कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

घटेन यमगजको उद्दण्डता

जंगली हात्ती यमगज उद्दण्डताबाट छुटकारा पाउन ढोईहरूलाई रामभौरीभाठाबाट प्रतापपुर पुर्‍याइए पनि यमगज ३७ किमि टाढा प्रतापपुरसम्मै पुगेको छ
शंकर आचार्य

पर्सा — पर्सा राष्ट्रिय निकुञ्जको हात्तिसारका ८ ढोईलाई फेरि अर्को स्थानमा स्थानान्तरण गरिएको छ । लामो समयदेखि उद्दण्डता मच्चाउँदै आएको जंगली हात्ती यमगजले निकुञ्जका ८ वटा पोथी हात्तीको पछि लाग्न नछाडेपछि साताअघि निकुञ्जको रामभौरीभाठाबाट ती हात्तीलाई मकवानपुरको प्रतापपुर पोस्टमा स्थानान्तरण गरिएको छ ।

घटेन यमगजको उद्दण्डता

यमगजको उद्दण्डताबाट आजीत भएर निकुञ्ज प्रशासनले मंसिरको पहिलो साता ती ८ वटै हात्तीलाई अमलेखगञ्जस्थित हात्तीसारबाट स्थानान्तरण गरी त्यहाँबाट २५ किमि पश्चिममा रहेको निकुञ्जको कोर एरिया मानिने पर्साको रामभौरीभाठामा लगेर राखेको थियो ।

तर, त्यहाँ झन्डै २ महिना राख्दा पनि यमगज ती ढोईकै वरिपरि बस्ने, चराउन नदिने र उनीहरूको रासन पनि खोसेर खाने गरेकाले निकुञ्ज प्रशासनले ढोईहरूलाई प्रतापपुर पोस्टमा स्थानान्तरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जानकारी दिए । ‘करिब २ महिना हात्तीसारका ढोईलाई हामीले रामभौरीभाठामा राख्यौं तर यमगजले त्यहाँ पनि पुगेर ढोईहरूलाई सताइरह्यो, उनीहरूलाई चर्न र रासन खान पनि अवरोध पुर्‍याइरह्यो,’ रामले भने, ‘उपाय नलागेर रामभौरीभाठाबाट करिब ३७ किमी पश्चिम प्रतापपुर पोस्टमा लगेर हात्तीसारका ८ ढोईलाई राखेका छौं ।’ प्रतापपुरमा निकुञ्जको आफ्नै पोस्ट र नेपाली सेनाको पनि पोस्ट रहेको उनले बताए ।

तर उन्मत्त यमगज हात्तीसारका ढोईहरूको पछि–पछि लागेर प्रतापपुर पोस्टसम्म पनि पुगेको डा. रामले बताए । ‘प्रतापपुरसम्म पुगेर यमगजले त्यहाँ पनि ढोईहरूलाई सताउन छाडेन,’ उनले भने, ‘त्यहाँ ३/४ दिन बसेर पर्साको ठोरी क्षेत्रतर्फ लागेको यमगज बुधबारदेखि फेरि रामभौरीभाठा क्षेत्र आसपासमा देखापरेको छ ।’

रामभौरीभाठामा बसन्तपञ्चमी मेला लागेको र बिहीबार मेलाको मुख्य दिन हजारौं सर्वसाधारण मेला भर्न आउने हुँदा त्यहाँ अत्यन्त जोखिम रहेको पनि डा. राम बताउँछन् । ‘परम्परागत मेला भनेर ठूलो संख्यामा श्रद्धालुहरू मेला भर्न आउँदै छन्, यमगज पनि मेलास्थल वरपर नै बसेको छ,’ उनले भने, ‘सर्वसाधारणको ज्यानधनको जोखिम रहेकाले मेला समितिका पदाधिकारीलाई सकभर मेलामा भिडभाड कम गर्न र आगन्तुकहरूलाई सतर्क रहन भनी सूचना जारी गर्न पनि सुझाव दिएका छौं ।’


भाठामा निकुञ्जको अमलेखगञ्ज हात्तीसारका घरपालुवा ढोईहरू । फाइल तस्बिर सौजन्य : पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय

कात्तिक ३ गते यमगजले अमलेखगञ्जमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा चराउने क्रममा एक महिलाको ज्यान लिएको थियो । त्यसपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको प्राविधिक टोलीले आएर कात्तिक ४ गते डार्ट गरी यमगजको दुवै दाह्रा काटेको थियो । उद्दण्डता कम हुने आशामा यमगजको दारा काटिए पनि उसको उद्दण्डतामा कमी आएन ।

असोजदेखि कात्तिकको पहिलो सातासम्म अमलेखगञ्ज हात्तीसार वरिपरि नै बसेर यमगज रातको समयमा हात्तीसारमा प्रवेश गरेर सबै ढोईसँग संसर्ग गर्ने र त्यहाँ रहेको मत्ता नारायणगजसँग जुध्ने गर्थ्यो । दिउँसो हात्तीसार पछाडि बस्ने र दिउँसो ३/४ बजेपछि नजिकको मानव बस्तीहरूमा पसेर खाद्यान्न चोर्ने गर्थ्यो ।

यीमध्ये एउटा पोथी भीमाकली साढे ५ वर्षकी छन् । अन्यमा वयस्कदेखि ६० वर्ष सम्मका ढोई छन् । करीब १४ वर्षको यमगजले एक महिनादेखि भीमाकली बाहेक सबै ढोईसँग संसर्ग गरिरहेको थियो । भीमाकलीलाई ज्यादती गर्न सक्ने सम्भावना देखेर हात्तीसारका कर्मचारीले भीमाकलीलाई जोगाउने प्रयास गरिरहेका छन् ।

सुरुमा यमगजलाई खेद्ने र दाह्रा काट्ने काम पनि गरेर उसलाई भगाउने र शान्त गर्ने प्रयास गरिए पनि यमगजको उद्दण्डता नघटेको स्थानीय बताउँछन् ।

४/५ दिनअघि प्रतापपुर पोस्ट वरपर अर्को मत्ता हात्तीसँग यमगज दुईपटक जुधेको र सोही मत्ताले यमगजलाई खेदेपछि यमगज हाल ठोरी हुँदै रामभौरी भाठा क्षेत्रमा आएर बसेको हुन सक्ने डा. राम बताउँछन् ।

प्रकाशित : माघ ११, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?