कलैयाका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा - मधेस - कान्तिपुर समाचार

कलैयाका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा 

लक्ष्मी साह

बारा — चोरीको चुरोट खरिद गरेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिका-३ का वडाध्यक्ष मोहन साह कानुलाई शुक्रबार सोधपुछको लागि नियन्त्रणामा लिएको छ ।

प्रहरी उपरीक्षक होविन्द्र बोगटीकाअनुसार चोरीमा संलग्न एक बालक पक्राउ परेपछि उनले दिएको बयानको आधारमा वडाध्यक्षलाई सोधपुछका लागि नियन्त्रणामा लिइएको हो ।

एक लाख मूल्य पर्ने दुई कार्टुन चोरीको चुरोट खरिद गरेको वडाध्यक्षमाथि आरोप छ ।

सोधपुछको क्रममा दोषी ठहर भएमा चोरी मुद्दा चलाइने प्रहरी उपरीक्षक बोगटीले बताए । वडाध्यक्ष साहको कलैयामा पसल गोदाम छ । त्यही गोदाममा प्रहरीले छापा मार्दा चुरोट बरामद भएको हो। पक्राउ परेको नाबालकले बयान दिएपछि गोदाममा छापा मारिएको प्रहरीले जनायो ।

प्रकाशित : माघ १३, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपी वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

लक्ष्मी साह

बारा — किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

आदेशानुसार प्रहरीले उनलाई वीरगन्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै उनीबाट स्वतः निलम्बनमा परेका छन् । ६ नम्बर इजलाशकी न्यायाधीश तारादेवी महर्जनकी आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति भराउने माग दाबी गर्दै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । बलात्कार आरोप लागेर अभियुक्त तीन महिनादेखि फरार रहेका थिए ।

प्रहरीको खोजी सूचीमा रहेका उनी तीन महिनापछि आफैं प्रहरीमा हाजिर भएपछि प्रहरीले नियन्त्रणमा लिएर मुद्दाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । गत असोज १९ मा छिमेकी एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेर फरार भएको आरोप लागेको थियो । पीडित किशोरीले गत असोज २५ मा इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् ।

उजुरी दिएपछि प्रहरीले किशोरीको असोज २५ मै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई खोजी गर्दै आएको थियो ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीका अनुसार आरापित श्रेष्ठ बाहिर आफैं असुरक्षित महसुस गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दाअन्तर्गत अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित : माघ ११, २०७९ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×