कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
स्ववियु निर्वाचन

ठाकुरराम क्याम्पसमा विवादसँगै आगजनी

शंकर आचार्य

पर्सा — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रबार विवाद उत्पन्न भएको छ । आक्रोशित विद्यार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा शुक्रबार आगजनीसमेत गरेका छन् ।

ठाकुरराम क्याम्पसमा विवादसँगै आगजनी

आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेर नष्ट भएका छन् । आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपक गिरीका अनुसार क्याम्पस प्रमुख आफैंले रिहा गरिदिन आग्रह गरेपछि तीनै जनालाई साँझ रिहा गरिएको छ ।

क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुला रहेको फाइदा उठाएर विद्यार्थीहरुले प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थसहित आगो लगाएर फालिदिएका थिए । कक्षामा केही कागजपत्र जलेको र आगो निभाउने क्रममा थप केही कागज भिजेको क्याम्पस प्रशासनले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा फर्जी नाम समावेश गरेको भन्दै विद्यार्थी समूहले विवाद गरेका थिए । करिब ८ सय विद्यार्थीको फर्जी नाम नामावलीमा समावेश गरेको भन्दै विद्यार्थी नेताहरू आक्रोशित भएका थिए ।

क्याम्पसस्थित निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते १० हजार ६ सय २१ जनाको नामावली प्रकाशन गरेको थियो । बिहीबार दाबी विरोध गर्ने क्रममा विद्यार्थी नेताहरुले मतदाता नामावलीमा नहुनुपर्ने विद्यार्थीको समेत नाम समावेश गरेको थाहा पाएपछि विवाद उत्पन्न भएको थियो ।

फर्जी नाम समावेश भएको घटनाबारे छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने, लापर्बाही गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग विद्यार्थी नेताहरुको थियो । उनीहरुले विद्यार्थी कल्याण परिषद तथा निर्वाचन अधिकृतको राजीनामासमेत मागेका थिए ।

नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिका निवर्तमान इकाई सभापति मनोज साहले घटनाबारे छानबिन हुनुपर्ने, गल्ती गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र निष्पक्ष निर्वाचन हुनुपर्ने माग आफूहरुले राखेको बताए ।

निर्वाचन अधिकृत रोशन लामिछानेले मतदाता नामावलीमा देखिएको त्रुटी छानबिन गर्न समिति गठन गरिएको बताए । सहप्राध्यापक रघुनाथ प्रसाद चौरसीयाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा निर्वाचनमा सहभागी हुनका लागि दर्ता भएका ३५ वटा विद्यार्थी संघ, संगठन तथा समूहका प्रमुख, प्राध्यापक, कर्मचारीको वैचारिक संगठन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि सदस्य रहेका छन् । समितिले फागुन २९ भित्र निर्वाचन अधिकृतको कार्यालयलाई प्रतिवेदन दिनेछ । त्यसैको आधारमा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको लामिछानेले बताए । उनले विवाद समाधान नभएकोले शुक्रबार मनोनयन पत्र वितरण गर्ने कार्यक्रम समेत स्थगित गरिएको बताए ।

प्रकाशित : फाल्गुन २६, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?