कुलो छ, सिँचाइ हुँदैन

शंकर आचार्य

ठोरी, पर्सा — ठोरी गाउँपालिका–३ का किसान विष्णु घिमिरेलाई अहिले चैते धान रोप्ने चटारो छ । हिउँदे वर्षा नभई रहेको र ठुटे खोलाबाट ल्याएको कुलोमा पानी नआई दिए धान बाली बिग्रेला भन्ने उनलाई पीर छ । ‘चैते धान लगाउने बेला भइसक्यो,’ उनले भने, ‘न त वर्षा भइरहेको छ, न त ठुटे खोलाको कुलोमा पानी आउला भन्ने भर छ ।’ 

कुलो छ, सिँचाइ हुँदैन

अर्का स्थानीय जगतबहादुर बस्नेतलाई पनि आफ्नो एक बिघा खेतमा चैते धान रोप्ने हतारो छ । तर उनलाई पनि कुलोमा पानी नआई दिए बाली सुक्छ कि भन्ने चिन्ता छ । ‘धान रोपौं सिँचाइको ग्यारेन्टी छैन,’ उनले भने, ‘खेत अघिल्तिर भएको कुलोमा ५ वर्षदेखि नियमित पानी आउँदैन, अब सिँचाइकै व्यवस्था नभए धान बाली लगाएर के काम ।’

ठोरी २ र ३ को सिमानामा पर्ने ठुटे खोलाबाट ल्याएको कुलोबाट रामनगरको किसानको करिब ३ सय बिघा र बुद्धनगरका किसानको १ सय ५० बिघा खेत सिञ्चित भएको छ । सामान्य अवस्था भएको बेला यहाँका किसानको खेत कुनै पनि बेला खाली बस्दैनथ्यो । उनीहरू धान, मकै, तोरीलगायतका तीनबाली बर्सेनि भित्र्याउँथे । ठोरी ३ का अध्यक्ष शम्भु खड्काले भारतीय पक्षसँग भएको ठुटे खोलाको सीमा विवाद र सोही खोलाबाट ल्याइएको कुलोको विवादले नेपालतर्फका किसान सिँचाइ सुविधाबाट वञ्चित भएको बताए । ठुटे खोलामा नेपाली भूमिबाट निकालिएको ३ वटा कुलोमध्ये २ वटा कुलो भारतीय पक्षले आफ्नो भूमिमा लगेका छन् । एउटा कुलो पूर्व हुँदै ठोरी–३ रामनगर र बुद्धनगरतर्फ आएको छ ।

तर नेपालतर्फ आएको कुलो भारतीय भूमि हुँदै आएको र भारतीय किसानले बेलाबेलामा पानी एकलौटी प्रयोग गर्ने, कुलोको पानीको प्रवाह थुनिदिने जस्ता क्रियाकलाप गर्दा सिँचाइमा समस्या आएको खड्काले बताए । ‘ठुटे खोलाबाट पूर्वतर्फ नेपाली भूमिमा आएको कुलो एक ठाउँमा करिब २५ मिटर भारतीय भूमि हुँदै फेरि नेपाल प्रवेश गर्छ, उताका किसानले बेलाबेलामा यताका किसानलाई दुःख दिने गर्छन्,’ उनले भने, ‘भारतीय पक्षसँग सीमा विवाद वा कुलोको पानीको बाँडफाँटको विवाद हुँदा यो समस्या झनै चुलिने गरेको छ । खेत अघिल्तिर कुलो छ तर हामी नियमित सिँचाइबाट वञ्चित भइरहेका छौं ।’

प्रकाशित : फाल्गुन १९, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?