रौतहटमा कुटपिट र चक्कु प्रहारबाट दुईको मृत्यु 

शिव पुरी

रौतहट — रौतहट जिल्ला राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । 

राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनायो । त्यस्तै जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधरामका ४१ वर्षीय नरेश महतोको चक्कु प्रहारबाट मृत्यु भएको छ । पथराबुधराम टोलमा यही बिहीबार दिउँसो मदिरा सेवन गरेर स्थानीय सञ्जय महतो र नरेशबीच विवाद भएको थियो । विवादबीच सञ्जयले नरेशमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते नरेशको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरंगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । ढिलागरी सूचना प्राप्त भएको भन्दै प्रहरीले दुवै घटना अहिलेसम्म सार्वजनिक गरेको छैन ।

मौलापुर घटनामा संलग्न रहेको आरोपमा आरोपित सञ्जयसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए । ‘हामीलाई घटनाबारे पीडितले ढिला गरी जानकारी गराएकाले समस्या भएको हो,’ उनले भने, ‘राजदेवीको कुटपिटको घटनामा ढिला गरी सूचना दिएकाले कोही पक्राउ परेको छैन् । हामी चाँडै संलग्नलाई पक्रेर कारबाही गर्छौं । मौलापुरको घटनामा केही मानिस पक्राउ परिसकेका छन् ।’ जिल्ला प्रहरीमा मौलापुर र राजदेवी घटनाका किटानी जाहेरी परिसकेको जनायो ।

राजदेवी घटनामा मृतक परिवारका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादव सहितका तीन जनाको समूहले गजेन्द्र दासलाई कुटपिट गरेका थिए । घटनापछि यादव सहितका समूह फरार छन् । कुटपिटबाट सख्त घाइते दासको यही बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनायो । दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीलाई खबर गरेका थिए । एसपी बुढा मगरका अनुसार दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीकहाँ खबर आयो । त्यसपछि प्रहरी पुगेर अनुसन्धानको क्रममा सोधपुछ थालेको हो ।

परिवारजनले बुधबार साँझ कुटपिट भएको प्रहरीसमक्ष बताएको छ । ‘दुई दिनसम्म प्रहरीलाई खबर नै गरेनन् । उपचारका लागि पनि कतै लगेनन्,' एसपी बुढामगरले भने, ‘ढिला खबर गरेकाले संलग्नहरु सबै भागेका छन् । यो घटनामा कोको संलग्न छ भन्ने चाँडै खुल्छ । दोषी उम्कन पाउँदैनन् ।’ प्रहरीले दुवै घटना अनुसन्धान गरिरहेको जनायो । सामान्य विवादकै कारण दुवै घटनामा कुटपिट र चक्कु प्रहार भएको पाइएको प्रहरीको भनाइ छ ।


प्रकाशित : फाल्गुन २७, २०७९ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?