अनुमति नलिई निस्केका कैदी दुर्घटनामा- मधेस - कान्तिपुर समाचार

अनुमति नलिई निस्केका कैदी दुर्घटनामा

शिव पुरी

रौतहट — लागूऔषध कारोबारको आरोपमा अदालतबाट सजाय पाएर कारागारमा रहेका एक कैदी प्रहरीले बाहिर लैजाने क्रममा दुर्घटनामा परेका छन् । ती कैदीलाई कारागारमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) ले होलीका बेला सुटुक्क बाहिर लगेका थिए ।

हाल घाइते कैदीको बारास्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनापछि प्रशासनले छानबिन थालेको छ ।

बारा भटियानीका कैदी पवन यादवलाई रौतहट कारागारमा कार्यरत सई तेजीलाल यादवले गत फागुन २३ मा घर लैजाने क्रममा लौकाहानजिक मोटरसाइकल दुर्घटना भएको थियो । कैदी यादवको टाउकोमा चोट लागेको छ । उनको उपचार भइरहेको कारागारका जेलर शम्भु यादवले बताए । ‘सईले कैदीलाई सुटुक्क लगे । दुर्घटनापछि मात्र थाहा पाएँ,’ उनले भने, ‘यसमा मेरो कुनै दोष छैन ।’ सई तेजीलाललाई सामान्य मात्र चोटपटक लागेको छ । १३ वर्षअघि काठमाडौंमा पक्राउ परेका यादवलाई रौतहट जिल्ला अदालतबाट १५ वर्षको कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । उनले झन्डै साढे १३ वर्ष जेल सजाय काटिसकेका छन् । उनी काठमाडौं, सिन्धुली हुँदै रौतहट कारागार आएको दुई वर्ष मात्र भएको जेलर यादवले बताए ।

कारागार स्रोतका अनुसार सई तेजीलाल होली मनाउन बारास्थित घर जाँदै थिए । सोही बेला कैदी पवनलाई उनले साथै लगे । पवन कैदी (चौकीदार) नाइके हुन् । उनलाई एक वर्षअघि मात्र कारागार प्रशासनले नाइके बनाएको थियो । नाइकेले अरू कैदीभन्दा केही सुविधा पाउँछन् । यसैको फाइदा उठाउँदै सई तेजीलालले उनलाई जिल्ला बाहिर लगेका हुन् । नाइकेको नजिक घर छ र परिवारमा कसैको मृत्यु भयो भने थोरै समय सुरक्षाकर्मीको साथ लागेर पठाइने गरिन्छ । तर, जिल्ला बाहिर जान पाउँदैनन् । घर जान लागेका नाइके पवनले कारागार प्रशासन र प्रमुख जिल्ला अधिकारी कसैको आदेश पाएका थिएनन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैदी पवन जिल्ला बाहिर गएको बेला दुर्घटनामा परेको पुष्टि गरे । उनले घटनाबारे छानबिन अघि बढेको बताए । प्रशासनले प्रशासकीय अधिकृत मनिभूषण साहको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । सई तेजीलाल हालसम्म निलम्बनमा परेका छैनन् । उनले जेलरको अनुमति लिएको होला भनी कैदी पवनलाई लगेको स्विकारे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवले सईसँग स्पष्टीकरण लिइएको र दोषी देखिए निलम्बन र कारबाही गर्ने बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

जनता आवासलाई महँगीको मार

कोरोनाकालपछि निर्माण सामग्रीको मूल्य बढ्दा लक्ष्यअनुसार घर निर्माण भएनन्
शंकर आचार्य

पर्सा — निर्माण सामग्री महँगिएपछि जनता आवास कार्यक्रम मारमा परेको छ । कोरोनाकालपछि बढेको निर्माण सामग्रीको मूल्यले सीमित बजेटमा जनता आवास बनाउन समस्या परेको हो । 

