जनकपुरको राराबमा सचिवबाहेक नेविसंघको प्यानलै निर्वाचित

सन्तोष सिंह

धनुषा — जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार मनिषकुमार यादव निर्वाचित भएका छन् ।

सभापतिमा यादवले १ हजार १४७ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्त झाले ७१५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, पाँचदलीय गठबन्धनका उम्मेदवार गौतमकुमार यादवले ११८ मत मात्र प्राप्त गरे । स्ववियुको नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको थियो । राराब क्याम्पसमा ७ हजार २ सय १५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६ सय ६२ जनाले मतदान गरेका थिए ।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित ८८ जनाले उम्मेदवारी दिएका थिए । राराबको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस-एमालेलाई केसीको प्रश्न : सरकार बनाउन तपाईँहरू तेस्रो पार्टी समात्‍न हिँड्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संसद्को पहिलो पार्टीले सरकार बनाउनुपर्ने तर उसले नसके दोस्रो पार्टीले सरकार बनाउनुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरेका छन् । पहिलो र दोस्रो पार्टीले संसद्को तेस्रो पार्टीलाई समात्दा जनतालाई के जवाफ दिने भनेर उनले प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा सांसद केसीले अहिलेको संसदीय अभ्यासले व्यवस्था नै खतरामा पर्नसक्ने आशंका व्यक्त गरे ।

'कोही नरिसाउनुस्, संसदभित्र भएको सबैभन्दा ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो कि होइन ? त्यसले नसकेपछि दोस्रो ठूलो पार्टीले गराउनुपर्ने हो कि होइन ? त्यतातिर नलागेर तपाईंहरू तेस्रो पार्टीलाई समात्न हिँड्ने ? पहिलो पार्टी पनि, दोस्रो पार्टी पनि ?,' उनले प्रश्न गरे, 'के भन्नुहुन्छ जनता र मतदातालाई ? यस्तै हुन्छ संसदीय प्रणाली भएका अरु मुलुकमा ?'

नेपालको चुनावी प्रणालीले नै कसैको पनि बहुमत आउने अवस्था नरहेको र त्यसले गर्दा अहिलेको जस्तो संसदीय सत्ताको खेल भएको केसीको भनाइ थियो । राजनीतिक दलहरूको सत्ताको खेलले लोकतन्त्र नै धरापमा परिरहेको हो कि भन्ने आशंका उनले व्यक्त गरेका थिए । उनले संसदीय प्रणालीलाई स्वीकार गरेपनि चलाउनै नसक्ने अवस्था आएको हो कि भन्ने चिन्ता व्यक्त गरे ।

जनमोर्चाले यसपटक प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको पनि केसीले जानकारी दिए । यसअघि एमाले र माओवादीबीच गठबन्धन भएर सरकार गठन भएपछि दाहालले विश्वासको मत लिँदा केसीले विपक्षमा मत हालेका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×