विभेद गरिएको भन्दै दलित आन्दोलित- मधेस - कान्तिपुर समाचार

विभेद गरिएको भन्दै दलित आन्दोलित

महायज्ञका लागि सहयोग गर्न तयार भए पनि ‘अछुत’ भन्दै पाखा लगाइएको आरोप
शंकर आचार्य

पर्सा — कथित उपल्लो जातले महायज्ञको बेदीमा बस्न नदिन प्रपञ्च गरिरहेको भन्दै वीरगन्ज–१७ अलौंका दलित समुदाय आन्दोलित बनेको छ । वीरगन्जमा र्‍याली निकाल्दै उनीहरूले सहभागिताका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । 

गाउँमा चैत ८ देखि १६ सम्म ९ दिने सतचण्डी महायज्ञ आयोजन हुँदै छ । स्थानीयले सामूहिक रूपमा तथा चन्दा संकलन गरी महायज्ञ आयोजना गरेका हुन् । आयोजक समितिमा सहभागी नगराइएको र महायज्ञको बेदीमा बस्न नदिने थाहा पाएपछि संघर्षमा उत्रिनुपरेको दलित अगुवा खुबलाल महराले बताए । २०५७ सालमा पनि महायज्ञ आयोजन गर्दा विभेद गरिएको उनको भनाइ छ ।

‘सुरुमा महायज्ञ आयोजना गर्ने तयारी भएपछि हामीसँग राम्रैसँग छलफल गरियो । आयोजक समितिमा पनि हाम्रो प्रतिनिधित्व गराउने बताइयो तर पछि राखिएन,’ उनले भने, ‘हामी दलित पनि महायज्ञको बेदीमा बस्न इच्छुक छौं । २/३ जनालाई भए पनि बेदीमा बस्न दिनुपर्‍यो भनी माग गर्दा समाज र पुरोहितसँग छलफल गर्नुपर्छ भनेर टारियो ।’

अर्का स्थानीय उमाशंकर रामले आफूहरू हिन्दु भएको र महायज्ञमा आर्थिक तथा शारीरिक रूपले सहयोग गर्न तयार भए पनि ‘अछूत’ भन्दै पाखा लगाइएको बताए । ‘के हामी हिन्दु होइनौं ?’ उनले प्रश्न गरे, ‘कि उहाँहरूको भगवान् र हाम्रो भगवान् फरक हुन् ?’ ३५ सदस्यीय महायज्ञ आयोजक समितिमा एक जना पनि दलितको सहभागिता नहुनुले अपमान र विभेद महसुस गरेको उनले बताए । उनका अनुसार टोलका १ सय ३ घरधुरीमा ८ पासवान र बाँकी सबै घरधुरी चमार छन् ।

महायज्ञ आयोजक मूल समितिका संयोजक रमेश चौधरीले दलित समुदायले आरोप लगाएजस्तो भेदभाव र छुवाछूत नगरिएको जिकिर गरे । शनिबार यज्ञका लागि ध्वजा गाड्दा दलित र गैरदलित दुवै समुदायको प्रत्यक्ष सहभागिता रहेको उनले बताए । ‘हनुमानजीको ध्वजा गाड्दा दलित समुदायले पनि ध्वजामा समान रूपमा हात लगाएका छन्,’ उनले भने, ‘हामीले टीका र रक्षाबन्धन सँगै लगायौं, प्रसाद पनि सँगै खायौं । बेदीमा दलित समुदायलाई बस्नमा पनि हामीले रोक लगाएका छैनौं ।’

आफू सधैं छुवाछूत र विभेदको विरुद्धमा उभिने गरेको भन्दै उनले बताए । आयोजक समितिमा सुरुमा २ सय ७० जनाको नाम रहेको र एक सातापछि अन्तिम बैठकमा दलित समुदायका अगुवा नआएको उनको भनाइ छ । महायज्ञको ध्वजा गाड्ने दिन सहनाई बजाउन चमार पुरुषलाई बोलाइएकामा उनीहरू आफैं नआएको चौधरीले दाबी गरे ।

वडा नं १७ का अध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले महायज्ञ सामाजिक काम भएको र गाउँका सबै जातजाति समुदायको समान सहभागिता रहेको बताए । ‘व्यक्तिगत रूपमा मेरा लागि सबै बराबर हुन्, विभेद र छुवाछूत हुने कुरा कल्पना पनि गर्न सक्दिनँ,’ उनले भने, ‘समस्या समाधानका लागि २/३ चरणमा कुरा भइसकेको छ, मैले चन्दा उठाउन र महायज्ञको तयारीमा सहभागिता जनाउन दलित समुदायलाई पनि आग्रह गर्दै आएको छु ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जिल्ला प्रशासन कार्यालयबाट तोक लागेर ठाडो निवेदन आफ्नो कार्यालयमा आइपुगेको जानकारी दिए । उनले भने, ‘हामीले दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं, विवाद समाधानको प्रयास भइरहेको छ ।’