सहरी विकास तथा भवन निर्माण कार्यालयले वीरगन्जले आर्थिक वर्ष २०७४/७४ देखि आव २०७८/७९ सम्म पर्सा, बारा र रौतहटमा कुल ६ हजार जनता आवास निर्माण गर्नुपर्नेमा हालसम्म ६० प्रतिशतभन्दा पनि कम ३ हजार ४ सय ४४ आवास मात्र निर्माण भएका छन् । कार्यालय प्रमुख मदन रायले पर्सामा १ हजार ७ सय ११ मध्ये १ हजार १ सय ९४, बारामा १ हजार ९ सय ३९ आवासमध्ये १ हजार ५० र रौतहटमा २ हजार ३ सय ५० मध्ये १ हजार २ सय आवास मात्र निर्माण भएको जानकारी दिए । ‘बजेट न्यून छ, निर्माण सामग्रीको मूल्य अकासिएको छ,’ प्रमुख रायले भने, ‘कार्यक्रम सुरु गर्दा ५ वर्षअघिको इस्टिमेटअनुसार भवन निर्माणका लागि बजेट प्राप्त हुने गरेको थियो । हाल निर्माण सामग्रीको मूल्य दोब्बरले बढ्दा आवास निर्माणका लागि पुरानै लागतअनुसारको बजेट प्राप्त हुने गरेकाले गाह्रो भएको छ ।’

एउटा आवास निर्माणका लागि ३ लाख ५० हजार रुपैयाँ बजेट आउने गरेको उनले बताए । त्यसमध्ये ३ लाख ३६ हजार रुपैयाँ आवास निर्माणका लागि निकासा हुन्छ भने बाँकी घरधनीले श्रमदान गर्नुपर्छ । महँगी बढेकै कारण विगतमा आवासमा १ नम्बर इँट्टा प्रयोग हुने गरेकामा हाल २ नम्बर प्रयोग गरिएको उनले बताए । महँगी बढेकै कारण आव २०९९/७९ देखि जनता आवासबाट शौचालय हटाइएको उनले बताए । आर्थिक वर्ष २०७३/७४ मा जनता आवास कार्यक्रम सुरु हुँदा यो कार्यक्रम संघीय सरकार मातहत थियो । मुलुक संघीयतामा गएसँगै आव २०७५/७६ बाट जनता आवास प्रदेश सरकार मातहतमा आयो । अर्थिक वर्ष २०७६/७७ मा पर्सा, बारा र रौतहटमा यो कार्यक्रमको बजेट २५ करोड ५० लाख रुपैयाँ रहेकोमा ६३ लाख ७१ हजार रुपैयाँ मात्र खर्च भएको छ । बाँकी रकम फ्रिज भयो । आव २०७७/७८ मा तीनवटै जिल्लामा गरी २३ करोड ६० लाख २० हजार रुपैयाँ बजेट रहेकोमा १ करोड ३७ लाख ५५ हजार रुपैयाँ खर्च नै नभई फ्रिज भएको थियो ।

सरकारले दलित वर्गको आवास निर्माणका लागि ल्याएको यो कार्यक्रमअन्तर्गत छनोट भएका सेवाग्राहीले तीन किस्तामा रकम पाउँछन् । कुल ३ लाख ५० हजार रुपैयाँमध्ये ४ प्रतिशत कन्टिजेन्सी काटेर ३ लाख ३६ हजार रुपैयाँ उनीहरूले आवास निर्माण प्रयोजनका लागि पाउँछन् । पहिलो किस्तामा जग बनाएपछि ३५ प्रतिशत, दोस्रो किस्तामा झ्यालसम्म बनाएपछि ५० प्रतिशत र तेस्रो किस्तामा पुरै घर बनाएपछि बाँकी १५ प्रतिशत रकम पाउँछन् । कार्यक्रम सुरु गर्दा संघीय सरकारले जनता आवास कार्यक्रम निर्देशिका ल्याएको थियो । यो निर्देशिकाका कारण पनि समस्या भइरहेको छ ।

कार्यक्रमअन्तर्गत दलित/विपन्नको आवास बनाउने लक्ष्य राखिएको छ तर काम सुरु गर्न यो वर्गसँग पर्याप्त आर्थिक स्रोत हुँदैन । लक्षित वर्गले सुरुमा आफ्नो रकम लगानी गरेर आवास निर्माणको काम सुरु गर्न सक्दैनन् । घरको काम सुरु नगरी कार्यालयले उनीहरूलाई पैसा दिँदैन । कार्यालय प्रमुख रायले पर्सामा ३ सय ३६, बारामा ७ सय ४६ र रौतहटमा १ हजार १ सय १० आवास निर्माणको अन्तिम चरणमा रहेको बताए । ‘तीन वटै जिल्लामा यति संख्यामा आवास निर्माणको अन्तिम चरणमा छन्,’ उनले भने, ‘२/३ महिनाभित्रै निर्माण सम्पन्न भई हस्तान्तरण हुन्छ ।’ चालु आर्थिक वर्षका लागि जनता आवास कार्यक्रमको बजेट नरहेको पनि उनले बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×