शैक्षिक सत्रभरि पुस्तककै रोइलो- मधेस - कान्तिपुर समाचार

शैक्षिक सत्रभरि पुस्तककै रोइलो

वार्षिक परीक्षा सकिन दुई महिना मात्र बाँकी छँदा पनि सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्
श्यामसुन्दर शशि

जनकपुर — शैक्षिक सत्र सुरु भएको १० महिना बित्दा पनि सामुदायिक विद्यालयमा पाठ्यपुस्तकको अभाव छँदै छ । कतिपय विद्यार्थी कबाडीबालासँग पुराना पुस्तक किनेर, साथीसँग आलोपालो गरेर अनि पाठ्यपुस्तकबिनै पढ्न र परीक्षाको तयारी गर्न बाध्य छन् । चैत दोस्रो सातादेखि अन्तिम परीक्षा हुँदै छ । तर, धनुषाका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तककै रोइलो छ ।

जनकपुर–४ स्थित संकटमोचन देवशरण रामरती उच्च माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सुरजकुमार शर्माले धेरैजसो विद्यार्थीसँग पाठ्यक्रमअनुसारको सबै किताब नरहेको बताए । ‘जेठमा नामांकन गराए । तर, भदौ–असोजमा मात्र सबै किताब पाए । अझै केही साथीसँग सबै किताब छैनन्,’ शर्माले भने । पाठ्यपुस्तक नहुँदा एसर्ईईको तयारी गर्न कठिनाइ भएको गुनासो सोही विद्यालयकी कक्षा–१० की छात्रा मिली गुप्ताको छ । ‘बुबाले किताब किनेर ल्याइदिन्छु भन्नुभयो तर बजारमा किताबै पाइएन । किताब नहुँदा होमवर्क गर्न पनि समस्या छ ।’

संकटमोचन देवशरण रामरती माविका प्रधानाध्यापक बलराम साहले गुणस्तरीय शिक्षाका पाठ्यपुस्तकको उपलब्धता अनिवार्य रहेको बताउँछन् । समयमा पाठ्यपुस्तक उपलब्ध नहुनु यस वर्षको समस्या मात्र होइन, सामुदायिक विद्यालयलाई सरकारले पाठ्यपुस्तक उपलब्ध गराउन थालेकै वर्षदेखिकै हो । तर, अन्य वर्ष शैक्षिक सत्र सुरु भएको दुई–तीन महिनाभित्र पाठ्यपुस्तक उपलब्ध भइसक्थ्यो । यस वर्ष भने वार्षिक परीक्षा सकिन दुई महिना मात्र बाँकी छँदा पनि सबै विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक उत्पादन तथा बिक्री वितरणको जिम्मा निजी क्षेत्रलाई पनि दिइएको छ । कक्षा ४ देखि १२ सम्मको पाठ्यपुस्तक भने जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गर्छ । निजी क्षेत्रले उपलब्ध गराउने पाठ्यपुस्तक समयमै उपलब्ध हुन्छ । तर, सरकारी निकायबाट उत्पादन तथा बिक्री वितरण हुने पाठ्यपुस्तकको सधैंभरि अभाव हुन्छ । जनक शिक्षा सामग्री केन्द्रको विक्रेता एवं नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जनकपुरका पूर्वअध्यक्ष नितेश साहले जनक शिक्षाले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको बताए ।

‘कक्षा ८ को सामाजिक, नेपाली, अंग्रेजी र स्वास्थ्य तथा कक्षा ६ को गणित असोज र कात्तिकमा मात्र आएको थियो । कक्षा ११ को अध्यापन भदौदेखि सुरु हुन्छ । तर पाठ्यपुस्तक भने पुसमा मात्र आइपुगेको छ,’ उनले भने । रुस–युक्रेन युद्धको कारण समयमा कागज उपलब्ध हुन नसकेकाले जनक शिक्षा सामग्री केन्द्रले समयमा पाठ्यपुस्तक प्रकाशन गर्न नसकेको बताइएको छ । नेपालको संविधान २०७४ ले माध्यमिक स्तरसम्मको शिक्षाको अधिकार स्थानीय पालिकालाई सुम्पेको छ । तर, केही पालिका पाठ्यपुस्तक शीर्षकको बजेट समयमा उपलब्ध गराउँदैनन् । बजेट उपलब्ध गराए पनि किस्ता–किस्तामा उपलब्ध गराउँछन् । पाठ्यपुस्तक खरिदमा ढिलाइ हुने यो पनि एउटा कारण भएको जनकपुर–१७ कटरैतस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्रीनारायण यादवको भनाइ छ ।

‘मेरै विद्यालयमा पहिलो किस्तामा प्राप्त बजेटबाट आधा विद्यार्थीलाई पुग्ने पुस्तक पनि खरिद गर्न सकिएन । खरिद बिल नबुझाएसम्म पालिकाले भुक्तानी दिँदैन । उता पुस्तक विक्रेता उधारो बिक्री गर्न मान्दैनन्,’ उनले भने । झन्डै ३३ वर्ष अध्यापन गरेकी जनकनन्दनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले शिक्षक हुँदा पनि र जनप्रतिनिधि हुँदा पनि एउटै अभिभावक पाठ्यपुस्तकको अभाव भयो भनेर गुनासो गर्न नआएको बताइन् ।

