बारामा ३ सय ३२ फरार अभियुक्त पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा ३ सय ३२ फरार अभियुक्त पक्राउ

लक्ष्मी साह

बारा — प्रहरीले बाराका विभिन्न स्थानबाट अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएका ३ सय ३२ जना फरार आरोपितहरूलाई एकै दिन पक्राउ गरी अदालतमा बुझाएको छ ।

उनीहरुलाई सोमबार बिहानैदेखि बेलुकासम्म योजनाबद्ध ढंगले पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका त्यस्ता फरार प्रतिवादीहरुमध्येका कोहीलाई प्रहरीले देखेर पनि नदेखे झैं बेवास्ता गर्दै आएकाले यसअघि उनीहरु पक्राउ पर्न सकेका थिएनन् ।

केही भने प्रहरीलाई छलेर लुकीछिपी बस्दै आएका थिए । विभिन्न अपराध र कसुरमा दोषी ठहर भएर पनि जरिवाना तथा सजायबाट उम्केर बस्नेहरुको अदालत र प्रहरीमा लामै सूची छ ।

‘फैसला कार्यान्वयनमा ल्याई राज्यको विधि र कानुनको सम्मान गर्ने उदेश्यले फरारहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत पक्राउ गरिएको छ,’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने, ‘लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानुनी कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।’

उनका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका बारा कलैया उपमहानगरपालिका १ का विजय दासदेखि बैकिङ कसुर मुद्दामा ७ लाखसम्म जरिवानामा परेका पचरौता नगरपालिका २ का एजाजुल हक अन्सारी, हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय परेका निजगढ नगरपालिका १ बस्ने बासु चौधरी लगयात छन् । पक्राउ परेकामध्ये ३६ जनालाई पर्साको वीरगन्ज कारागार चलान गरिएको छ भने बाँकी जरिवाना भुक्तान गरी मुक्त भएका छन् । प्रहरीका अनुसार अधिकांश हत्या, सवारी ज्यान, हातहतियार तथा लागूऔषध ओसारपसार, किर्ते, चोरी डकैती, लेनदेनलगायत मुद्दाका दोषीहरु पक्राउ परेका हुन् ।

प्रकाशित : माघ १०, २०७९ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

बाराको गण्डक नहरमा मोटरसाइकल दुर्घटना‚ २ जनाको मृत्यु

लक्ष्मी साह

बारा — बाराको महागढीमाई नगरपालिका ९ पूर्वी गण्डक नहरको सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । माघे संक्रान्तिको अवसरमा महागढीमाईस्थित रमनाकमना माई मेला हेरेर सिम्रौनगढ नगरपालिका १ बैरियातर्फ जाँदै गरेको ना २६ प २२९५ नम्बरको मोटरसाइकलमा फर्किँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकलमा ३ जना सवार थिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाइक अनियन्त्रित भएर नहरसँगैको थलही खोलामा खस्दा दुर्घटनामा परी युवकद्वय कासिम अंसारी र ताही अंसारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । सोही स्थानका मोटरसाइलमा सवार अर्का युवक गुड्डु अन्सारी घाइते भएका छन् ।

मृतकद्वयको शव खोलामा बगिरहेको अवस्थामा प्रहरी फेला पारेको हो । दुर्घटनापछि घाइते गुड्डुले मृतकको आफन्तलाई दुर्घटनाबारे जानकारी गराएका थिए । दुर्घटनामा परेको मोटरसाइकललाई प्रहरीले खोलाबाट उठाएको छ । मृतकको शव कलैया अस्पतालमा परीक्षण गराएर परिवारको जिम्मा लगाइने र घाइतेको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

गण्डक नहर सडक कालोपत्रे हुँदासमेत पुल भने बनिसकेको छैन, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । केही महिनाअघि पनि सोही गण्डक नहरको सडकमा पर्ने जमुनी पुलमा मोटरसाइकल खस्दा सिम्रौनगढ नगरपालिका ९ का १ जनाको मृत्यु भएको र अर्का १ जना घाइते भएका थिए । सडक बन्दासमेत पुल नबनाउनुले दुर्घटना निम्तिएको स्थानीय बताउँछन् ।

प्रकाशित : माघ २, २०७९ १३:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×