लागूऔषधसहित ३ जना पक्राउ- मधेस - कान्तिपुर समाचार

लागूऔषधसहित ३ जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले मालवाहक ट्रकबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे वीरगन्ज महानगरपालिका २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह गेटबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ मा बस्ने ट्रक चालक ४२ वर्षीय निर्मल पौडेल, ४० वर्षीय रमेश थापा, २९ वर्षीय सुदर्शन खड्का छन् । प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकबाट उनीहरू पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरूलाई जाँच गर्ने क्रममा उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने सिटमुनि सेतो प्लास्टिकको बोराभित्र लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ६६ बोत्तल र कोडिवेल कफ सिरप ५७ बोतल गरी कुल २ सय ३ बोतल फेला परेको थियो ।

प्रकाशित : माघ २५, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्

उपप्रधानमन्त्री पौडेल र यूएसएआईडी प्रमुख समान्थाबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख समान्था पावरबीच भेटवार्ता भएको छ । 

बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर प्रमुख समान्थाले अर्थमन्त्रीसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिएकी छन् ।

उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । दुईदिने नेपाल भ्रमणमा मंगलबार बिहान काठमाडौं आइपुगेकी उनी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै समान्था नेपाल भ्रमणमा आएकी थिइन् । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत रहेकी उनी अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारीसमेत हुन् ।

प्रकाशित : माघ २५, २०७९ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×