सप्तरीको सुरुङ्गा-७ मा विवाह गर्न वडाको स्वीकृति चाहिने- मधेस - कान्तिपुर समाचार

सप्तरीको सुरुङ्गा-७ मा विवाह गर्न वडाको स्वीकृति चाहिने

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा वडा कार्यालयको पूर्वस्वीकृति लिएर मात्र विवाह गर्न पाइने भएको छ । विवाहअघि जन्मदर्ता वडा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्न वडाले अनिवार्य गरेको छ ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने साथै २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने/गराउने कार्यमा संलग्न हुने जन्ती, पुरोहितसमेतलाई कारबाही हुने वडाध्यक्ष शिवनारायण चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सूचनामा विवाहको निमन्त्रणा पत्र छपाउँदा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने भनिएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका मधेस प्रदेशमै बाल विवाहमुक्त पहिलो पालिका हो । गत मंसिर १४ मा उक्त नगरपालिकालाई बाल विवाहमुक्त नगरपालिका घोषणा गरिएको थियो ।

प्रकाशित : माघ १३, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

अब कर्णालीमै मिर्गौला प्रत्यारोपण

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा शनिबारबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । अस्पतालले जनशक्ति, भौतिक संरचना र आवश्यक उपकरणको व्यवस्था गरेसँगै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको हो ।

अहिले काठमाडौं र पोखरामा मात्र रहेको मिर्गौला प्रत्यारोपण सेवा कर्णालीमा भएपछि बिरामीले सस्तो शुल्कमा गुणस्तरीय उपचार सेवा पाउने अस्पतालले जनाएको छ ।

शनिबार पहिलो पटक अस्पतालमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरी कर्णालीमा सेवा दिन लागिएको हो । जसका लागि भक्तपुरबाट डा. पुकार श्रेष्ठको नेतृत्वको विशेषज्ञ डाक्टरहरूको टोलीले बिरामीको मिर्गौला प्रत्यारोपण गर्नेछ । ‘सुविधा सम्पन्न अस्पतालमा पाउने सेवाहरूको झन्डै ९८ प्रतिशत सेवा सञ्चालनमै छ,’ उनले भने, ‘विगतमा मिर्गौला डायलसिस सेवा मात्र सञ्चालनमा थियो, अब प्रत्यारोपण पनि सुरु गर्न लागेका छौं ।’

सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने सरकारको नीतिबमोजिम कर्णाली प्रदेश अस्पतालमा पनि सुरु गर्न थालिएको अस्पताल निर्देशक डा. खड्काले बताए । उनले मिर्गौला प्रत्यारोपण सेवाका लागि क्याथ ल्याबका साथै एमआरआईको पनि मेसिन जडान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘छिट्टै अस्पताललाई ५ सय शय्यामा विस्तार गर्ने योजनामा छौं, अस्पतालले निकट भविष्यमै अस्पताल परिसरमै बाल अस्पताल सञ्चालन गर्न थालेको छ,’ उनले भने, ‘ती काम पूरा भएपछि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अप्पतालका रूपमा स्तरोन्नति गरिनेछ ।’

प्रदेश अस्पतालले चालु आर्थिक वर्षबाट आँखाको शल्यक्रिया सुरु गर्न थालेको छ । अर्थोडिक सर्जरी हप्तामा ६ दिन र जनरल सर्जरी हप्तामा ४ दिन सञ्चालन गर्नेसमेत अस्पतालको योजना छ । अहिले प्रदेश अस्पतालमा २ सय ९७ शय्यामा उपचार सेवा उपलब्ध छ । चालु आर्थिक वर्षको ६ महिनामा अस्पतालले ओपीडीमा ८४ हजार २ सय ८८ जनालाई सेवा प्रदान गरेको छ भने इन्डोरमा ११ हजार ८ सय ९१ र इमर्जेन्सीमा १० हजार ७ सय ८६ जनाको उपचार भएको छ । जसमा १ हजार ९ सय ४८ जनाको शल्यक्रिया गरिएको अस्पतालको तथ्यांक छ ।

प्रकाशित : माघ १३, २०७९ २१:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×