महोत्तरीमा तीर्थालु चढेको ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते- मधेस - कान्तिपुर समाचार

महोत्तरीमा तीर्थालु चढेको ट्र्याक्टर पल्टिँदा १ को मृत्यु, २८ जना घाइते

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास-३ स्थित पाटु मोडमा अनियन्त्रित भएर ट्र्याक्टर पल्टिँदा १ को मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था जटिल रहेको छ ।

सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थालु बोकेर आएको प्रदेश २-०२-००१ त.२२६४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धनुषा औरहीकी ३५ वर्षीय अमेरिकादेवी मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए । उनका अनुसार ट्रयाक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही नगरपालिकाका हुन् ।

दुर्घटनामा कुमारी मण्डल, जुलेवी मण्डल, चन्द्रकुमारी मण्डल, रेम्नी देवी, नयनकुमारी मण्डल, पवनदेवी मण्डल, सिकिलिया मण्डल, सीताकुमारी मण्डल, सुकुमरिया देवी, देवु मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डललगायत घाइते भएका छन् ।

गम्भीर घाइतेलाई काठमाडौं रेफर गरिएको डीएसपी रावलले बताए । अन्य घाइतेलाई जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा राखिएको छ ।

प्रकाशित : माघ १२, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारी राजाजस्तै : पूर्वप्रधानन्यायाधीश कार्की

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजाजस्तै भएको टिप्पणी गरेकी छन् ।नेपाल कानुन समाज लगायतका संस्थाले संयुक्त रुपमा गरेको 'आमनिर्वाचन-२०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बिहीबार बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि पोखिन् ।

उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् ।

उनले राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु पनि राजाजस्तै भएको टिप्पणी गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रा व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले आस व्यक्त गरिन् ।

‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट आउनुपर्ने, सर्टकटमा आउनुपर्ने धेरै घुमेर आउनपर्‍यो आज । राजाले ठीक गरेनन् भनेर आउने मान्छेहरु राजाजस्तो भए,’उनको भनाइ थियो ।

गत निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।

प्रकाशित : माघ १२, २०७९ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×