सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा एक मतले अखिल क्रान्तिकारी विजयी

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार एक मतले विजयी भएका छन् । यहाँ सचिवबाहेक सबै प्यानल नै विजयी भएको हो । 

चतुर्भुजेश्वरमा अखिलका प्रेमराज दाहालले ३ सय ५० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सन्दीप थापाले ३ सय ४९ मत पाएका छन् । ९ सय ७० विद्यार्थीमध्ये ७ सय ११ जनाले मतदानमा सहभागी थिए ।

पहिलो पटकको गणनामा दाहाल र थापाले समान ३ सय ५० मत ल्याउँदा दोहोर्‍याएर गणना गरिएको थियो । अखिल क्रान्तिकारीको नेतृत्वमा नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियु प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

यसअघि सर्लाहीको जनज्योतिमा नेविसंघ नेतृत्वको प्यानल र सर्लाही क्याम्पसमा अनेरास्ववियु विजयी भएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्

अब चार दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री दाहाल

‘भारत भ्रमणको टुंगो छैन’
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे । 

आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आरामले सरकारले काम गर्ने दाबी उनको छ । प्रधानमन्त्री दाहालले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जो–जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दि भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । जति भयो त्यो चाहिँ पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । अब विकास, निर्माणको कामले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए । उनले भने, ‘भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ ।’

प्रकाशित : चैत्र ६, २०७९ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×