१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

विद्युत् कटौतीले वीरगन्ज आईसीपी प्रभावित

पर्सा — देशकै प्रमुख नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) परिसर डेढ महिनायता विद्युत् कटौतीले प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक महिनाअघि चौकी परिसरमा आपूर्ति भएको विद्युत्को लाइन औद्योगिक फिडरतर्फ जोडेपछि समस्या देखिएको आईसीपी सञ्चालक इन्टरमोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

विद्युत् कटौतीले वीरगन्ज आईसीपी प्रभावित

‘प्राधिकरणले अचानक आईसीपीको विद्युत् लाइन बिन्दवासिनी औद्योगिक फिडरमा जोडिदियो,’ उनले भने, ‘एक महिनायता राति ८ देखि बिहान ८ बजेसम्म नियमित लोडसेडिङ भइरहेको छ ।’ आईसीपीको ट्रान्सफर १२५० केभिएको भए पनि हाल विद्युत् खपत २८० केभिए मात्र हुँदा पनि लोडसेडिङको समयमा विद्युत् आपूर्ति गर्न हम्मे परेको उनले बताए । ‘हामीसँग हाल १ सय र ३८० केभिएको गरी २ वटा जेनरेटर छ, लोडसेडिङको समयमा १ सय केभिएको जेनरेटर चलाउँदा त्यसले धान्न सक्दैन, त्यसैले ३८० केभिएको जेनेरेटर चलाउनुपरेको छ,’ उनले भने, ‘यो जेनेरेटरले प्रतिघण्टा २५ देखि ४० लिटरसम्म र मासिक ३ हजारदेखि ३ हजार ५ सय लिटरसम्म डिजेल खपत गरिरहेको छ, महँगो डिजेल खरिद गरेर रातभरि जेनेरेटर चलाउन सक्ने अवस्था पनि छैन ।’

राति १ देखि २ बजेसम्म जेनेरेटर चलाएर त्यसपछि बन्द गर्ने गरिएको र त्यस अवधिमा आईसीपी परिसर अन्धकार रहने गरेको ज्ञवाली बताउँछन् । ‘सुरक्षाको हिसाबले अध्यारोमा अत्यन्त समस्या हुने गरेको छ । आईसीपी परिसरमा हाल पनि नयाँ र मालवाहक गरी २ हजार ५ सयभन्दा बढी सवारीसाधन छन्,’ उनले भने, ‘सुरक्षाको हिसाबले चुनौती हुन्छ ।’ यसबाहेक लामो समय विद्युत् कटौती हुँदा क्वारेन्टाइन ल्याबका केमिकल पनि बिग्रन सक्ने उनले बताए । समस्या समाधानका लागि आफूले प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा आग्रह गरे पनि केन्द्रबाट यो समस्या प्राधिकरणको उपल्लो निकायबाट मात्र समाधान हुने जवाफ पाइएको ज्ञवालीले बताए ।


प्रकाशित : चैत्र ६, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?