निहारिका र आरोपी शिवराजबीच अदालतमा मिलापत्र- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निहारिका र आरोपी शिवराजबीच अदालतमा मिलापत्र

रासस

धनुषा — ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् । मिलापत्रअनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् ।

जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन् ।

मिलापत्रमा भनिएको छ, 'म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषद्योपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेको ।' विसं २०७६ कात्तिक ६ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका–४ का शिवराज श्रेष्ठले आफूलाई ललाइफकाइ तथा डर धम्की देखाएर पटक–पटक जबर्जस्ती करणी गरेको भन्दै निहारिकाले जिल्ला अदालत धनुषामा मुद्दा हालेकी थिइन् ।

यस मुद्दामा न्यायाधीश परशुराम भट्टराईको इजलासले शिवराजलाई सफाइ दिएको थियो । न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएपछि सो मुद्दा उच्च अदालत जनकपुरमा पुनरावेदन गरिएको थियो । उच्च अदालतको आदेशमा शिवराज र निहारिकाको छोराको डिएनए परीक्षण गर्दा मिलेको थियो ।

विसं २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ । विसं २०७६ कात्तिक ६ गते शिवराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी निहारिकाले २०७७ भदौ ५ गते छोरालाई जन्म दिएकी थिइन् ।

आफू बलात्कृत भएको भन्दै उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने, मुद्दाको बारेमा घटनाको सुरुआतदेखि नै पुनः जाँच गरिनुपर्ने माग राख्दै उनी पटक पटक अनशन बसेकी थिइन् । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएपछि गरिएको परीक्षणमा उनको छोराको डीएनए शिवराजसँग मिलेको थियो । डिएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् ।

निहारिकाले २७ साउनमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास समेत गरेकी थिइन् । विसं २०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेकोमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ ।

प्रकाशित : माघ १७, २०७९ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्

सहिदको आकांक्षा पूरा गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

रासस

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहिदका अधुरा सपना पूरा गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । पत्रकारहरूसँगको अन्तरक्रियात्मक कार्यक्रममा सोमबार सभामुख घिमिरेले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको आकांक्षा पूरा गर्ने आमसञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्ने बताए ।


उनले भने, ‘राष्ट्र र जनताको उन्नतिका लागि जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । सहिदहरूको सपना कति र कुन हदसम्म पूरा हुन आएको छ र अब पूरा गर्न के गर्नुपर्छ ? त्यसमा अठोट गर्ने र ती आकांक्षा पूरा गर्ने आमसञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

सभामुख घिमिरेले विगतमा संसदीय समाचार संकलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धतासमेत जनाए । ‘ संसद्को भूमिका समाजलाई कसरी अग्रगति दिन सकिन्छ भन्ने हो । त्यसका लागि पत्रकार र आमसञ्चारमाध्यमले सहयोग गरिरहेको छ । समाचार सङ्कलन गर्न संसद्‌भित्र देखिएका चुनौती र समस्यालाई समाधान गर्नेछौँ,’ उनले भने । अन्तरक्रियामा पत्रकारहरूले संसदीय समाचार संकलनका क्रममा देखिएका चुनौतीबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : माघ १६, २०७९ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×