विद्युत् कर्मचारी मौलापुर कार्यालय फर्केनन्- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् कर्मचारी मौलापुर कार्यालय फर्केनन्

शिव पुरी

रौतहट — कर्मचारीमाथि दुर्व्यवहार भएपछि सुरक्षाको कारण जनाउँदै रौतहटको मौलापुर नगरपालिका–५ स्थित पतौरामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र कर्मचारीविहीन बनेको छ ।

सबै कर्मचारीले जिल्ला छाडेपछि गत फागुन ६ गतेदेखि कार्यालय बन्द छ । अहिले करारका कर्मचारी र सुरक्षा गार्डले विद्युत् सुचारु गरिरहेका छन् । अन्य सेवा ठप्प छ ।

दुर्व्यवहार गर्नेहरू पक्राउ परेपछि मात्र कार्यालय जाने कर्मचारीको अडान छ । मिटर जडान नगरी हुकिङ गरेर मधानी मेलामा लाइन जोड्न दबाब दिएपछि अस्वीकार गरेका मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीमाथि कुटपिट र दुर्व्यवहार भएको थियो । घटनालगत्तै तत्कालीन प्रमुख अरुणकुमार साहलगायत २२ जना कर्मचारीले कार्यालय छाडेका हुन् । उनीहरूले ज्यानको सुरक्षा नभएको भन्दै सामुहिक रुपमा मौलापुरबाट अन्यत्र सरुवाको मागसहित प्राधिकरणको प्रदेश कार्यालय जनकपुरमा निवेदन दिएका छन् । पतौरामा गत फागुन ५ गते लागेको मधानी महायज्ञ मेलामा पोलबाट सिधै हुकिङ गरी बिजुली जोड्न आमजनता पार्टीका नेता त्रिभुवन साह (अमनलाल साह) र धीरज पाण्डेसहित २५/३० जनाको समूह वितरण केन्द्रमा दवाव दिएन पुगेका थिए । सहायक इन्जिनियर चौधरीलाई कार्यालय परिसरमा कुटपिट गरी अपहरण शैलीमा गाडीमा राखेर मेलामा लगेर अनियमित तरिकाले लाइन जोड्न लगाएको कर्मचारीको आरोप छ ।

कर्मचारी हिँडेपछि विद्युत् सप्लाई बाहेकका सबै सेवा बन्द छ । करारका कर्मचारी र सुरक्षा गार्डबाहेक कोही नरहेको विरतण केन्द्र प्रमुख दिनेश यादवले बताए । ‘कर्मचारीमाथि भएको दुर्व्यवहारको घटना प्रहरीमा मुद्दा दर्ता भए पनि संलग्न पक्राउ परेको छैन्,’ उनले भने, ‘पीडित कर्मचारीले आरोपित पक्राउ परेपछि मात्र जिल्ला फर्किने भनेका छन् । यस विषयमा छलफल हुँदै छ ।’ भर्खरै सरुवा भएका प्रमुख यादवसमेत हाजिर हुन जान सकेका छैनन् । यही घटनापछि वितरण केन्द्र प्रमुख अरुणकुमार साहको अन्यत्र सरुवा गरिएका छन् । मौलापुर केन्द्रमा कुनै हालतमा नजाने भनेपछि साहलाई अन्यत्र सरुवा गरिएका हुन् ।

घटनापछि तत्कालीन प्रमुख साहले फागुन ८ गते घटनामा संलग्न व्यक्तिलाई अपहरणसम्बन्धी कसुर गरेकाले सजायको मागसहित जिल्ला प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिएका थिए । साहले प्रमाणको रूपमा घटना भएको समयको सीसीटीभी फुटेजसमेत प्रहरीमा पेस गरेका छन् । प्राधिकरणले दिएको निवेदन जिल्ला प्रहरीले दर्ता गर्न मानेन् । उसले अभद्र व्यवहारको निवेदन ल्याउन भनेपछि प्राधिकरणले अर्को पेस गरेको थियो । त्यसपछि फागुन २१ गते प्रहरीले आरोपित साह र पाण्डेविरुद्ध अभद्र व्यवहार र कुटपिटको मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले प्राधिकरणका कर्मचारीमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनाको मुद्दा दर्ता भइसकेको पुष्टि गरे ।

‘घटनामा संलग्न भनिएकाहरू फरार छन्,’ उनले भने, ‘फरारको खोजी भइरहेको छ । चाँडै पक्राउ पर्छन् ।’ राजनीतिक पहुँचको भरमा मुद्दालाई ओझेलमा पार्ने र दर्ता गर्न नचाहेको भन्दै कर्मचारीले आपत्ति जनाउँदै आएका थिए । एसपी बुढामगरले मौलापुरको घटनामा अपहरणको मुद्दा चलाउन नसक्ने बताए । प्रहरीले दोषीलाई पक्रेर कारबाही गर्न नसकेपछि कर्मचारी त्रासमा छन् । मौलापुरको धार्मिक आस्थासित जोडिएको मधानी महायज्ञ मेलाका लागि लाइन जोड्न भन्दै पुगेका साह र पाण्डेसहित व्यक्तिले वितरण केन्द्र प्रवेश गरी गुन्डागर्दी शैलीमा कुटपिट गरेर धकेल्दै गाडीमा राखेर नियमविपरीत हुकिङ गराएर लाइन जोड्न लगाएको सहायक इन्जिनियर चौधरीको आरोप छ ।

