने, ‘मेरो के दोष छ र, यसरी पक्राउ गरेर बेइजत गरिन्छ ?’ अदालतको फैसला कार्यान्वयनको सूचीमा नाम रहेका कारण उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक रायले बताए । ‘फैसला कार्यान्वयन सूचीमा रामफल मुखिया नाम थियो, ठेगाना पनि मिल्यो । त्यो सूचीमा बुबाको नाम थिएन,’ डीएसपी रायले भने, ‘अदालतमा मिसिलमा उनी अर्कै मानिस भएको देखिएपछि रिहा गरियो ।’ कञ्चनरूपका नगरप्रमुख गुप्ताले निर्दोषलाई पटकपटक पक्राउ गर्नु उचित नभएको भन्दै प्रहरीले आगामी दिनमा ध्यान पुर्‍याउनुपर्ने बताए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्

निर्माण भइसक्ने बेलामा बल्ल शिलान्यास

अबको दुई वर्षभित्र काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन
कान्तिपुर संवाददाता

मोरङ — भारतको जोगबनीबाट विराटनगर प्रवेश गर्ने रानी नाकामा आकाशेपुल तथा स्वागतद्वार निर्माणको समयावधि सकिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार शिलान्यास गरेका छन् ।

प्रदेश सरकार, विराटनगर महानगर र उद्योग संगठनको संयुक्त लगानीमा निर्माणका लागि महानगरले डिजाइन र इस्टिमेट गरेपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले आव २०७६/७७ मा नै ठेक्का प्रक्रिया पूरा गरे पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको थिएन । ७ करोड ७६ लाख ८ हजारको लागत इस्टिमेट रहेको उक्त योजना ६ करोड २५ लाख २४ हजारमा निर्माणका लागि ह्याबिटेट/आशिषदीप जेभी भद्रपुर झापाले २०७७ जेठ २७ मा सम्झौता गरेको थियो ।

प्रदेश सरकारको ७०, महानगरको २५ र उद्योग संगठनको ५ प्रतिशत लागत साझेदारी रहेको उक्त योजनाको स्वामित्व कसले लिने भन्ने विवादले ठेक्का लागे पनि हालसम्म निर्माण सुरु हुन नसकेको उक्त मन्त्रालयले जनाएको छ । उक्त आयोजनामा ठेक्केदारले दिने कमिसनको भागबण्डा पनि नमिलेकाले निर्माण कार्य सुरु हुन ढिलाइ भएको मन्त्रालय स्रोतले जनाएको छ ।

निर्माण कम्पनी मुख्यमन्त्री कार्कीको गृहजिल्लाको भएकाले पछिल्लो समय सबै विवादको समाधान गरेर निर्माण कार्य सुरु गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ । कोशी प्रदेश झल्किने स्वागतद्वार तथा आकाशेपुल निर्माण हुने सम्बद्ध मन्त्रालयका सचिव मोहनराज चापागाईंले बताए । उनले निर्माण कम्पनीलाई २०७९ फाल्गुन २६ मा पुनः कार्यादेश दिएर २०८१ फागुन २५ भित्र निर्माण कार्य पूरा गर्न समय सीमा दिइएको सुनाए ।

मुख्यमन्त्री कार्कीले स्वामित्वलगायत प्राविधिक कारणले ठेक्का लागेर पनि हालसम्म रोकिएको योजना ढिलै भए पनि सुरु भएकाले अबको दुई वर्षभित्र कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । उनले प्रदेश सरकारको प्रत्येक योजनाले उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने हुनुपर्ने बताए ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×