राजमार्गबाट ट्यांकर नै चोरी, २० हजार लिटर डिजेल निकालियो - मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गबाट ट्यांकर नै चोरी, २० हजार लिटर डिजेल निकालियो 

अवधेशकुमार झा

राजविराज — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो । 

अलमेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका-९ स्थित पेट्रोल पम्पबाट चोरी भएको थियो । आइतबार बिहान पूर्व-पश्चिम राजमार्गभन्दा उत्तर शम्भूनाथ नगरपालिका-२ खैरबनामा जंगल जाने बाटोमा स्थानीय बासिन्दाहरुले बेवारिसे अवस्थामा ट्यांकर देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

रुपनगरस्थित पेट्रोल पम्पबाट ट्यांकर लगेर डिजेल निकाली बेवारिसे अवस्थामा छोडेर चोरी गर्नेहरु फरार भएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको ट्यांकर अहिले प्रहरी नियन्त्रणमा छ । प्रहरीले ट्यांकरका चालक सप्तरीको रुपनगर नै घर भएका विनोदकुमार भुजेलसँग सोधपुछ गरिरहेको छ । ट्यांकर फेला परेपछि प्रहरीले ट्यांकरको नम्बरका माध्यमबाट ट्यांकर धनीलाई खबर गरी समेत बोलाएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी रामकुमार यादवले अनुसन्धान भइरहेको बताए । उनले बेवारिसे अवस्थामा रहेको ट्यांकर ल्याइएको, ट्यांकरको तेल निकाल्ने दुईवटा लक तोडिएको अवस्थामा फेला परेको सुनाए । ट्यांकरमा २० हजार लिटर डिजेल रहेको र चोरी गरी लग्नेले सबै निकालेका वा ट्यांकरभित्र डिजेल बाँकी रहेको बारे हेर्ने काम भइरहेको बताए ।

प्रकाशित : माघ १५, २०७९ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता कब्जाको दाउ चलिरहेको छ : अध्यक्ष नेपाल

अवधेशकुमार झा

राजविराज — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका छन् । सप्तरीको राजविराजमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएको बताए ।

उनले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेको समेत दाबी गरे । ‘सत्ता कब्जाको दाउ चलिरहेको छ,’ नेपालले भने, ‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ ।’

वर्तमान सरकार आएपछि अहिले तमासाहरु भइरहेको नेपालको आरोप छ । ‘तमासाहरु भइरहेको छ, अझै कतिवटा तमासा आगामी दिनमा हुने हो त्यो हेर्न बाँकी नै छ ।’

एमालेले राष्ट्रपति पाए उसलाई कसैले छुन नसक्ने बताएका छन् । ‘राष्ट्रपति एमालेले पायो भने उसलाई कसैले छुन सक्दैन्, यो कुरा माओवादीले बुझ्या छन् कि छैनन् ?’ नेपालले भने, ‘एमालेमा असहिष्णु र संकीर्ण सोच छ ।’ आफ्नो पार्टी एकीकृत समाजवादीसँग वार्ता गरेकै कारण जसपालाई सरकारमा मौका नदिएको कुरा सुनेको बताए । ‘जसपा नेतासँगको भेटमा एमालेका नेताले माधव नेपालसित वार्ता गरेका कारण सरकारमा मौका नदिएको कुरा बताएको विषय बाहिर आएको छ’, नेपालले भने, ‘यति असहिष्ण, यति संकीर्ण सोच भएकाबाट के होला ?’

नेता नेपालले कांग्रेसलाई पार्टी नै नभएको आरोप लगाए । ‘नेपाली कांग्रेस अनुशासन पालना नगर्ने, गुटैगुटमा चिराचिरा परेको, एकले अर्काको कुरा नमान्ने विचित्रको पार्टी हो,’ नेपालले भने, ‘यो पार्टीभन्दा पाटीपौवा जस्तो छ ।’ राष्ट्रपतिको निर्वाचन आउन समय बाँकी रहेकाले अहिले नै उम्मेदवारका विषयमा छलफल नभएको उनले बताए । कांग्रेस वा गैर कांग्रेस को राष्ट्रपति हुने छलफलको विषय भएको बताउँदै उनले भने, ‘सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरुको कुरा नगर्ने भएपछि त बिग्रिन्छ नि कुरा ।’

माओवादी र जसपासितको पार्टी एकताबारे सोधिएको प्रश्नमा उनले वार्ता र छलफल चलिरहेको बताए । ‘कुराहरु चलिरहेको छ, कुन ठाउँमा गएर निष्कर्षमा पुग्ने हो हेर्न बाँकी छ’, नेपालले भने, ‘नेकपा माओवादी केन्द्र, जसपा, चन्द्रदेव जोसीको नेकपा संयुक्त र वामदेवजीसँग कुरा भइरहेको छ, हामी चाहन्छौं एकता वा सहकार्य होस् ।’

प्रकाशित : माघ १४, २०७९ १८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×