मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ - मधेस - कान्तिपुर समाचार

मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ 

एमालेका ३, जनता समाजवादी पार्टीका २ र जनमत पार्टीबाट १ जना नियुक्त
सन्तोष सिंह

धनुषा — मधेस प्रदेश सरकारको दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । शुक्रबार ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रीहरूलाई शपथ गराए । नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमालेका ३, जनता समाजवादी पार्टीका २ र जनमत पार्टीबाट १ जना छन् ।

सामाजिक विकासमन्त्रीमा सुरिता साह र खानेपानी तथा ऊर्जा विकासमन्त्रीमा सिंहासन कलावार नियुक्त भएका छन् । उनीहरू जसपाका हुन् । एमालेका शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री, राजकुमार लेखी कानुन न्याय तथा प्रदेश मामिलामन्त्री र मोहम्मद जयद आलम महिला बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन् । जनमतका महेशप्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री नियुक्त भएका छन् । जसपाका शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, एमालेका केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा यसअघि एमालेका सरोज यादव भौतिक पूर्वाधार विकासमन्त्री, जनमतका वसन्त कुशवाहा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र जसपाका सञ्जय यादवले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रदेशमा जसपाका मुख्यमन्त्रीसहित ४, एमालेका ४, जनमतका २ गरी १० जना मन्त्री र ३ जना राज्यमन्त्री भएका छन् । सत्ता गठबन्धनको माओवादी केन्द्रले सरकारलाई समर्थन गरे पनि मन्त्री पद लिएको छैन । ९ जना प्रदेश सांसद रहेको माओवादीले २ वटा मन्त्रालय पाउनुपर्ने अडान राखे पनि मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय मात्र दिन सक्ने बताएपछि माओवादी सरकारमा सहभागी नभएको हो ।

मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा सकस भएको थियो । जनमत पार्टीले सामाजिक विकास मन्त्रालयको अडान नछोडेपछि मुख्यमन्त्री यादवले उक्त मन्त्रालयबाट शिक्षालाई टुक्राएर विज्ञान प्रविधि मन्त्रालयमा जोडेर जनमतका महेश यादवलाई मन्त्री बनाएका छन् । मन्त्रीले शपथ लिए पनि जनमत भने सन्तुष्ट छैन । सामाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचार लुकाउन आफूलाई नदिइएको जनमतको आरोप छ । उक्त मन्त्रालयको बेरुजु र भ्रष्टाचारको आरोप लागेका कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरिरहेको छ ।


प्रकाशित : माघ २०, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

मलेसिया-नेपाल सम्बन्ध नयाँ परिवेशमा लैजान आवश्यक : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।  सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले मलेसिया र नेपालबीचका द्विपक्षीय सम्बन्धलाई नयाँ परिवेशमा लैजान आवश्यक रहेको बताए ।

'मलेसियाले कामदारको तलब १५ सय रिंगेट पुर्‍याएकोप्रति आभार ब्यक्त गर्दछु’, भेटमा सहभागी मलेसियाका लागि नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, 'मलेसियाले कामदारको कल्याणकारी र सुरक्षाको क्षेत्रमा समयानुकूल नीतिहरु परिवर्तन गर्दै जानेमा विश्स्त छु ।’

प्रधानमन्त्री दाहालले सीपयुक्त कामदार विकासका लागि दुई देशबीच सहकार्यको आवश्यक भएको बताए । 'मलेसियाले नेपालको जलविद्युत्, हाइड्रोलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्छु’, उनले भने ।

भेटमा मलेसियाका गृहमन्त्री इजमाइलले नेपाली कामदारले मलेसियाको विकासमा योगदान पुर्‍याएको बताउँदै नेपाली कामदार मलेसियाको प्राथमिकतामा रहेको बताए । 'नेपाली कामदारको योगदानप्रति हामी उच्च प्रशंसा गर्छौं’, इजमाइलले भने, 'हाम्रो श्रमसँग अन्य क्षेत्रमा पनि नेपालसँग हातेमालो गर्न चाहन्छौं ।’

प्रकाशित : माघ २०, २०७९ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×