प्रकाशित : चैत्र २, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

शल्यक्रियाबाट जन्मिएको छावा पाउडर दूधको भरमा

रमेशकुमार पौडेल

चितवन — जन्मेको साता बिते पनि छावा (हात्तीको बच्चा) निकै चुलबुले छ । घरी यता घरी उता गरिरहने यो छावा आमाको छेउ पर्नै खोज्दैन । भोक लागे दूध चुस्नका लागि मान्छेलाई पछ्याउँछ । पछुवा (हात्तीको सुसारे) उमाशंकर चौधरी पाउडर दूध घोलेर तयार पार्छन् र एक लिटरका दरले दुई घण्टा फरकमा छावालाई पिलाउँछन् । दूध खाएपछि छावा अलि बेर परालको आड लागेर सुस्ताउँछ ।

सौराहानजिक खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रकी पोथी हात्ती गण्डकीकलीको भाले बच्चा हो यो छावा । गएको बुधबार फागुन २४ गते दिउँसो खोरसोरमा पशु चिकित्सकले एउटा दुर्लभ शल्यक्रिया गरे ।

पशु उपचार क्षेत्रमा हात्तीको शल्यक्रिया गरेर बच्चा बाहिर निकालेको घटना खासै सुनिँदैन । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका पशु चिकित्सक तथा प्राविधिकले शल्यक्रिया गरी माउ र बच्चा बचाए ।

‘सुत्केरी बेथा लागेको दुई दिन हुँदा पनि बच्चा जन्मन सकेन, त्यसैले माउ बचाउनै भए पनि शल्यक्रिया गरेका थियौं,’ चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भने । उनका अनुसार फागुन २३ गते मंगलबार बिहान गण्डकीकलीलाई सुत्केरी बेथा लागेको थियो ।

भोलिपल्ट पनि माउले बल गर्‍यो तर बच्चा निस्किन सकेन । भिडियो एक्सरेमा हेर्दा बच्चा अड्केको निश्चित भएपछि शल्यक्रिया गर्ने निधो भयो । श्रेष्ठसहित प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौला र विकल्प कार्की तथा कोष र निकुञ्जका पशु स्वास्थ्य प्राविधिक किरणराज रिजाल र दिनेश ढकालले फागुन २४ गते झन्डै तीन घण्टा लगाएर हात्तीको शल्यक्रिया गरेका थिए ।

सौराहमै रहेका विदेशी पशुचिकित्सक डाक्टर निक मास्टर्सले सहयोग गरेका थिए । ‘हात्तीको पछाडिको भाग झन्डै एक फिट जति चिरेर हामीले बच्चा बाहिर निकालेका हौं,’ डा. श्रेष्ठले भने, ‘बाहिर आउँदा बच्चाको मुटुको चाल थिएन । कृत्रिम तरिकाले सुँडबाट श्वास दिएपछि दुई/तीन मिनेटपछि मुटु धड्कियो ।’

गण्डकीकलीलाई तीन वर्षअघि पनि बच्चा जन्माउन गाह्रो भएर मान्छेले बल लगाउँदा छावा बच्न सकेको थिएन ।यो पटक कम्तिमा माउलाई बचाउन शल्यक्रिया गरिएको डा. श्रेष्ठले बताए ।

‘जहाँ चिर्न पर्ने हो त्यही भागमा मात्र लठ्याएर चिरेको हो,’ पछाडि चिर्दा कुनै पनि ठूला भित्री अंगलाई असर नपर्ने उल्लेख गर्दै श्रेष्ठले भने, ‘घाउ पनि निको हुने सम्भावना रहन्छ । त्यही भएर हामीले यस्तो निर्णय लिएका हौं ।’

हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माएको नेपालमा खासै जानकारी नआएको डा.अमिर सडौला बताउँछन् । खोरसोर हात्ती प्रजनन केन्द्रका कर्मचारीले शल्यक्रिया गरेको घाउ दैनिक चार पटक सफा गर्ने गरेका छन् । स्वास्थ्य प्राविधिक टोली मल्हमपट्टी गर्छन् ।

हात्तीको घाउ सुक्दै गएको छ । बच्चा फुर्तिलो र स्वस्थ छ । माउले आहार लिइरहेको छ । सुत्केरी हात्तीलाई सात किलो चामल भेलीमा पकाएर खीरजस्तो बनाएर पोसिलो खान्की दिने गरिएको छ ।

प्रकाशित : चैत्र २, २०७९ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×