नगरपालिकामा अनियमितता भएको भन्दै अनशन 

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिकामा अनियमितता भएको भन्दै नगरप्रमुखका प्रत्याशी दीपक यादव आमरण अनशन बसेका छन् । उनी गएको स्थानीय निर्वाचनमा तमलोपाबाट गरुडा नगरपालिकाको नगरप्रमुख पदमा उठेका थिए । अनशनमा पूर्व उपप्रमुख रंगीलादेवी जैसवाललगायतका कांग्रेसका स्थानीय नेता पनि सहभागी छन् ।

नगरपालिका प्रमुख कन्थमणि जैसवालले अनियमितता गरेको र आफूले विभिन्न शीर्षकमा भएका खर्च, कामको सूचना माग्दा नदिएको भन्दै आफू अनशनमा बसेको यादवले बताए ।

सूचनाको हक प्रयोग गरेर पनि कतिपय सूचना दिन नमानेको र नगरपालिकामा के–के काम भइरहेको छ भन्ने नगरबासीले थाहा पाउनुपर्नेमा सूचना लुकाएर अनियमितता गरेको हुनाले आफू बाध्य भई अनशन बस्नु परेको यादवको दाबी छ । ‘मैले सूचना मागेर कुनै गलत गरेको छैन । नगरपालिकाभित्र धेरै अनियमितता भएको छ,’ उनले भने,‘राम्रो काम गरेका छ भने सूचना माग्दा किन नगरप्रशासन दिन मान्दैन । नगरप्रमुख किन भागेर हिँड्छन् । जबसम्म सूचनाको मागको सम्बोधन हुँदैन तबसम्म अनशन जारी रहन्छ ।’

केही दिनदेखि सूचनाको हक प्रयोग गरी नगरपालिकाको विभिन्न शीर्षकमा भएका काम, कर्मचारीको नियुक्ति, खर्चलगायतको विवरण माग्दै यादवले आन्दोलन गरिरहेका थिए । यही क्रममा नगरप्रमुख जैसवालमाथि दुर्व्यवहार भएको भन्दै इलाका प्रहरी गरुडाले उनलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । उनले स्थानीय सञ्चारकर्मीलाई समेत तथानाम गालीगलौच गरेपछि पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्तिसमेत निकालेर भर्त्सना गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

तेह्रथुमका कांग्रेस नेता गणेश विमलीको निधन

चन्द्र कार्की

तेह्रथुम — नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा गएराति भारतीय भूमिमा निधन भएको छ ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका विमलीको भारतमा उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा बाटोमै निधन भएको उनका छोरा कुलदीप विमलीले जानकारी दिए ।

विमलीलाई एक महिनाअघि फोक्सोमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा लगिएको थियो । विमलीलाई फोक्सोमा जटिल प्रकृतिको क्यान्सर देखिएपछि रिसर्च सेन्टरले उपचार सम्भव नहुने भन्दै सोमबार घर फर्काइदिएको छोरा कुलदीपले बताए ।

घरतर्फ ल्याउने क्रममा भारतीय भूमिमै बुबाको निधन भएको उनले जानकारी दिए । विमलीको पार्थिव शरीरलाई मंगलबार बेलुका ११ बजेसम्ममा झापाको बिर्तामोड–५ स्थित घरमा लाइपुर्‍याइने र बुधबार झापाको कन्काई नदीमा अन्त्येष्टि गरिने भएको छ ।

आठराई गाउँपालिका ३ ह्वाकुमा जन्मिएका विमली ०३४ सालदेखि नै जिल्लामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १४:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×