१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ढोई पछ्याउँदै यमगज

शंकर आचार्य

पर्सा — यमगजले हैरान पारेपछि पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारका आठवटा ढोईलाई स्थानान्तरण गरिएको छ । उद्दण्डता मच्चाउँदै आएको जंगली हात्ती यमगजले निकुञ्जका आठवटा पोथी हात्तीको पछि लाग्न नछाडेपछि साताअघि निकुञ्जको रामभौरीभाठाबाट मकवानपुरको प्रतापपुर पोस्टमा स्थानान्तरण गरिएको हो । 

यमगजको उद्दण्डताबाट आजित भएर निकुञ्ज प्रशासनले मंसिर पहिलो साता आठवटै हात्तीलाई अमलेखगन्जस्थित हात्तीसारबाट स्थानान्तरण गरी २५ किमि पश्चिममा रहेको निकुञ्जको कोर एरिया मानिने पर्साको रामभौरीभाठामा राखेको थियो । त्यहाँ झन्डै २ महिना राख्दा पनि यमगज ती ढोईकै वरिपरि बस्ने, चराउन नदिने र उनीहरूको रासन पनि खोसेर खाने गरेकाले प्रतापपुर पोस्टमा स्थानान्तरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । ‘करिब २ महिना हात्तीसारका ढोईलाई रामभौरीभाठामा राख्यौं, तर यमगजले सताइरह्यो,’ प्रमुख संरक्षण अधिकृत रामले भने, ‘त्यसैले करिब ३७ किमि पश्चिम प्रतापपुर पोस्टमा लगेर ८ ढोईलाई राखेका छौं ।’ प्रतापपुरमा निकुञ्जको आफ्नै पोस्ट र नेपाली सेनाको पनि पोस्ट छ ।

उन्मत्त यमगज हात्तीसारका ढोईहरूको पछिपछि लागेर प्रतापपुर पोस्टसम्म पनि पुगेको प्रमुख संरक्षण अधिकृत रामले बताए । ‘प्रतापपुरसम्म पुगेर यमगजले त्यहाँ पनि ढोईलाई सताउन छाडेन,’ उनले भने, ‘त्यहाँ ३/४ दिन बसेर पर्साको ठोरी क्षेत्रतर्फ लागेको यमगज बुधबारदेखि फेरि रामभौरीभाठा क्षेत्र आसपासमा देखापरेको छ ।’ कात्तिक ३ मा यमगजले अमलेखगन्जमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा चराउने क्रममा एक महिलाको ज्यान लिएको थियो । त्यसपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक टोलीले आएर कात्तिक ४ मा डार्ट गरी यमगजको दुवै दाह्रा काटेको थियो । उद्दण्डता कम हुने आशामा यमगजको दाह्रा काटिए पनि उसको उद्दण्डतामा कमी आएन ।

असोजदेखि कात्तिकको पहिलो सातासम्म अमलेखगन्ज हात्तीसार वरिपरि नै बसेर यमगज रातको समयमा हात्तीसारमा प्रवेश गरेर सबै ढोईसँग जबर्जस्ती संसर्ग गर्ने र त्यहाँ रहेको मत्ता नारायणगजसँग जुध्ने गर्थ्यो । दिउँसो हात्तीसार पछाडि बस्ने र ३/४ बजेपछि नजिकको मानवबस्तीमा पसेर खाद्यान्न चोर्ने गर्थ्यो । यीमध्ये एउटा पोथी भीमाकली साढे ५ वर्षकी छन् । अन्यमा वयस्कदेखि ६० वर्षसम्मका ढोई छन् । करिब १४ वर्षको किशोर यमगजले एक महिनादेखि भीमाकलीबाहेक सबै ढोईसँग जबर्जस्ती संसर्ग गरेको थियो । सुरुमा यमगजलाई खेद्ने र दाह्रा काट्ने काम गरेर उसलाई भगाउने र शान्त गर्ने प्रयास गरिए पनि उद्दण्डता घटेन ।

रामभौरीभाठामा बस्ने क्रममा यमगज सुरुमा आफूसँगै पूर्वबाट यहाँ आएको अर्को भाले हात्तीसँग जुधेको थियो । प्रतिस्पर्धी मत्तालाई लखेटेपछि करिब २ महिना रामभौरीभाठामा क्षेत्रमै बस्यो । त्यसक्रममा करिब १५ किमि दूरीमा रहेको मानवबस्ती निर्मलबस्तीसम्म पुग्ने र त्यहाँ स्थानीयको अन्न चोरेर खाने गर्थ्यो । अमलेखगन्ज हात्तीसारमा रहेको एकमात्र मत्ता नारायणगजको कारण यमगज ऊसँग जुध्न आएर हात्तीसारका अन्य हात्तीसँग संसर्ग गर्न आएको हुन सक्ने भनेर नारायणगजलाई निकुञ्जको मनहरीस्थित लामिटार पोस्टमा लगेर राखिए पनि यमगजले हात्तीसारका ढोईलाई पछ्याइनै रह्यो ।

४/५ दिनअघि प्रतापपुर पोस्ट वरपर अर्को मत्ता हात्तीसँग यमगज दुई पटक जुधेको र सोही मत्ताले यमगजलाई खेदेपछि हाल ठोरी हुँदै रामभौरीभाठा क्षेत्रमा आएर बसेको हुन सक्ने प्रमुख संरक्षण अधिकृत राम बताउँछन् । ‘सातायता यमगज र अर्को मत्ताबीच २ पटक प्रतापपुरमा वर्चस्वको लडाइँ भइसकेको छ, पराजित भएर यमगज त्यहाँबाट आएको हुन सक्छ,’ उनी भन्छन्, ‘तर यमगजलाई खेदेको नयाँ मत्ता भने प्रतापपुर पोस्ट वरपर नै छ ।’ असारको तेस्रो साता झापा, कोसीटप्पु हुँदै पूर्वबाट यमगजसहित ५ वटा हात्ती पर्सा निकुञ्ज आइपुगेका थिए ।

पूर्वबाट सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराको टाँगिया बस्ती हुँदै पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ती हात्ती प्रवेश गरेका थिए । तीमध्ये ३ वटा हात्ती अझै पर्सा निकुञ्जमै छन् । अन्य २ वटा हात्ती भने पूर्वतर्फ नै फर्किएको राम बताउँछन् । ‘कुल ५ हात्तीमध्ये २ वटा पुसको पहिलो सातातिर पूर्वतर्फ नै लागेका थिए,’ उनले भने, ‘बाँकी ३ मध्ये यमगज, मकुना र दारे गरी ३ वटा हात्ती पर्सा निकुञ्जमै छन् ।’ यम पञ्चकका दिन अमलेखगन्जमा एउटा महिलाको ज्यान लिएकाले उक्त जंगली हात्तीको नाम ‘यमगज’ राखिएको हो ।

प्रकाशित : माघ २२, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?