खल्तीबाट झिकेर कसैलाई राष्ट्रपति बनाउनुहुँदैन : कांग्रेस महामन्त्री थापा- मधेस - कान्तिपुर समाचार

खल्तीबाट झिकेर कसैलाई राष्ट्रपति बनाउनुहुँदैन : कांग्रेस महामन्त्री थापा

लक्ष्मी साह

बारा — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देशको संविधान नबुझ्नेलाई खल्तीबाट झिकेर राष्ट्रपति बनाउन नहुने बताएका हुन् । 

‘देशको संविधानलाई नचिन्नेलाई राष्ट्रपति बनाउनुहुँदैन । खल्तीबाट बनाउनुहुँदैन, संविधानलाई चिनेको र मानेको राष्ट्रपति बनाउनुपर्छ‚’ उनले भने, ‘उच्चस्तरीय राजनीति संयन्त्रलाई संविधानले चिनेको छैन, मानेको छैन ।’

यसको विपरीत गएर राष्ट्रपति बनाउन खोजियो भने बल्ल बल्ल जोगिएको संविधान खतरामा पर्ने उनले बताए । कानुनको ‘मेरिट’ मा रहेर संसद्‌बाट बहुमतले राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले मिडियाले कुन नेताले‚ कसलाई‚ कहाँ भेट्यो भन्दा पनि आमनागरिकको समस्यालाई उजागर गर्नुपर्ने बताए ।

प्रकाशित : माघ २१, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो पटक संसद्‍मा जाँदा अनौठो लाग्ने रहेछ : राप्रपा महामन्त्री राणा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्य तथा राप्रपा महामन्त्री धवल शमशेर राणाले संसद‍्‍मा पहिलो पटक जाँदा बकुल्लाले ढुकेको जस्तो अनुभव भोगेको बताए । 

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको ‘पालिका र पूर्वाधार’ सत्रमाथि बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका राणाले स्थानीय तहमा सबै कुरामा आफैं भिडेर अघि बढ्ने र उपलब्धि ल्याउने विचारधारा बोकेका व्यक्ति सदनमा गएर पालो कुर्दा बकुल्लाको ढुकाइको अनुभव भोगेको बताएका हुन् । ‘भर्खरै संघीय निर्वाचन जितेर संसद्‍मा २/३ पटक बसियो । अनौठो लाग्या छ । त्यहाँ गएर केलाई केलाई पर्खेको जस्तो लाग्छ,’ उनले भने ।

संसद् र स्थानीय तहमा गरिने कामहरू धेरै फरक रहेको भन्दै उनले संसद्‍मा ऐन कानुन बनाउने र स्थानीय तहमा प्रत्यक्ष संलग्न भई स्थानीय निकायका प्रत्यक्ष विकासका कमहरु गरिने बताए । संसद् नियम, कानुन बनाउने थलोसँगै देशलाई दिशा दिने, निर्देशन दिने र देशको भविष्य बनाउने थलो भएको राणाले बताए ।

स्थानीय तहमा शारीरिक र मानसिक रूपले अत्यन्तै दबाबमा काम गर्नुपर्दा आत्मसन्तुष्टि मिलेको उनले बताए । आफूले चाहेको र आफ्नो भिजनको एउटा घेरालाई चार वर्षमा पूरा गर्न सकिने उनको भनाइ छ । आफू जन्मेको हुर्केको नेपालगन्ज शहरको समग्र विकासका लागि काम गर्न पाउँदा आफू खुसी भएको उनले बताए ।

प्रकाशित : माघ २१, २०७९ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×