गुठी जग्गा संरक्षणको माग - मधेस - कान्तिपुर समाचार

गुठी जग्गा संरक्षणको माग 

श्यामसुन्दर शशि

जनकपुर — इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले गुठीका अधिनस्थ जग्गा सामाजिक उपभोगमा ल्याउनु पर्ने माग गरेको छ । 

केन्द्रीय अध्यक्ष बद्रीनारायण ठाकुरको नेतृत्वमा गएको टोलीले आइतबार जनकपुरधामस्थित गुठी संस्थान शाखा कार्यालयलाई गुठी जग्गा अतिक्रमणमुक्त गर्न ध्यानाकर्षण गराएको हो । गत भदौ १२ गते उक्त पार्टीले गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा सात बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा उठाइएका सवालहरु सम्बोधन नगरिएकोले आइतबार पुनर्ताजगीपत्र बुझाइएको अध्यक्ष ठाकुरले बताए ।

गुठी संस्थानको सम्पत्ति दिनदिनै बिक्री वितरण तथा अतिक्रमणमा पर्दै गए पनि सरोकारवाला निकाय मौन रहेको भन्दै इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले विरोध कार्यक्रमसमेत सार्वजनिक गरेको छ । घोषित कार्यक्रममा ज्ञापनपत्र बुझाउने, रिले धर्ना, रिले अनसन, पूर्णकालीन अनसन तथा कार्यालयमा तालाबन्दी गर्नेलगायत छन् ।

भदौ १२ गते गुठी केन्द्रिय कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा गुठी संस्थानको जग्गा यकिन गरी समाजका गरिब, विपन्न, दलित, सुकुम्बासीलगायत घरबास नभएकाहरुलाई वितरण गर्नुपर्ने तथा जग्गा उपभोग गरेबापत कानुनअनुसार गुठी संस्थानलाई कूतबाली बुझाइने उल्लेख छ ।

प्रकाशित : चैत्र ५, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक संसद्‍मा दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरू मिलेर संघीय संसद्‍मा गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले संयुक्त रूपमा गैरसरकारी विधेयक दर्ता गराएका हुन् । 

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक आइतबार दर्ता भएको जानकारी दिएका छन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले संयुक्त रुपमा गैरसरकारी विधेयक दर्ता गरेका हुन् । अछामी माओवादी केन्द्र, दाहाल एमाले, पन्थ कांग्रेस, भुसाल एकीकृत समाजवादी, प्रमिला कुमारी जनता समाजवादी पार्टी र सिंह लोकतान्त्रिक समाजवादी पार्टीका सांसद हुन् ।

सहायक प्रवक्ता धमलाका अनुसार उक्त गैरसरकारी विधेयकमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समावेश भएका छन् ।

विधेयक प्रस्तुतकर्ता सांसदहरूको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएका हुन् ।

प्रकाशित : चैत्र ५, २०७९ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×