कलैयाका वडाध्यक्ष साह रिहा, छोरा प्रहरीको नियन्त्रणमा- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलैयाका वडाध्यक्ष साह रिहा, छोरा प्रहरीको नियन्त्रणमा

लक्ष्मी साह

बारा — चोरीको चुरोट खरिद गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका–३ का वडाध्यक्ष मोहन साह कानुलाई शुक्रबार दिनभर नियन्त्रणमा लिएर बेलुका रिहा गरेको छ ।

वडाध्यक्ष साहले छोराको नाममा पसल रहेको बयान दिएपछि प्रहरीले उनका २७ वर्षीय छोरा अमनप्रसाद गुप्तालाई नियन्त्रणमा लिइ वडाध्यक्ष साहलाई हाजिरी जमानीमा रिहा गरेको हो ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चोरीमा संलग्न एक बालक पक्राउ परेपछि उनले दिएको बयानको आधारमा वडाध्यक्षलाई सोधपुछका लागि नियन्त्रणामा लिइएको थियो । तर वडाध्यक्ष साहले छोराको नाममा पसल दर्ता भएको पाइएपछि उनका छोरा गुप्तालाई नियन्त्रणमा लिएको हो । एक लाख मूल्य पर्ने २ कार्टुन चोरीको चुरोट खरिद गरेको प्रहरीको आरोप छ । वडाध्यक्ष साहको कलैयामा पसलको गोदाम छ । त्यही गोदाममा प्रहरीले छापा मार्दा चुरोट बरामद भएको हो । पक्राउ परेका नाबालकले बयान दिएपछि गोदाममा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित : माघ १४, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने लमजुङका युवक पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगेर हिँड्ने एक युवकलाई पक्राउ गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पोखराबाट पक्राउ गरिएको सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले बताए ।

सदरमुकाम बेसीसहरमा डेरा गरी विभिन्न व्यक्तिलाई विश्वास दिलाएर झुक्यानमा पारी 'जिल्ला प्रशाशन कार्यालय, हुलाक कार्यालय र कृषि कार्यालयमा जागिर लगाइदिन्छु' भन्ने र आफू ‘प्रहरी हुँ’ भनी प्रहरीमा भएका ‘केस’हरु समेत मिलाइदिन्छु भनी महिलाहरुबाट ७ लाख १७ हजार ५ सय रुपैयाँ लिएर भागेका उनलाई पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफू ठगिएको भन्दै ४ जना महिलाले उजुरी दिएपछि ती व्यक्तिको खोजी गरी पक्राउ गरिएको इन्सपेक्टर रेग्मीले बताए ।

डीएसपी प्रकाश श्रीमलले महिलाहरुबाट रकम लिएर एकाएक सम्पर्कविहीन भएका गुरुङलाई गत मंगलबार जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको प्रहरी टोलीले पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी बुधबार ल्याएका थिए । उनलाई बुधबारबाट लागू हुने गरी लमजुङ जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा दिन ५ को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुरुमा ल्याएर अदालतबाट म्याद थप गरिएको र त्यसपछिको प्रारम्भिक अनुसन्धानबाट उनले ठगी गरेको पुष्टि भएको प्रहरीले ती व्यक्ति पक्राउ गरेको जानकारी शुक्रबार मात्रै गराएको थियो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२१ अन्तर्गत यसरी ठगी गर्ने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १४, २०७९ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×