दिलीप हत्या मुद्दा : बुधबार पनि भएन फैसला - मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिलीप हत्या मुद्दा : बुधबार पनि भएन फैसला 

सन्तोष सिंह

धनुषा — धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप महतो हत्या मुद्दामा बुधबार पनि फैसला हुन सकेन । धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले घटनास्थलमा पुगेर प्रतिवेदन तयार गर्ने तत्कालीन प्रहरी निरीक्षक रामकुमार यादवसहित तीन जना प्रहरीलाई अदालतमा हाजिर हुन आदेश दिएको छ । 

यसअघि गत मंसिर २९ गते हत्यामा प्रयोग भएको टिपर धनीलाई बुझ्ने आदेश दिइएको थियो । गएको पुस २८ गते अदालतमा उनको बकपत्र भएको थियो । मुद्दामा हालसम्म २० वटा पेसी चढिसकेको छ । तर, मुद्दा किनारा लागेको छैन । विगत ३ वर्षमा २० पटक पेसी चढेको छ ।

२०७६ माघ २२ मा दर्ता भएको यो मुद्दा अहिले पनि साक्षी बुझ्ने चरणमै छ । घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए । अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहााबाट जीवितै फर्किएनन ।

दिलीपको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो, उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

कामदारहरू सत्यनारायण र शत्रुधन तथा विनोदका साथी रोशनकुमारलाई जिल्ला र उच्च अदालतले २५ हजार धरौटीमा छाडेका छन । उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि थुनामा छन । दिलीपलाई लिभरले हत्या गरी ना ७ ख ६४१३ नं. टिपरको पछाडि चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको थियो ।


प्रकाशित : माघ ११, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

मधेसका २ माओवादी सांसदले लिए शपथ

सन्तोष सिंह

धनुषा — सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण शपथ रोकिएका माओवादी केन्द्रका २ जना प्रदेश सांसदले शपथ लिएका छन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले माओवादी केन्द्रका प्रदेश सांसद महोतरीका रजी हैदर र सप्तरीका मला कर्णलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

अदालतले दुवै जनालाई शपथ गराउन पत्र पठाएपछि दुवै जनालाई पद तथा गोपनीयताको शपथ गराएको प्रदेशसभाका सभामुख मण्डलले बताए ।

दुवै जनालाई प्रदेश सांसदलाई सर्वोच्चले सांसदको कामकारबाहीमा रोक लगाएको थियो । माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएपछि सर्वोच्चले तत्काल शपथ नगराउन प्रदेश सभा संसद् सचिवालयलाई पत्र पठाउदा दुवै सांसदको शपथ रोकिएको थियो ।

मधेस प्रदेशमा माओवादीबाट ४ जना समानुपातिकमा निर्वाचित भएका थिए । निर्वाचित हुनेमा धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट मोहम्मद रजी हैदर निर्वाचित भएका हुन् । सुनिता र माला मधेसी समूह, शारदा दलित र रजी मुस्लिम समूहबाट निर्वाचित भएका हुन् ।

समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रकाशित : माघ ११, २०७९ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×