प्रकाशित : चैत्र ३, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय

विनोद भण्डारी

विराटनगर — सीमावर्ती विराटनगरको महाभारतकालीन विराट् राजाको दरबार रहेको क्षेत्र मानिएको भेडियारीमा नेपाली सेनाले संग्रहालय निर्माण गरेर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

विराटनगर महानगरपालिकाले यसलाई भारतको विहारस्थित पूर्णियासम्म निर्मित महाभारत सर्किटसँगै नेपालका धार्मिक क्षेत्रलाई जोड्ने गुरुयोजनासाथ संरक्षण र पुनर्निर्माणको कामसमेत अघि बढाउने तयारी गरेको छ । त्यसका लागि महानगरले चालु वर्षमा उक्त क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ । पहिले त्यस क्षेत्रमा भेटिएका विभिन्न पुरातात्त्विक महत्त्वका वस्तु स्थानीयले संरक्षण गरिराखेका थिए । तर पछिल्लो समय सेनाको पहलमा भौतिक पूर्वाधारसहितको संरचना तयार भएपछि संग्रहालय सञ्चालन गर्ने उद्देश्यका साथ विराटनगर महानगरलाई जिम्मा दिइएको हो ।

विराटनगर–१८ भेडियारीमा सेनाको पहलमा भैरव गण मोरङले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वर्द्धन गर्ने उद्देश्यले १९ लाख ७६ हजार रुपैयाँको लागत एवं सैनिकहरूको श्रमदानमा संग्रहालय निर्माण गरिएको जनाइएको छ । संग्रहालयमा विराट् राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुँडा, सामग्री एवं मुद्राहरू राखिएका छन् । भेडियारीको ८ बिघा ३ कट्ठा १७ धुर क्षेत्रफलमा दरबार क्षेत्र फैलिएको छ । यसलाई राजा विराट्को राजधानी तथा मत्स्य देशको नामले चिन्ने गरिएको किंवदन्ती छ । पाँच पाण्डव र द्रौपदीले गुप्तवासको समयमा नाम परिवर्तन गरी विराट् राजाको दरबारमा लुकेर बसेको किंवदन्ती छ ।

यो क्षेत्रलाई स्थानीय तह र स्थानीयवासीले विभिन्न कालखण्डबाट संरक्षण गर्दै आएका थिए । विराटनगर महानगका प्रमुख नागेश कोइरालाका अनुसार भारत सरकारले नजिककैको विहारस्थित पूर्णियासम्मको क्षेत्रलाई महाभारत सर्किटमा समेटेको छ । यतातिरको विराट् दरबार क्षेत्रको किचकबध, अर्जुनधारालगायत ठाउँलाई त्यो सर्किटमा जोड्न सके विराटनगरसहित कोशी प्रदेशकै धार्मिक पर्यटनको ठूलो सम्भावना बढ्ने छ ।

सर्किट निर्माणसँगै उक्त दरबार क्षेत्रमा महाभारतकालको वस्तुस्थिति झल्कने गरी भेडियारी संरक्षण तथा दरबार पुनर्निर्माणको योजनासाथ काम गरिरहेको उनले बताए । कोइरालाका अनुसार दरबार क्षेत्रमा लुम्बिनीकै मोडलमा काम गर्न सकिने थप सम्भाव्यता बारे पनि अध्ययन भइरहेको छ । उनले विराटनगरको उक्त प्राचीन एवं ऐतिहासिक दक्षिणी क्षेत्रको विकासलाई महानगरले उच्च प्राथमिकतामा राखेको बताउँदै दरबार क्षेत्रमा मात्र पर्ने एक बिघा १० धुर जग्गाको संरक्षण गर्न दत्तचित्त भएर लागेको बताए । ‘चालु आवमा उक्त क्षेत्रको विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘व्यक्तिसँग भएका पुरातात्त्विक वस्तु पनि महानगरको स्वामित्वमा ल्याउन पहल गर्दैछौं ।’

२०२७ सालमा पुरातत्त्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेका ४० वटा पञ्चमार्क नामक चाँदीको मुद्रा फेला पारेको थियो । योबाहेक स्थानीयले सुराही, भाँडावर्तन, गहनालगायत वस्तु फेला पारेका थिए । दरबार खोज तथा संरक्षण समितिको नाममा फेला परेका सामग्री स्थानीय कमलकिशोर यादवले राखेका छन् । उनले ती सामग्री संग्रहालयलाई हस्तान्तरण गर्न बाँकी छ । उनले आफूले वर्षौंदेखि बहुमूल्य सम्पदा एवं सामग्रीको संरक्षण गरेर राखेको हुनाले महानगरले उचित रकम वा पारितोषिक दिनुपर्ने माग गरेका छन् ।

‘पहरेदार र संरक्षण भएर काम गरेको छु, फिर्ता गर्न रकम वा पारितोषिक लिनु मेरो हक हो,’ उनले भने । १८ नम्बर वडा कार्यालयका अनुसार उनले पर्यटकलाई ती सामान देखाएर व्यापार गर्दै आएका छन् । वडाअध्यक्ष जितेन्द्रकुमार साहले पनि यादवले यस क्षेत्रका पुराना र पुरातात्त्विक महत्त्वका सामान महानगरलाई दिनै नमानेको बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×