महसुल तिर्न नसक्दा गाउँ अन्धकार

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हिरापुर लौकठ गाउँ करिब दुई महिनादेखि अन्धकारमय छ । सहकारी संस्थामार्फत विद्युत् आपूर्ति हुँदै आएकोमा बक्यौता तिर्न नसक्दा विद्युत् प्राधिकरणले लाइन काटेको हो । यहाँका स्थानीय अहिले टुकीको भरमा रात काट्न बाध्य छन् । 

महसुल तिर्न नसक्दा गाउँ अन्धकार

सर्लाहीको बरहथवा नगरपालिका–११ हिरापुरमा मंसिर २७ देखि विद्युत् अवरुद्घ छ । स्थानीयले विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामार्फत विद्युत् उपभोग गर्दै आएका थिए । सहकारीले नै लामो समयसम्मको बक्यौता राखेपछि प्राधिकरणले लाइन काटिदिएको हो । प्राधिकरण बरहथवा वितरण केन्द्रका अनुसार २३ लाख रुपैयाँ बक्यौता छ ।

स्थानीय दुखनीदेवी राउतले बिजुली नहुँदा रात टुकीको भरमा बिताउने गरेको बताइन् । उनले मट्टीतेल महँगो भएकाले केहीबेर मात्र टुकी बाल्ने गरेको दुःखेसो पोखिन् । राउतले छोरा विदेशमा रहेकाले मोबाइल चार्ज नहुँदा कुराकानी हुन नसकेको तथा ६ कक्षामा पढ्दै गरेकी छोरीलाई पनि पठनपाठनमा समस्या भइरहेको बताइन् । अर्का स्थानीय उमेश दासले महिनैपिच्छे सहकारीमा विद्युत् महसुल जम्मा गरिए पनि सहकारीले प्राधिकरणलाई नतिर्दा झन्डै दुई महिनादेखि लाइन काटिएको गुनासो गरे । दासले बिजुली नहुँदा राति चोर लाग्ने तथा सञ्चार सेवाबाट पनि टाढिनुपरेको दुःखेसो पोखे । उनले दिउँसो मोबाइल चार्ज गर्न पल्लो गाउँ पुग्नुपर्ने अवस्था रहेको बताए ।

सहकारीका पदाधिकारीकै कारण आफूहरू अन्धकारमा बस्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय लोकप्रसाद पराजुलीले सहकारी समितिकै कारण गाउँले अन्धकारमा बस्नुपरेको गुनासो पोखे । ‘बिजुली बिल नतिर्नेले तिर्दै तिरेनन्, तिर्नेले तिरे, तर समिति तटस्थ बसिदियो,’ उनले भने, ‘समितिले मतलब नै नगरेपछि प्राधिकरणले लाइन काटिदियो ।’

ग्रामीण विद्युत् सहकारी झन्डै १४ वर्षअघि गाउँलेलाई बिजुली वितरण गर्न स्थापना भएको थियो । त्यसको दुई वर्षपछि सहकारीले विद्युत् आपूर्तिमा सहजीकरण गर्दै आएको थियो । सहकारीको सुरुवातका अध्यक्षको मृत्युपछि जिम्मेवारी सम्हाल्दै आएका उपाध्यक्ष रामकृष्ण चालिसेले लामो समयदेखि संस्थाको अडिट र लेखा प्रतिवेदन गराउन सकेका छैनन् । बरहथवा–११ का वडाध्यक्ष नवराज राईले समिति भद्रगोल अवस्थामा रहेको जानकारी पाएको बताए । समितिलाई मौखिकसहित तीनपटक लिखित पत्र काटे पनि कुनै हिसाब किताब नै नआएको उनको भनाइ छ । ‘समितिकै कारण नागरिकले दुःख भोग्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

सहकारीका उपाध्यक्ष चालिसेले सहकारीको कुल ३ सय १७ ग्राहकमध्येबाट अधिकांशको समयमा रकम नउठेपछि विद्युत्ले जरिवाना २५ प्रतिशत लिँदा संस्था डुबेको बताए । उनले पोलपोलमा वडाले बत्ती जडान गर्ने गर्दा पनि सहकारीको व्ययभार बढेको जानकारी दिए । उनले संस्थाले चलाउन नसकेपछि सहकारीमार्फत वितरण हुँदै आएको विद्युत्लाई ‘ब्रेक’ गराएर प्राधिकरणमार्फत वितरण प्रक्रिया सुरु गरिएको जानकारी दिए । ‘सेवाग्राहीले समयमा पैसा नतिर्ने, तर यता प्राधिकरणले सहकारीको मूल मिटरमा पच्चीस प्रतिशत जरिवाना तिराउने गरेकाले यो सिस्टमले काम गर्न सकेन,’ उनले भने, ‘वडाका पोलपोलमा झुन्ड्याइएको बत्तीको पनि बिल नआएपछि हामीले पनि हिसाब किताब राख्न छोडिदियौं ।’

विद्युत् प्राधिकरण बरहथवा शाखाले भने २३ लाख बक्यौतामध्ये १० लाख स्थानीयले जम्मा गरेको र बाँकी १३ लाख रुपैयाँ पालिकाले तिर्ने भनेर निर्णय गरेपछि गाउँमा मिटर जडानको प्रक्रिया सुरु भएको जनाएको छ । प्राधिकरणका सुपरभाइजर छोटेलाल यादवले बक्यौताको सवालमा नगरपालिका जिम्मेवार भएपछि गाउँलेलाई मिटर उपलब्ध गराउने काम भइरहेको जानकारी दिए । उनले एक सातामा गाउँका हरेका घरमा मिटर जडान भई विद्युतीकरण हुने बताए । ‘यसअघि पनि सहकारीले भुक्तानी नगर्दा पटकपटक विद्युत् काटिएको थियो, केही रकम जम्मा भएपछि पुनः सञ्चालनमा आउने गरेको थियो,’ यादवले भने, ‘पछिल्लो समय सहकारीका पदाधिकारी पनि सम्पर्कमा नभएको र मिटरको बक्यौता पनि बढ्दै गएकाले लाइन काटिएको छ, बक्यौता नगरपालिकाले तिर्ने सहमतिपछि गाउँमा बत्ती बाल्ने प्रयासमा छौं ।’

प्रकाशित : माघ २२, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?