गाँजा नियन्त्रणमा लिने क्रममा एक राउण्ड हवाई फायर


राजविराज — सप्तरी प्रहरीले गोबरगाढाबाट १ सय ८४ किलो गाँजा नियन्त्रणमा लिएको छ । शनिबार राति हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाको छतौनीबाट घोडामा राखेर भारततर्फ लगिरहेको अवस्थामा १ सय ८४ किलो गाँजा नियन्त्रणमा लिइएको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलीलाई देखेपछि तस्करहरु घोडा र गाँजा छाडी फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको गाँजा कार्यालयतर्फ ल्याउने क्रममा केही व्यक्तिहरु समूह नै बनाएर प्रहरीबाट गाँजा खोस्ने प्रयास गरेको थियो ।
भीडलाई तितरवितर पार्न प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि सो समूह भागेको डिएसपी सिंहले बताए । प्रहरीले गाँजा तस्करको खोजी गरिरहेको जनाएको छ ।
प्रकाशित : चैत्र ५, २०७९ १७:३५