सिम्रौनगढको नगर अस्पताल अनिश्चितकालका लागि बन्द- मधेस - कान्तिपुर समाचार

सिम्रौनगढको नगर अस्पताल अनिश्चितकालका लागि बन्द

लक्ष्मी साह

बारा — कोभिड महामारीको समयमा सिम्रौनगढ नगरपालिकाले करोडौं लगानी गरेर सञ्चालनमा ल्याएको सुविधा सम्पन्न अस्पताल मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कोराना कालमा सुलभ र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शय्या क्षमता भएको अस्पताल (अहिले नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखा) ले सोमबार एक सूचना प्रकाशित गरी ओपीडी (बहिरंग) सेवाबाहेकका सबै सेवा अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पताल बन्दले ग्रामीण भेगका सर्वसाधारण निराश बनेका छन् । अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा पाउँदै आएका थिए । नगरपालिकाले दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगर अस्पताल आफ्नै लगानीमा निर्माण गरी सञ्चालनमा ल्याएको थियो । त्यसपछि यस क्षेत्रका बासिन्दाहरू सहज उपचार सुविधा पाउन थालेका थिए । नगरभित्रका अन्य सरकारी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक एमबीबीएससहित प्राविधिक र स्वास्थ्यकर्मी गरी ३० जना परिचालन गरेर सुविधायुक्त यो अस्पताल सञ्चालन गरिएको थियो ।

२५ लाख खर्चेर २४ औं घण्टा खुल्ला रहने फार्मेसी सञ्चालनमा ल्याइएको थियो । अहिले अस्पतालका प्रयोगाशाला, एक्सरे, फार्मेसी, अकास्मिक सेवालगायत सबै बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले बताए । नगरपालिकाले त्यसमा कार्यरत ३० जनामध्ये करारका २४ जना कर्मचारीलाई हटाएपछि सेवा अवरुद्ध भएकाले केही समयका लागि अस्पताल बन्द गर्नु परेको उनको भनाइ छ ।

‘अस्पतालको व्यवस्थापन भद्रगोल थियो । कर्मचारी अटेरी गर्थ्यो,’ त्यसैले कर्मचारी व्यवस्थापनदेखि सबै कार्य सकेर ठीक ढंगले अस्पताल सञ्चालनमा ल्याइनेछ,’ नगरपालिकाका प्रशासन शाखाका एक कर्मचारीले भने, ‘करारका कर्मचारीको म्याद सकेकाले अब अर्को कर्मचारी भर्ना गरेर सञ्चालनमा ल्याइनेछ ।’ करारका कर्मचारीको म्याद नथपेर अर्को कर्मचारी भर्ना गरी अस्पताल सञ्चालनमा ल्याइने नगरपालिका प्रशासनको योजनाविरुद्ध हटाइएका कर्मचारीहरुले अस्पतालमा सोमबार ताला लगाएका छन् ।

अस्पतालमा उच्चस्तरीय प्रयोगशाला, डिजिटल अल्ट्रसाउन्ड, साधारण एक्सरे, ईसीजी, ५ वटा मोनिट्रिङ मेसिनसहितको कक्षको व्यवस्था गरिएको छ । सर्पदंश र एन्टी रेबिज भ्याक्सिन, प्रसुती सेवा र अक्सिजनको व्यवस्था छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र यादवका अनुसार तत्कालका लागि ओपीडी सेवा सञ्चालन मात्र गरिने बताए ।

प्रकाशित : माघ १६, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्

कलैयाका वडाध्यक्ष साह रिहा, छोरा प्रहरीको नियन्त्रणमा

लक्ष्मी साह

बारा — चोरीको चुरोट खरिद गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–३ का वडाध्यक्ष मोहन साह कानुलाई शुक्रबार दिनभर नियन्त्रणमा लिएर बेलुका रिहा गरेको छ ।

वडाध्यक्ष साहले छोराको नाममा पसल रहेको बयान दिएपछि प्रहरीले उनका २७ वर्षीय छोरा अमनप्रसाद गुप्तालाई नियन्त्रणमा लिइ वडाध्यक्ष साहलाई हाजिरी जमानीमा रिहा गरेको हो ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चोरीमा संलग्न एक बालक पक्राउ परेपछि उनले दिएको बयानको आधारमा वडाध्यक्षलाई सोधपुछका लागि नियन्त्रणामा लिइएको थियो । तर वडाध्यक्ष साहले छोराको नाममा पसल दर्ता भएको पाइएपछि उनका छोरा गुप्तालाई नियन्त्रणमा लिएको हो । एक लाख मूल्य पर्ने २ कार्टुन चोरीको चुरोट खरिद गरेको प्रहरीको आरोप छ । वडाध्यक्ष साहको कलैयामा पसलको गोदाम छ । त्यही गोदाममा प्रहरीले छापा मार्दा चुरोट बरामद भएको हो । पक्राउ परेका नाबालकले बयान दिएपछि गोदाममा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित : माघ १४, २०७९ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×