रौतहटको जनज्योति क्याम्पसमा नेविसंघको प्यानल विजयी

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुरस्थित बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाली कांग्रेसनिकट नेविसंघका संगम श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १ हजार ३ मतका साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशिलका राधेश्याम बैठाले १ सय ६५ मत प्राप्त गरेका छन् । उक्त क्याम्पसमा नेविसंघको प्यानल नै विजयी भएको हो । श्रेष्ठ दोस्रो कार्यकालका लागि चुनिएका छन् । राति अबेरसम्म मतगणना भएको थियो ।

स्ववियु निर्वाचनमा सचिवमा नेविस‌ंघकै मोहम्मद नौसार आलम ९ सय ६१ मत ल्याई विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकै संगीताकुमारी चौधरीले ९ सय ५२ मत ल्याई विजयी भइन् । जिल्लाको एकमात्र स्वतन्त्र विद्यार्थी युनियनको मान्यता पाएको जनज्योति बहुमुखी क्याम्पसमा सभापति पदमा नेविसंघका श्रेष्ठ, समाजवादीका आशिष लामा र प्रगतिशीलको तर्फबाट बैठा चुनावी मैदानमा थिए ।

लामाले ७५ मतमात्र पाए । निर्वाचन समितिका अनुसार कूल मतदाताको ६४.८ प्रतिशत अर्थात् १ हजार ३ सय ६ मत खसेको छ । समितिका अनुसार नेविसंघको प्यानलले जित हासिल गरेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्

प्रतितोला ७ सय घट्यो सुन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सुनको मूल्य तोलामा ७ सय घटेको छ । यस दिन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।  

आइतबार एकै दिन प्रतितोला २ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको थियो । अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा सुनचाँदीको भाउ दैनिक समायोजन हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढ्न गई माग बढेकाले मूल्य बढ्दै गएको हो ।

स्वीटजरल्याण्डको अर्को बैंकमा पनि समस्या देखिएपछि सुनको मूल्य अझ उकालो लाग्न पुग्यो । 'विश्वका प्रमुख स्टक मार्केट पनि ओरालो लागेका छन्, आर्थिक मन्दी छाउने विभिन्न रिपोर्टहरुले बताइरहेका छन् यसले गर्दा सुनप्रति लगानी बढ्दा मूल्य पनि उच्च भएको हो' उनले भने ।


प्रकाशित : चैत्र ६, २०७९ ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×