१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

इट्टा उद्योगको पर्खाल भत्किँदा ६ मजदुर घाइते

भरत जर्घामगर

सिरहा — इट्टा उद्योगको पर्खाल भत्किँदा च्यापिएर सिरहामा शनिबार ६ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार सिरहाको गोलबजार नगरपालिका–५ स्थित माँ धमिनी इट्टा उद्योगको गोलभित्र रहेको पर्खाल भत्किएर च्यापिँदा उद्योगमा कार्यरत ६ जना मजदुर घाइते भएका हुन् ।

उद्योगमा कार्यरत मजदुर गोलबजारका ४२ वर्षीय राम विलास सदाय, ३९ वर्षीय देविया, १६ वर्षीय चन्दन, २२ वर्षीय मोदिया, विजय र नरहा गाउँपालिकाका जयनाथ सदा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइतेमध्ये जयनाथको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको गोलबजारस्थित लाइफ लङ क्लिनिकमा उपचार भइरहेको छ ।

काँचो इट्टा पकाउने गोलभित्र रहेको पर्खाल पुरानो र जीर्ण भएका कारण भत्किएको हुन सक्ने अनुमान गरिएको छ । गोलबजार क्षेत्र आसपासमा दुई दर्जनभन्दा बढी इट्टा उद्योग सञ्चालित छन् ।

माँ धमिनी इट्टा उद्योगका संचालक देव प्रसाद श्रेष्ठले घाइते मजदुरहरुको सम्पूर्ण खर्च आफूले बेहोर्ने बताए । इलाका प्रहरी कार्यालय गोलबजारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?