मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ- मधेस - कान्तिपुर समाचार

मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

रासस

धनुषा — मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता बित्दासमेत विस्तार हुन सकेको छैन । 

सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा सरकार विस्तारमा समस्या देखिएको छ । सत्तारुढ दलहरूबीच पाँच प्रदेशसभा सदस्य बराबर एक मन्त्रालय दिने समझदारी भएको थियो । तर‚ एउटै मन्त्रालयमा दुई पार्टीले दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । नेकपा (माओवादी केन्द्र)ले मधेसमा सामाजिक विकाससहित दुई मन्त्रालय माग गरेको छ । मधेसमा सत्ता साझेदार मुख्य दल नेकपा (एमाले) र सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)बीच यसबारे छलफल भइरहेको छ ।

जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादव भन्नुहुन्छ, ‘हामीले सामाजिक विकास मन्त्रालय मागेका छौँ । यसमा सहमति जुटेपछि हाम्रो पार्टीको तर्फबाट मन्त्री बन्नेको नाम छिट्टै पेस हुन्छ ।’ यही माघ १३ गते जनमत पार्टीबाट मन्त्री बनेका इन्जिनियर बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मधेस प्रदेशमा माओवादी संसदीय दलका नेता भरतप्रसाद साह सम्मानजनक ठाउँ पाउनुपर्ने बताउँछन् । ‘सरकार विस्तारका लागि नीतिगत कुरै मिलेको छैन, त्यही भएर ढिलाइ भइरहेको छ,’ उनले भने ।

प्रदेश सरकारमा नेकपा (एमाले), जसपा, जनमत र माओवादी केन्द्र सहभागी छन् । मधेसमा अहिले चार सदस्यीय मन्त्रिपरिषद् छ । गत पुस २९ गते मुख्यमन्त्री यादवले शपथग्रहण गरेका थिए । मुख्यमन्त्रीसँगै तीन बिनाविभागीय मन्त्रीले शपथ लिएका थिए । अहिले उनीहरूको जिम्मेवारी तोकिइसकेको छ । मुख्यमन्त्री यादवले सबै दललाई समेटेर अगाडि बढ्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको बताए । ‘यही साताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने ।

प्रकाशित : माघ १८, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा उम्मेदवार बन्न पाउने उमेर २० वर्ष बनाउनुपर्छ : पूर्वकानुनमन्त्री पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्य बन्नका लागि आवश्यक उमेर २५ वर्षबाट घटाएर १८ वा २० वर्ष बनाउनुपर्ने पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेलले बताएका छन् । कानुन आयोगका पूर्वअध्यक्षसमेत रहेका उनले नेपालमा पुरातन परम्परालाई पछ्याएर प्रतिनिधिसभा सदस्य बन्न पाउने उमेर राखिएको बताएका हुन् । 

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा पौडेलले निर्वाचनमा उम्मेदवार बन्न पाउने उमेर सीमा घटाउनुपर्ने बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासमेत सहभागी समितिको बैठकमा पौडेलले मतदान गर्न पाउने तर उम्मेदवार बन्न नपाउने व्यवस्था हटाउनुपर्ने बताएका हुन् । 'सांसद उम्मेदवार बन्ने उमेर घटाउनुपर्‍यो । उम्मेदवारको उमेर २५ वर्ष बनाउने धेरै पुरानो मान्यता हो । बेलायतमा बेबी एमपीको अवधारणा आइसक्यो,' उनले भने । स्थानीय तहको प्रमुखको उम्मेदवार बन्नका लागि २० वर्ष भए पुग्ने तर सांसद बन्न किन २५ वर्ष चाहियो ? भन्ने उनको प्रश्न थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ मा उम्मेदवारको योग्यताको व्यवस्था गरिएको छ । जसमा उम्मेदवार बन्न पाउने योग्यतामा २५ वर्ष उमेर पूरा भएको, मतदाता नामावलीमा नाम समावेश भएको, नेपालको नागरिक हुनुपर्ने लगायत छन् ।

काठमाडौं महानगरपालिकाको मेयर हुनका लागि २० वर्षको भए हुने तर सांसद बन्नका लागि किन २५ वर्ष बनाएको भन्ने कुराको कारण पत्ता हुन नसकेको पौडेलको भनाइ थियो । स्थानीय तहको प्रमुखले कार्यकारी अधिकार प्रयोग गर्ने भएपनि कम उमेरको हुने तर कानुन निर्माणको क्षेत्रमा किन २५ वर्षकै चाहिने भन्ने उनको भनाइ थियो ।

त्यस्तै, निर्वाचनको मिति कानुनमा नै निश्चित गर्नुपर्ने पौडेलको भनाइ छ । 'निर्वाचनको मिति तोक्ने काम संसदले गरोस्, ऐनको व्यवस्था गरेर । निर्वाचन मितिको ऐन संसदले बनाउनुपर्छ । त्यसो हुँदा सरकार र निर्वाचन आयोगले निर्वाचन मितिका लागि एक अर्कालाई देखाउने अवस्था नरहोस्,' उनले भने ।

विद्युतीय मतदानको व्यवस्था र विवाद समाधान तत्काल गर्नुपर्नेतिर पनि आयोग लाग्नुपर्ने पौडेलको भनाइ छ ।

प्रकाशित : माघ १८, २०७९ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×