प्रकाशित : माघ १२, २०७९ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्

अभियुक्त र हत्या गरिएका युवाबीच पुरानै ‘सम्बन्ध’

श्यामसुन्दर शशि

जनकपुर — अपहरणपछि भारतको सीतामढीमा हत्या गरिएका जनकपुरका दुई युवकमध्ये एक जनाको पक्राउ परेका अभियुक्तसँग पुरानै ‘सम्बन्ध’ रहेको खुलेको छ । जिल्ला प्रहरी धनुषाले दुवै युवकको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ गरेका किसन पण्डित र मारिएका रोहित साह साथी रहेको खुलेको जनाएको छ । 

महोत्तरीको सिसवा नगरपालिका–२ इटहर्वाका २४ वर्षीय पण्डितलाई धनुषा प्रहरीले जनकपुर–८ बलवा टोलस्थित डेराबाट आइतबार पक्राउ गरेको थियो । पण्डित र साह साथी थिए । जिल्ला प्रहरी धनुषाका डीएसपी दीपक रायका अनुसार पण्डितले प्रयोग गर्ने मोबाइल ती दुवै युवक अपहरणमा परेकै बेलादेखि स्विचअफ थियो । ‘पछिल्लो समय यी दुवैबीच पटक–पटक फोन सम्पर्क भएको देखिन्छ,’ डीएसपी रायले कान्तिपुरसँग भने, ‘पण्डितले प्रयोग गर्ने मोबाइलको सिम अरूकै नाममा दर्ता छ ।’

संयोग कस्तो भने, पण्डितकै गाउँ इटहर्वाका २४ वर्षीय मुकेश पासवानलाई पनि धनुषा प्रहरीले दुई युवकको अपहरणपछि हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । पासवानलाई निजकै घरबाट पक्राउ गरिएको थियो । अपहरणमा परेका ११ दिनपछि जनकपुरका दुई युवकको सीमावर्ती भारतीय सहर सीतामढीमा हत्या भएको हो । उनको परिवार अपहरणकारीसित फिरौती रकममा बार्गेनिङ र जोरजाम गरिरहेकै अवस्थामा हत्या भएको थियो । धनुषा प्रहरीले शव नेपाल ल्याएको छ ।

जनकपुर उपमहानगर–८ का २२ वर्षीय रोहित साह र वडा १३ का २३ वर्षीय विष्णु साह पुस २७ मा भारतको परिहारमा आफन्तकहाँ पुगेका थिए । त्यही क्रममा अपहरणमा परे र उनीहरूको हत्या भएको थियो । उनीहरूको जनकपुरमा सोमबार अन्तिम संस्कार गरिएको छ ।

हत्या आरोपमा नेपालमा दुई तथा भारतमा चार जना पक्राउ परेका छन् । सीतामढीका अनुमण्डल पुलिस पदाधिकारी सुबोध कुमारका अनुसार सीतामढी जिल्ला बेला थानास्थित रजबाडाका सुनील सहनी, अजित भण्डारी तथा सुकी मुसहरनिया गाउँका इन्द्रजित बैठा र अजय बैठा पक्राउ परेका छन् । मुख्य अभियुक्त सुजित भण्डारी भने फरार छन् ।

पक्राउ परेकामध्ये केही आपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ । ‘आरोपीहरूले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा नेपाल र भारतका अन्य केही जनाको नाम पनि आएको छ,’ विहार प्रहरीका सुबोध कुमारले भने ।

दुवै युवकको अन्तिम संस्कारपछि आक्रोशित भीड जनकपुर–ढल्केवर सडकखण्ड अवरोध गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका थिए । आक्रोशितहरूले दोषीलाई अविलम्ब पक्राउ गरी कडा सजायको माग गरे । प्रहरी उपरीक्षक विश्वराज खड्काले आरोपीलाई अविलम्ब पक्राउ गर्ने प्रतिबद्धता जनाएका छन् । रोहित र विष्णु छिमेकी तथा मिल्ने साथी थिए । पुस २७ गते दुवै जना रोहितको मामा गाउँ परिहार जान घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाका बेला थानाअन्तर्गतकै गाउँ हो । पुस २७ गते घरबाट निस्केका छोरालाई खोज्न रामबाबु २८ गते सीमावर्ती गाउँ पुगेका थिए । रोहितको मामा गाउँ परिहार पनि पुगेका थिए । तर कहींकतै सुइँको पाएनन् । पुस २९ गते अपहरणकारीले सुरुमा विष्णुको फोन र पछि भारतीय नम्बरको मोबाइलबाट फिरौती माग्दा परिवारले अपहरणमा परेको थाहा पाएका थिए ।

प्रकाशित : माघ १०, २०७९ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×