३ करोड लागतमा मोक्षधाम


महोत्तरी — महोत्तरीको बर्दिवास–१ रातु खोला छेउमा व्यक्तिगत पहलमा निर्माणाधीन रातुठाकुर मोक्षधामको काम अन्तिम चरणमा पुगेको छ । सोही स्थानका ६९ वर्षीय कृष्ण देवकोटाको पहलमा निर्माणाधीन मोक्षधाममा मन्दिर तथा शवदाह स्थल लगायत संरचना बनाइएको हो ।

समाजसेवी देवकोटाले १२ वर्षअघि निर्माण सुरु गरेको धामको काम पूरा हुँदा ३ करोड रुपैयाँ लागतको अनुमान छ । व्यवस्थित शवदाह स्थलको अभाव भएपछि रातुठाकुर मोक्षधाम बनाइएको उनले बताए । दाताबाट जुटाइएको सहयोगबाट रातु ठाकुर मन्दिर, शिव मन्दिर, मलामी बस्ने दुईटा ट्रष्ट, एक कार्यालय, एक पानि टंकी, ५ वटा शवदाह स्थल बनाइएको छ भने ६ वटा धारा र खोला रोक्न ड्याम समेत निर्माण गरिएको देवकोटाले जानकारी दिए । किरियापुत्री घर, बगैँचा निर्माण र दाउरा डिपो सञ्चालन योजनालाई सहयोग चाहिएको उनको भनाइ छ ।
देवकोटाकै संरक्षणमा रहेको बर्दिवास १ स्थित रातु खोला किनारको ५ विघा ७ कठ्ठा नदिउकास जग्गामा मोक्षधाम निर्माणाधीन छ । बर्दिवास हेल्प फाउन्डेसनले पनि मोक्षधामलाई व्यवस्थित गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । फाउन्डेसका अध्यक्ष हीरा गौतमले धामलाई नमुनास्थल बनाउन, मायाघर निर्माण गर्न र त्यहाँका गरिब तथा जेहेनदार विद्यार्थीलाई पढाउन सहयोग गर्ने बताए ।
देवकोटा १५ वर्षयता समाजसेवामा तल्लीन छन् । उनकै पहलमा सर्पदंश उपचार केन्द्र पनि निर्माण भएको छ । ‘सामाजिक कामले फुर्सद हुँदैन,’ उनले भने, ‘फलको आश नगर्नु,कर्म गरिरहनू भन्ने भनाई छ, म त्यसैगरि लागिरहेको छु ।’ खेतिपातिबाट खान पुगेका कारण समाजसेवामा लाग्न पाएको उनको भनाइ छ ।
प्रकाशित : माघ २४, २०७९ ०७:३६