राजमार्गबाट ट्यांकर नै चोरी, २० हजार लिटर डिजेल निकालियो - मधेस - कान्तिपुर समाचार

राजमार्गबाट ट्यांकर नै चोरी, २० हजार लिटर डिजेल निकालियो 

अवधेशकुमार झा

राजविराज — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो । 

अलमेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका-९ स्थित पेट्रोल पम्पबाट चोरी भएको थियो । आइतबार बिहान पूर्व-पश्चिम राजमार्गभन्दा उत्तर शम्भूनाथ नगरपालिका-२ खैरबनामा जंगल जाने बाटोमा स्थानीय बासिन्दाहरुले बेवारिसे अवस्थामा ट्यांकर देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

रुपनगरस्थित पेट्रोल पम्पबाट ट्यांकर लगेर डिजेल निकाली बेवारिसे अवस्थामा छोडेर चोरी गर्नेहरु फरार भएको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको ट्यांकर अहिले प्रहरी नियन्त्रणमा छ । प्रहरीले ट्यांकरका चालक सप्तरीको रुपनगर नै घर भएका विनोदकुमार भुजेलसँग सोधपुछ गरिरहेको छ । ट्यांकर फेला परेपछि प्रहरीले ट्यांकरको नम्बरका माध्यमबाट ट्यांकर धनीलाई खबर गरी समेत बोलाएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी रामकुमार यादवले अनुसन्धान भइरहेको बताए । उनले बेवारिसे अवस्थामा रहेको ट्यांकर ल्याइएको, ट्यांकरको तेल निकाल्ने दुईवटा लक तोडिएको अवस्थामा फेला परेको सुनाए । ट्यांकरमा २० हजार लिटर डिजेल रहेको र चोरी गरी लग्नेले सबै निकालेका वा ट्यांकरभित्र डिजेल बाँकी रहेको बारे हेर्ने काम भइरहेको बताए ।

प्रकाशित : माघ १५, २०७९ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा सहकारी सञ्चालकद्वारा आत्महत्या

दीपक परियार

पोखरा — कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले जानकारी दिए । खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ । 

घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार जारी छ ।

खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको आजै बैठक बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ ।

मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ । खातीले धेरै ऋण रहेको र दुई/तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । उनका साथी अशोक राईका अनुसार खातीमाथि चर्को ऋण थियो । पछिल्लो समय उनी कार्यरत म्यानेजर डल्फिन बचत तथा ऋण सहकारी संस्था नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।

खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईले बताए । खातीका एक छोरी र छोरा छन् ।

प्रकाशित : माघ १५, २०७९ २२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×